२०८१ साउन ११ गते | 26th of July 2024

प्रवीणको ‘इन्काउन्टर’ कि ‘आत्महत्या’? मृतकका बाबु भन्छन्- अत्याचार भयो

खुल्लामन्च
 प्रकाशित: २०७४ साउन २४ गते २:२१

काठमाडौं २४ साउन । प्रहरी ‘इन्काउन्टर’मा ललितपुरका २६ वर्षीय प्रवीण खत्रीको मृत्यु भएको छ। उनी लागुऔषध कारोबारमा संलग्न रहेको प्रहरीले जनाएको छ। आफूलाई पक्राउ गर्न आएको प्रहरीलाई पेस्तोल तेर्स्याउँदै उनी भाग्ने प्रयासमा थिए। पक्राउ पर्ने डरले खत्री आफैँले कन्चटमा गोली हानेर आत्महत्या गरेको प्रहरीको दाबी छ। परिवारका सदस्यले प्रहरीले गोली हानेर मारेको बताएका छन्। खत्री लागुऔषध कारोबारी भएको र उनले स्थानीयलाई पेस्तोल देखाएर धम्क्याउने गरेको सूचनाका आधारमा महानगरीय अपराध महाशाखाको टोली उनलाई पक्राउ गर्न गएको थियो। आफूलाई पक्राउ गर्न प्रहरी आएको देखेपछि उनले माथिल्लो तलाबाट घरपछाडिको चौरमा हाम फालेका थिए। दुई हातमा दुईवटा पेस्तोल लिएर प्रहरीलाई नै ताक्दै भागेका थिए। प्रहरीले उनलाई गोली हान्दै लखेटेको थियो। पेस्तोल छाड्न भन्दा नमानेपछि प्रहरीले उनलाई गोली हानेको परिवारका आफन्तले बताएका छन्। उनको दायाँ कन्चटमा गोली लागेको छ।

घरमा सिसिटिभी  

खत्री कुसन्तीस्थित आफ्नै घरमा ढोका लगाएर बसिरहेका थिए। महाशाखाका डिएसपी अजय केसी नेतृत्वको टोली दिउँसो करिब २ बजे उनलाई पक्राउ गर्न पुगेको थियो। ढोकामा प्रहरी आएको उनले सिसिटिभीबाट देखे। हालै मात्र प्रहरी हिरासतबाट छुटेका उनले पक्राउ पर्ने डरले धेरै समयसम्म ढोका खोलेनन्। पछि, दुई हातमा दुईवटा पेस्तोल प्रहरीलाई तेस्र्याउँदै घरको पछाडि हाम फालेका थिए। प्रहरीले आफूलाई गोली हान्ने ठानेर उनी आफैँले गोली हानेको प्रहरीको दाबी छ। गोलीबाट ढलेपछि खत्रीलाई पाटन अस्पताल पुर्‍याइएको थियो। अस्पताल पुर्याउँदासम्म उनको बाटैमा मृत्यु भइसकेको थियो। मृतकका आफन्तले घटनाको छानबिन गरी दोषी प्रहरीलाई कारबाही गर्न माग गरेका छन्।  गोलीले उनको कन्चट छेडेको छ। उनले दुई गोली फायर गरेकोमा एक मिसफायर भएको प्रहरीले दाबी गरेको छ।

प्रहरीको दुईथरी भनाइ ‘शंकास्पद’

प्रहरीले सुरुमा ‘इन्काउन्टर’मै खत्रीको मृत्यु भएको बताएको थियो। तर, पछि विवाद आउने देखेपछि खत्री आफैँले गोली हानेको प्रहरीको दाबी छ। एउटै घटनामा दुईथरी भनाइ आएपछि प्रहरीको भूमिकामाथि प्रश्न उठेको हो। चर्चा कमाउन जथाभावी गोली हान्ने प्रवृत्तिको उपज सोमबारको घटना भएको एक उच्च प्रहरी अधिकारी बताउँछन्। गोलीको खोका उनी ढलेकै ठाउँमा भेटिएको प्रहरीले जनाएको छ।

