२०८१ साउन १२ गते | 27th of July 2024

१२ वर्षकी बालिकाको बलात्कार पछि हत्या गरी शव बाकसमा फेला

खुल्लामन्च
 प्रकाशित: २०७४ साउन ३१ गते १७:०७

 

काठमाडौं ३१ साउन । जनकपुरमा १२ बर्षकी बालिका बलात्कार पछि हत्या गरिएको अवस्थामा परिवारले शव फेला परेकी छन । जनकपुर उपमहानगरपालिका मुसहर वस्तीका कृष्णदेव साहकी १२ वर्षकी छोरी विविका कुमारी साहको बलात्कारपछि हत्या भएको हो ।
उनको घरमा भाडामा बस्दै आएका धनुषा बेलाका ४० वर्षका रामचन्द्र महतो नुनियाले बलात्कार गरी हत्या गरेको बालिकाका परिवारको आरोप छ ।
आरोपित रामचन्द्र गएको तीन वर्षदेखि श्रीमती पवितादेवीसँगै भाडामा बस्दै आएका छन् । घटना लगत्तै श्रीमान श्रीमती दुवै जनालाई प्रहरीले पक्राउ गरेको छ । बालिकाको शवलाई प्रहरीले पोष्टमार्टमको लागि जनकपुर अञ्चल अस्पतालमा लगेको छ ।

घरमा विविकाकी आमा विमला देवी साह र ९ वर्षकी बहिनी पुष्पा र दुई वर्षका एक भाइ छन् । दिउँसो ४ बजे विविकाकी आमा कान्छो भाइलाई लिएर भाडामा बस्ने रामचन्द्रकी श्रीमती पवितासँगै किनमेल गर्न बजार गएकी थिइन ।
बहिनी पुष्पालाई भाडामा बस्ने रामचन्द्रले केही किन्नको लागि पसल पठाएका थिए । त्यही समय रामचन्द्रले बालिका विविकालाई एक्लै देखेको घरको मुलढोका बन्द गरेर बलात्कार गरी हत्या गरेको बहिनी पुष्पाले बताएकी छिन् । बहिनी पुष्पाका अनुसार आफू पसलबाट फर्के लगत्तै घरको मुल ढोकामा आउँदा दिदीलाई चिच्याएको र घाँटी थिचेको आवाज निस्केको थियो ।
‘ढोका ढकढकाएँ खोल्न भनि चिच्याएँ तर ढोका खोलेन । घाँटी थिचेको आवाज बन्द भयो’ उनले भनिन् । त्यसपछि पुष्पा जोडजोडले चिच्याउँदा छिमेकी जम्मा भए । त्यतिबेलासम्म आमा विमला पनि आइपुग्नुभयो । रामचन्द्रले ढोका खोले । सबैले विविकालाई घरमा खोजे तर उ कतै थिइनन् । सबैले खोज्दै जाँदा भाडामा बस्ने रामचन्द्रको ओछ्यान छेउमा रहेको जस्ताको बाकसमा सबैको ध्यान गयो । त्यो खोल्न थालेपछि रामचन्द्रले खोल्न दिएनन् । जवरजस्ती खोलेपछि त्यसमा सिरकमा बेरेर विविकाको शव लुकाएको भेटियो ।
लगत्तै स्थानीय बासिन्दाले प्रहरी बोलाए । रामचन्द्र र उनकी श्रीमती पवितालाई प्रहरीले पक्राउ गरेको छिमेकी यमुना खातुनले बताउनुभयो । छोरीको बालात्कार पश्चात हत्या भएपछि आमा विमला अचेत हुनु भएको छ ।
प्रहरीले रामचन्द्रले बलात्कार पश्चात घाँटी थिचेर हत्या गरेको हुनसक्ने आशंका गरेको छ । घटनाको अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *