काठमाडौं ७ भदौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेता बनाइदिन माग गर्दै हेडक्वाटर धाउने परम्परा अन्त्य हुनुपर्ने आफ्नै क्षमता र योग्यताको बलमा नेता बन्न विद्यार्थीहरुलाई सुझाव दिएका छन्।
काठमाडौंमा जारी अखिल क्रान्तिकारीको २१ औं महाधिवेशनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रचन्डले सभ्य र स्वस्थ्य ढंगबाट प्रतिस्पर्धा गर्न विद्यार्थीहरुलाई आग्रह गरे। ुपार्टीले सहमति बनाइदिओस् भनेर तपाईहरु नआउनुहोला। आफैं सहमति गर्नुहुन्छ भने ठिक छ। सहमति गर्न सक्नुहुन्न प्रतिस्पर्धाको तयारी गर्नुस्। तर तपाइहरु बीचको प्रतिस्पर्धा एउटा सीमाभित्र रहनुपर्छ,ु प्रचण्डले भने ।
एउटा मुल्य र मान्यतामा अडिग रहेर तथा आफ्नो उदेश्यप्रति समर्पित भएर रगतको भेलमा पौडी खेलेर आएकाहरुको संगठन हो, अखिल क्रान्तिकारी। एमाले र कांग्रेस जस्तो एउटाले अर्कोलाई नांगेझार पार्ने र एउटाले अर्कोलाई खुइल्याउने गरी प्रतिस्पर्धा नगर्नुहोला। सभ्य र नैतिकतामा रहेर चुनाव गर्नुहोला।
माओवादी केन्द्रका २५ जनवर्गीय संगठन र ८ सहायक संगठनमध्ये अहिलेसम्म कुनै पनि संगठनमा चुनाव भएको छैन। त्यसैले विद्यार्थी संगठनमार्फत माओवादीमा नेतृत्व छान्ने अभ्यासको थालनी गर्नका लागि प्रचण्डले अनुमति दिएका छन्।
सहमतिका आधारमा नेतृत्व छान्ने वा चुनावमा आधारमा भन्ने निर्क्यौल महाधिवेशनले नै गर्नेछ।