चण्डीगढ १४ भदौ । बलात्कारी बाबा राम रहीमले जेलमा गएपछि पनि एक युवतीलाई आफूसँगै राख्न खोजेका छन । ती बाबासंग एक युवतीसंगै जेल बस्न समेत तयार भएको समाचार यतिबेला भारतीय सञ्चार माध्यममा छाएको छ । ती युवती पनि बाबासँगै बस्न राजी भएपनि प्रशासनले ती युवतीलाई बाबासँग बस्न अनुमति दिएन ।
ती युवतीलाई बाबाले आफ्नी छोरी भन्ने गर्छन् । तर उनी बाबाकी साख्खै छोरी भने होइनन् । उनलाई बाबाले धर्मपुत्री बनाएको बताइन्छ । ती युवती हनीप्रितले पनि आफ्ना वकिलमार्फत बाबासँगै बस्न चाहेको बताएकी थिइन् । सोसल मिडियामा आफूलाई बाबाकी छोरी भएको बताउने हनीप्रितको वास्तविक नाम प्रियंका तनेजा हो ।
प्रहरी अधिकारीले युवतीलाई सँगै बस्न अनुमति नदिएपछि बाबाले अधिकारीकै जागिर खाइदिने धम्की दिए । ती युवतीले आफू एक्युप्रेशर एक्सपर्ट भएको र बाबाको कम्मरमा पीडा भएकोले आफू उपचारको लागिसँगै जान लागेको अदालतलाई बताएकी थिइन् । तर अदालतले यो विषय जेल प्रशासनले तय गर्ने भन्दै उनको निवेदन अस्वीकार गरेको थियो ।