डालस, जुलाई २७ ।
५ जना नेपालीहरुको साझेदारीमा आज यहाँ रेंजर्स होलसेलको औपचारिक शुरुवात गरिएको छ। बिगत ६ महिना देखि संचालनमा आए पनि पूर्ण रुपमा आज देखि संचालन आइसकेको थियो। करिब ५० लाख डलरको लागत रहेको भनिएको रेंजर्स होलसेल डालस नजिकै रहेको आर्लिङ्ग्टन सहरमा अबस्थित छ।
नेपालीहरुको विदेशिने क्रम करिब तिन दशक अघिदेखि सुरु भएको हो । अहिले संसारभर नेपालीहरु छ्यापछ्याप्ती भेट्न सकिन्छ । लाहुरे हुन भारत जाने र पछि दोश्रो युद्धमा अंग्रेज सेनामा भर्ति हुने क्रम भए पनि नेपालीहरु अन्य देशमा पुग्न सकेका थिएनन । अमेरिकामा भने सन् २००० पछि मात्र नेपालीहरुको संख्या बाक्लिन लागेको हो डाइभर्सिटि भिसा मार्फत । पछिल्ला केहि बर्षहरुमा पढाइको लागि आउने क्रम पनि व्हात्तै बढेको छ । पहिले पहिले न्यु योर्क, क्यालिफोर्निया र मेरिल्याण्ड जस्ता राज्यहरु रोजाइमा परे पनि अहिले भने टेक्सासको डालस नेपालीहरुको मुख्य केन्द्र बन्न पुगेको छ ।
रेंजर्स होलसेलमा अहिले २० जनाले रोजगारी पाएका छन् र अधिकांश नेपालीहरु नै छन्। प्रमुख कार्यकारी ब्यबस्थापक कपिल अधिकारीका अनुसार काममा नेपालीहरुलाई प्राथमिकता दिने कम्पनीको नीति रहेको छ। “यो नेपालीहरुको गर्बको बिषय हो कि नेपालीहरुले पनि अमेरिकामा यो स्तरको लगानीमा ब्यबसाय गर्न शुरु गरेका छन्” अधिकारीले जोड दिएर भन्नुहुन्छ। डालस वरपर करिव एकहजारको संख्यामा ग्याँस स्टेसन वा स्टोरहरु छन् तर अहिले सम्म एउटा पनि होलसेल थिएन। अब भने नेपालीहरुले आफ्नै जस्तो मानेर होलसेलमा आफ्ना स्टोरहरुको लागि समान किन्न सक्नु हुनेछ ।
नेपालीहरुको लागि गर्वको बिषय कसरी भयो त भन्ने प्रश्नमा ब्यबस्थापक अधिकारीले यस अघि सानातिना कामहरु गर्ने नेपालीहरु अहिले होलसेल स्तरको ब्यबसाय गर्नु, आर्लिण्टन सिटिको च्याबर्स अफ कमर्सले नेपालीहरुको ब्यबसाय भनेर मान्यता दिनु पक्कै पनि नेपालीहरुको लागि गौरब कै बिषय हो। अपरेसनल ब्यबस्थापक भुवन आचार्य पनि रेंजर्स होलसेलले नेपाली समुदायको गौरब गर्न लायक ब्यबसाय बन्ने दावी गर्नु हुन्छ। यो नेपालीहरुको प्रेरणा समेत बन्न सक्ने, नेपालीहरुको आर्थिक उन्नति संगै त्यसले नेपालमा अप्रत्यक्ष र सकारात्मक असर पर्ने आचार्यको भनाइ छ।तपाईं भर्खर ब्यबसाय शुरु गर्नु भएको छ, स्थापित ठुला होलसेलसंग कसरी प्रतिष्पर्धा गर्नु हुन्छ भन्ने प्रश्नमा प्रमुख ब्यबस्थापक अधिकारीले “हामी डालस वरपरका सबै होलसेलसंग हामी मुल्य, गुणस्तर र सामानहरुको उपलब्धतामा सजिलै प्रतिष्पर्धा गर्न सक्छौं, मुल्य म्याच पनि गर्छौं” ।
रेंजर्स होलसेलको स्थापना संगै नेपाली स्टोर धनिहरु अन्य समुदायको होलसेलमा धाउनु पर्ने बाध्यता टरेको छ । प्रतिष्पर्धात्मक मूल्य, गुणस्तरीय बस्तुको बिक्रि अनि राम्रो ग्राहक सेवा दिन सक्यो भने रेंजर्स होलसेल छोटो समयमै प्रयाप्त ग्राहक आकर्षण गर्न सफल हुने देखिन्छ। नेपाली लगायत सबै ब्यबसायीहरुको छनोटमा पर्न केहि मिहिनेत गर्न आबस्यक भए पनि यसमा सक्रिय व्यक्तित्वहरु हेर्दा भने सफलता टाढा देखिन्न। हाल रेंजर्स होलसेलमा कपिल अधिकारी र भुवन आचार्य लगायत बासु भण्डारी, नरेश पाण्डे र उमेश प्रधान साझेदार हुनुहुन्छ।
Source : USandNepal