प्रहरीले अत्याचार गर्‍यो : मृतकका बाबु

मृतकका बाबु प्रवीणबाबु खत्रीले प्रहरीकै गोलीबाट छोराको मृत्यु भएको बताए। ‘यो प्रहरीको अत्याचार हो,’ उनले भने, ‘अपराध गरेको भए, पक्राउ गरेर कारबाही गर्ने हो, मार्न पाइँदैन।’ घटनापछि स्थानीयवासी प्रहरीसँग आक्रोशित भएका थिए। घटनास्थलमा सशस्त्र प्रहरीसमेत खटाइयो। ‘फायर त हामीले पनि खोलेका थियौँ, तर हाम्रो गोली उसलाई लागेको होइन, ऊ आफैँले हानेको भन्ने छ,’ महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दिनेश अमात्यले भने, ‘कसको गोली लागेको हो, त्यो त विधि विज्ञान प्रयोगशालाबाट प्रस्ट भइहाल्छ।’

राजधानीमा प्रहरीको इन्काउन्टर शृंखला

पछिल्ला वर्ष काठमाडौं उपत्यकामा प्रहरीले गोली चलाउनु सामान्यजस्तै हुन थालेको छ। चोरदेखि गुन्डानाइकेसम्मलाई प्रहरीले गोली हानेको छ। ३ भदौ ०७१ मा गुन्डानाइके कुमार घैँटे ९कुमार श्रेष्ठ० प्रहरी मुठभेडमा मारिएका थिए। कपुरधारास्थित आफ्नै घरअगाडि अपराध महाशाखाका प्रहरीले उनीमाथि गोली हानेका थिए। २१ साउन ०७० मा राजधानीका अर्का गुन्डानाइके दिनेश अधिकारी ‘चरी’ प्रहरीको गोलीबाट मारिएका थिए। अपराध महाशाखाकै टोलीले भीमढुंगामा उनीमाथि गोली हानेको थियो। तराईका जिल्लामा अपराधीहरू पटक–पटक प्रहरी मुठभेडमा मारिने गरेका छन्।

राजधानीमा भने ‘इन्काउन्टर’मा हालसम्म तीनजना मारिएका छन्। प्रहरीले गोली हानी घाइते बनाएर धेरैलाई पक्राउ गरेको छ। १३ मंसिर ०७१ मा सुन्धाराको लुम्बिनी पाहुना घरबाट गोली हानी प्रहरीले फरार अभियुक्त छोटेलाल ठाकुरलाई पक्राउ गरेको थियो। ९ असार ०७२ मा प्रहरीले बबरमहलमा गोली हानी गुन्डागर्दीमा लागेका जसवन्त सिंहलाई पक्राउ गर्‍यो। गत वर्ष १९ असारमा सुन्धाराको बेबिलोन डिस्कोमा गोली हानी प्रहरीले फरार कैदी रावणजित लामालाई पक्राउ गरेको थियो। गत २१ फागुनमा पनि स्वयम्भूमा अपहरणकारीलाई गोली हानी प्रहरीले पक्राउ गरेको थियो।

नुवाकोटका तीन युवकलाई अपहरण गरी फिरौती माग्ने दुर्गा तामाङलाई प्रहरीले गोली हानी पक्राउ गरेको थियो। त्यस्तै, गत वर्ष २३ पुसमा गोंगबुमा चोरीका अभियुक्त अमृत बयलकोटीलाई गोली हानी घाइते बनाएर पक्राउ गरेको थियो। कतिपय अवस्थामा प्रहरीले आवश्यकताले नै गोली हान्ने गरेको छ भने केही अवस्थामा सनकका भरमा गोली चलाउने गरेको छ। खुल्लामञ्च डटकमका लागि हामीले यो समाचार आजको नयाँ पत्रिकाबाट लिएका हौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *