२०८१ साउन १२ गते | 27th of July 2024

एनआरएन अमेरिका निर्वाचन : सचिव पदका उम्मेद्वार होम गौतम

खुल्लामन्च
 प्रकाशित: २०७४ साउन १६ गते २३:२९

 न्यूयोर्क, अमेरिका । अमेरिकाको नेपाली डायस्पोरामा एनआरएनको सबैभन्दा बढी सदस्य भएर पनि उल्लेखनीय योगदान दिन पछि परिरहेको संस्थालाई नवीन सोचसहित योगदान दिन सक्छु भन्ने प्रतिबद्धताका साथ होम गौतमले सचिव पदमा उम्मेद्वारी दिनु भएको छ । संस्थाको स्थापनाकालदेखि नै सक्रिय गौतमले सन् २००४ देखि २०१३ सम्म रसियामा रहदा एनआरएन रसियाको अडिट डिपार्टमेन्टको प्रमुख तथा निर्वाचन समितिको सचिव पदमा रही कार्य गर्नुभएको तथा एनआरएन आइसीसीको छैठौं क्षेत्रीय सम्मेलनमा सवारी व्यवस्थापनको भूमिका सफलतापूर्वक सम्पन्न गर्नुभएको थियो ।

सन् २०१३ मा अमेरिकामा बस्न थालेपछि एनआरएनका विविध गतिविधिमा संलग्न हुदै अमेरिकामा सम्पन्न ९ औं क्षेत्रीय सम्मेलन सफल पार्न भूमिका निर्वाह गर्नुका साथै हाल एनआरएन आइसीसी नीति तथा कार्यक्रम उपसमितिको सदस्यका रुपमा सक्रिय हुनुहुन्छ । एक पटकको नेपाली सधैंको नेपाली भन्ने मूल नारा सहित विदेशमा नेपालीहरुले सिकेको सीप, ज्ञान, कला र आर्जित पूँजी मातृभूमिमा लैजाने एक कर्मठ सिपाहीको भूमिका निर्वाह गर्न तथा मातृभूमिमा आइपर्ने समस्याहरुमा मलमपट्टी लगाउन कोशिस गर्ने लगायतका उद्देश्य पूर्तिका लागि उम्मेदवारी दिने घोषणा गरेको सचिवका उम्मेदवार गौतम बताउनुहुन्छ ।

पूर्वी नेपालको झापामा जन्मनुभएका होम गौतमले विद्यालयको अध्ययनकै सिलसिलामा २०४६ सालको जनआन्दोलनमा सक्रिय सहभागिता जनाई आफ्नो राजनैतिक यात्रा तय गर्नुभएको थियो । मेची क्याम्पस भद्रपुरबाट प्रविणता प्रमाणपत्र तह र महेन्द्रक्याम्पस धरानबाट व्यवस्थापन संकायमार्फत स्नातक पूरा गरी भारतको इस्टिच्यूट अफ चार्टर्ड एकान्टेन्टबाट सिए बन्न सफल हुनुभएको थियो । त्यसपछि थप अध्ययनको सिलसिलामा रसिया लाग्नुभएको हो । विद्यालयको समयदेखि नै लोकतान्त्रिक गतिविधिमा निरन्तर लागी पर्नुका अतिरिक्त विविध सामाजिक कार्यमा सक्रिय गौतम नेपाल रेडक्रसको आजीवन सदस्य हुदै समाजसेवामा होमिनुभएको हो ।

राजनीति र समाजसेवालाई एकैसाथ अगाडि बढाएर नेपाल र नेपालीको समुत्थानमा योगदान गर्न सकिन्छ भन्ने सोचका श्री गौतमले आसन्न एनआरएन एनसिसि अमेरिकाको सचिव पदमा निर्वाचित भएमा नेपाल र अमेरिकाका नेपालीबीच सम्बन्धसेतूको रुपमा काम गर्ने विचार रहेको बताउनुहुन्छ । संस्थालाई स्वतन्त्र, निश्पक्ष, पारदर्शी तथा सहयोगी बनाउदै सबैको समुन्नत्ति र हितमा अग्रसर गराउनेतर्फ मन, वचन र कर्मले लाग्ने प्रतिबद्धतासमेत उहाँले व्यक्त गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *