२०८१ माघ २ गते | 15th of January 2025

देशभर अस्पतालको बहिरङ्ग सेवा बन्द

खुल्लामन्च
 प्रकाशित: २०७४ साउन २७ गते ५:५८

 

काठमाडौँ, २७ साउन । सरकारी चिकित्सक सङ्घ (गोदान) ले आज देशभरका सरकारी अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द गरेको छ ।

त्रिवि शिक्षण अस्पतालमा चिकित्सा शिक्षा विधेयक पारित गर्नुपर्नेलगायतको माग राख्दै १९ दिनदेखि आमरण अनशनमा बस्नुभएका डा गोविन्द केसीको माग सम्बोधनका लागि दबाब दिँदै सङ्घले आज आकस्मिक बाहेकका सेवा बन्द गरेको हो ।

बिहीबार आकस्मिक बैठक बसेर आजदेखि सम्पूर्ण अस्पतालमा आकस्मिक बाहेकका सेवामा संलग्न नहुने निर्णय गरेको हो । सङ्घले यसअघि चरणबद्ध आन्दोलन गर्दै आएको छ ।

सङ्घका अध्यक्ष डा दीपेन्द्र पाण्डेले अस्पतालमा हुने बिरामी र भर्ना भएर बसेका बिरामीको उपचारका लागि अस्पताल परिसरमा आवश्यक पूर्वाधार जुटाएर ओपिडी सेवा उपलब्ध गराउने विज्ञप्तिमार्फत जनाए ।

सङ्घले अस्पताल परिसरमा बहिरङ्ग सेवा बाहिर बसेर सेतो कागजमा लेखी बिरामी हेर्न चिकित्सकलाई अनुरोध गरेको छ । राज्यले विगतमा औपचारिकताका लागि छिटफुट वार्ता गरेपनि डा केसीका माग पूरा गर्न उदासीनता देखाएको सङ्घले आरोप लगाएको छ ।

सङ्घको निर्णयबाट उत्पन्न हुने असहजताको सम्पूर्ण जिम्मेवारी नेपाल सरकारको हुने सङ्घले विज्ञप्तिमा उल्लेख गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *