लस एन्जलस, क्यालिफोर्निया।
श्री पशुपतिनाथ तथा बुद्ध मन्दिर, लस एन्जलसमा सञ्चालन भइरहेको श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ मा भक्तजनहरूको उत्साहजनक सहभागिता निरन्तर बढ्दै गएको छ। महायज्ञको तेस्रो दिनसम्ममा भक्तजन तथा दानदाताहरूबाट करिब १ लाख २३ हजार अमेरिकी डलर सहयोग रकम संकलन भएको जानकारी प्राप्त भएको छ।
प्रसिद्ध श्रीमद्भागवत कथावाचिका श्री राधिका दासी ज्यू को मुखारविन्दबाट प्रवचन भइरहेको यस महायज्ञमा दक्षिण क्यालिफोर्निया लगायत अमेरिकाका विभिन्न राज्यबाट आएका श्रद्धालुहरूको उल्लेखनीय उपस्थिति रहेको छ। कथा, भजन, कीर्तन तथा आध्यात्मिक प्रवचनले मन्दिर परिसरलाई भक्तिमय बनाएको छ।
आयोजक श्री पशुपतिनाथ फाउन्डेशन, यूएसए का अनुसार भक्तजनहरूको उदार सहयोग र सहभागिताले महायज्ञलाई ऐतिहासिक बनाएको छ। संकलित रकम मन्दिरको धार्मिक, सांस्कृतिक तथा सामुदायिक गतिविधिको विस्तार र भावी योजनाहरूमा उपयोग गरिने बताइएको छ।
महायज्ञमा दैनिक रूपमा भक्तजनहरूको भीड बढ्दै गएको छ भने स्वयंसेवकहरू पनि व्यवस्थापनमा सक्रिय रूपमा खटिएका छन्। समुदायको एकता, आस्था र समर्पणको प्रतीक बनेको यस महायज्ञले प्रवासी नेपाली समाजमा सकारात्मक ऊर्जा थपेको सहभागीहरूको भनाइ छ।
लस एन्जलसस्थित नेपाली समुदायले धार्मिक तथा सांस्कृतिक पहिचान जोगाउन देखाएको एकता र सहयोग प्रेरणादायी बनेको छ। एकै दिनमा करिब १ लाख २३ हजार डलर संकलन हुनु समुदायको विश्वास, आस्था र समर्पणको सशक्त उदाहरण हो।