लस एन्जलस । श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ अन्तर्गत नेपाली कम्युनिटी सेन्टर (NCC) निर्माण अभियानका लागि भक्तजनहरूको अपार माया, विश्वास र उदार सहयोग निरन्तर प्राप्त भइरहेको छ। महायज्ञको पाँचौँ दिन मात्रै NCC संकल्प तथा दानबाट १ लाख ४२ हजार ८ सय ७८ अमेरिकी डलर ($142,878) संकलन भएको आयोजकले जनाएको छ।
महायज्ञको सुरुवातदेखि नै भक्तजनहरूको उल्लेखनीय सहभागिता र सहयोगले NCC निर्माण अभियानलाई नयाँ ऊर्जा प्रदान गरेको छ। पाँच दिनको अवधिमा संकलित दान तथा संकल्प रकमले नेपाली समुदायको एकता, धार्मिक आस्था र सामुदायिक विकासप्रतिको प्रतिबद्धता स्पष्ट रूपमा देखाएको आयोजकहरूको भनाइ छ।
आयोजक समितिका अनुसार अब महायज्ञ समापन हुन केवल दुई दिन मात्र बाँकी रहेको छ। यस अवसरमा सम्पूर्ण भक्तजन, समुदाय सदस्य तथा शुभेच्छुकहरूलाई कार्यक्रममा सहभागी भई आध्यात्मिक लाभ लिनुका साथै आफ्नो क्षमता अनुसार सहयोग गरी नेपाली समुदायको साझा सपना नेपाली कम्युनिटी सेन्टर (NCC) निर्माण अभियानलाई सफल बनाउन हार्दिक अनुरोध गरिएको छ।
महायज्ञमा प्राप्त हुने प्रत्येक सहयोग, संकल्प र योगदानले NCC निर्माणको लक्ष्यलाई अझ नजिक पुर्याइरहेको आयोजकले जनाएको छ। “भक्तजनहरूको साथ, विश्वास र सद्भावले मात्र यो ऐतिहासिक अभियान सफल हुनेछ,” आयोजकको भनाइ छ।
धार्मिक वातावरण, भागवत कथा, भजन-कीर्तन तथा समुदायको उत्साहजनक सहभागिताले महायज्ञलाई थप भव्य र सफल बनाइरहेको छ। आगामी दुई दिनमा अझ बढी भक्तजनको सहभागिता र सहयोग जुट्ने विश्वास आयोजकहरूले व्यक्त गरेका छन्।
“NCC निर्माण केवल एउटा भवन निर्माणको अभियान होइन, यो भावी पुस्ताका लागि नेपाली पहिचान, संस्कृति र समुदायलाई एकताबद्ध बनाउने साझा अभियान हो।”
फोटो : कन्है्या श्रेष्ठ