लस एन्जलस – नेपाली जनसम्पर्क समिति, अमेरिकाको केन्द्रीय समितिको मिति डिसेम्बर ३, २०२५ मा सम्पन्न बैठकले समितिअन्तर्गतका सबै च्याप्टरहरूको अधिवेशन डिसेम्बर २०, २०२५ भित्र सम्पन्न गर्ने निर्णय गरेको थियो। सोही निर्णयअनुसार डिसेम्बर १५, २०२५ सम्म सदस्यता वितरण कार्य पूरा गरी डिसेम्बर २०, २०२५ का दिन अमेरिकाभरका सबै च्याप्टरहरूको अधिवेशन सफलतापूर्वक सम्पन्न भइसकेको छ।
च्याप्टर अधिवेशनसँगै सबै च्याप्टरहरूमा सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन भइसकेको जानकारी समितिले दिएको छ। च्याप्टर अधिवेशनबाट चयन भएर आएका केन्द्रीय प्रतिनिधिहरूको सहभागितामा केन्द्रीय अधिवेशन सम्पन्न गर्ने प्रक्रिया पनि अगाडि बढाइएको थियो।
यसैक्रममा, मिति डिसेम्बर ३, २०२५ कै केन्द्रीय समिति बैठकले केन्द्रीय अधिवेशन डिसेम्बर २७, २०२५ मा सम्पन्न गर्ने निर्णय गरे तापनि आन्तरिक तयारी, क्रियाशील सदस्यहरूको विवरण अद्यावधिक, अधिवेशन स्थलको टुंगो र व्यवस्थापन, अमेरिकामा पर्ने प्रमुख चाडपर्व तथा केही प्राविधिक कारणहरूले गर्दा पूर्वघोषित मितिमा केन्द्रीय अधिवेशन सम्पन्न गर्न सम्भव नभएको समितिले जनाएको छ।
यस परिस्थितिलाई मध्यनजर गर्दै, हिजो बुधबार सम्पन्न केन्द्रीय पदाधिकारीहरूको बैठकले डिसेम्बर २७, २०२५ का लागि तय गरिएको केन्द्रीय अधिवेशन हालका लागि स्थगित गर्ने निर्णय गरेको छ। समितिले आम सदस्यहरूलाई यसलाई प्राविधिक बाध्यताका रूपमा बुझिदिन आग्रह गर्दै सहयोग र समझदारीप्रति विश्वास व्यक्त गरेको छ।
समितिले पार्टीको विधानअनुसार पार्टीको समन्वय विभाग तथा केन्द्रीय नेतृत्वसँग आवश्यक परामर्श र समन्वय गरी चाँडोभन्दा चाँडो नेपाली जनसम्पर्क समिति, अमेरिकाको केन्द्रीय महाधिवेशनको नयाँ मिति सार्वजनिक गर्ने प्रतिबद्धता समेत जनाएको छ।
नेजस अमेरिकाका महामन्त्री मुनेंद्र नेम्वाङ्गंले आज वक्तब्य जारी गर्दै यी कुराहरु सार्वाजानिक गरेका छन ।