२०८१ साउन १२ गते | 27th of July 2024

सरकारको मुख्य प्राथमिकता आर्थिक समृद्धिः प्रधानमन्त्री देउवा

खुल्लामन्च
 प्रकाशित: २०७४ भदौ १८ गते १६:१६

काठमाडौँ, १८ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको आर्थिक समृद्धि सरकारको मुख्य प्राथमिकता भएको बताएका छन ।

नेपाल–भारत दौंत्य सम्बन्ध स्थापना भएको ७० औँ वर्ष पुगेको उपलक्ष्यमा काठमाडौँमा आयोजित पश्चिम बंगाल पर्यटन तथा व्यापार मेलाको आज उद्घाटन गर्दै उनले मुलुकमा रहेका प्राकृतिक स्रोत साधनलाई समुचित उपयोग गरी आर्थिक समृद्धि प्राप्त गर्न सकिने बताए ।

मुलुकमा राजनीतिक स्थिरता कायम भई लगानीको वातावरण बनेको र वैदेशिक लगानी भित्र्ने क्रममा रहेको भन्दै प्रधानमन्त्री देउवाले प्रचूर सम्भावना रहेको ऊर्जा, पर्यटनजस्ता क्षेत्रमा लगानीको अवसर रहेको उल्लेख गरे । उनले देशमा यतिखेर संविधान पूर्ण कार्यान्वयनको प्रक्रियामा रहेको र लगानीको वातावरण बनेको बताए ।

प्रधानमन्त्री देउवाले हालै सम्पन्न आफ्नो भारत भ्रमणका क्रममा त्यहाँका प्रधानमन्त्रीसहित सरोकारवालासँग भएको छलफलले व्यापार प्रवद्र्धन र लगानी भित्र्याउन मद्धत पुग्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष भवानी राणाले मुलुकमा राजनीतिक स्थायित्व भई संविधान कार्यान्वयनको चरणमा रहेकाले आर्थिक लगानीको वातावरण बनेको उल्लेख गरे ।

उनले नेपाल र भारतका उद्यमी व्यवसायी एक ठाउँमा भेला भएर आपसी आर्थिक तथा व्यावसायिक सम्बन्ध विस्तारका साथै पश्चिम बंगालका व्यवसायीलाई यहाँ आएर लगानी गर्न सक्ने वातावरण निर्माण गर्न मेलाले महत्वपूर्ण भूमिका खेल्ने बताए ।

नेपालका लागि भारतीय राजदूतावासका कार्यवाहक राजदूत डा अजय कुमारले नेपाल–भारत दौत्य सम्बन्धको ७०औँ वर्ष पुगेको अवसरमा दुवै देशको आर्थिक, सामाजिक, धार्मिक, पर्यटकीय, सांस्कृतिक सम्बन्धलाई मजबुत बनाउन मेला उपयोगी हुने बताए ।

नेपाल पर्यटन बोर्ड, नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपालस्थित भारतीय राजदूतावास र पश्चिम बंगाल उद्योग वाणिज्य सङ्घको संयुक्त आयोजनामा सोल्टी होटलमा आयोजित मेला आगामी २० गतेसम्म सञ्चालन हुनेछ । मेलामा प्रख्यात बंगाली खानाका परिकार तथा सांस्कृतिक प्रस्तुति रहने आयोजकले जनाएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *