काठमाडौं १९ भदौ । दसैंका लागि उपत्यकामा करिब ६६ करोड रुपैयाँ बराबरका खसीबोकारच्यांग्रा भित्रिने भएका छन्। खाद्य संस्थान र चौपाया व्यवसायी संघ कलंकीले उक्त मूल्य बराबरको खसीबोका र च्यांग्रा भित्र्याउने तयारी गरेका हुन्। संस्थानका प्रवक्ता शंकर सापकोटाका अनुसार खसीबोका र च्यांग्रा खरिदका लागि ३ करोड ३१ लाख रुपैयाँ छुट्याइएको छ।
उक्त रकमबाट २५ सय खसीबोका र च्यांग्रा ९ सय १५ सय खसीबोका र १ हजार च्यांग्रा खरिद गरिनेछ। व्यवसायीले खसीबोका र च्यांग्रा गरी करिब ४५ हजार हाराहारीमा ल्याउने तयारी गरेका छन्। मागको आधारमा संख्या थप बढ्न सक्ने संघका अध्यक्ष दीपक थापाले बताए। उनका अनुसार एउटा खसीबोकाको औसत मूल्य १४ हजार रुपैयाँ पर्छ। जसअनुसार करिब ६३ करोड रुपैयाँको आयात गर्ने तयारी भएको उनले बताए। दसैंमा खसीबोकाको माग उच्च हुने भएको सोहीअनुसार ल्याउन लागेको संस्थान र संघले जनाएका छन्। ‘सरकारले कम परिमाणमा भित्र्याए पनि मुख्य उद्देश्य बजार हस्तक्षेप गर्नु हो,’ संस्थानका प्रवक्ता सापकोटाले भने। उनका अनुसार खसीबोका खरिद प्रक्रिया अघि बढाउन जिल्ला कार्यालयमा पत्राचार गरिसकिएको छ।
केही साताअघि तराई क्षेत्रमा भएको बाढी र स्थानीय तहको निर्वाचनका कारण भने समस्या हुने उनीहरूको बुझाइ छ। चुनाव र बाढीका कारण यस वर्ष मकवानपुर र तुलसीपुरबाट मात्रै खरिद गर्ने योजना बनाएको सापकोटाले बताए। ‘चुनावका कारण दुई क्षेत्रबाट मात्रै खसीबोका खरिद गर्न सक्ने अवस्था छ,’ उनले भने। यस्तै मुस्ताङबाट कम्तीमा एक हजार च्यांग्रा खरिद गर्ने संस्थानको तयारी छ। गत वर्ष भने १ हजार ५ सय च्यांग्रा खरिद गरिएको थियो। संस्थानका अनुसार सरकारले बिक्री गर्ने खसीबोका व्यवसायीको भन्दा सस्तो हुन्छ।
व्यवसायीले निर्धारण गरेको मूल्यमा कम्तीमा प्रतिकिलो १० रुपैयाँ सस्तोमा बिक्री गर्ने योजना बनाएको छ। सोही योजनाअनुसार सरकारले प्रतिकिलो १० रुपैयाँ छुट दिने घोषणा गरिसकेको छ। ‘संस्थानले बिक्रीमा राखेका खसीबोका र च्यांग्रामा प्रतिकिलो १० रुपैयाँ छुट दिन्छौं,’ प्रवक्ता सापकोटाले भने। खसीबोका खरिद गर्न प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा खरिद कमिटी गठन हुनेछ। स्थानीय प्रशासनले बजार मूल्य निर्धारण गर्छ। त्यसपश्चात् काठमाडांैमा ल्याउन ढुवानी भाडा र बजार मूल्यअनुसार सञ्चालक समितिले बिक्री मूल्य निर्धारण गर्छ। ती खसीबोका थापथलीस्थित संस्थानको कार्यालयबाट घटस्थापनादेखि बिक्री गरिने सापकोटाले बताए।
संस्थानबाट अन्य खाद्यान्न पनि सहुलियत दरमा बिक्री गरिने सापकोटाले बताए। सरकारले सस्तो मूल्यमा बिक्री गरे पनि सहुलियत पसलबाट बिक्री भने न्यून मात्रामा हुन्छ। जानकारहरूका अनुसार संस्थानले थापाथली गोदामबाट मात्रै बिक्री गर्दा समस्या भएको हो। ‘बिक्रीस्थल नै अपायक स्थानमा छ। कलंकी, महाराजगन्ज, चाबहिललगायत ठाउँबाट खरिद गर्न आउँदा ट्याक्सी खर्च बढी लाग्छ,’ संस्थानका एक अधिकारीले भने, ‘बिक्री कक्ष अपायक स्थानमा हुँदा सर्वसाधारणले सरकारी खसीबोका रुचाउँदैनन्।’ खुद्रा व्यवसायीहरूले चोक–चोकमा राखेर बिक्री गर्ने हुँदा सर्वसाधारणले आफ्नो पायक पर्ने ठाउँबाट खरिद गर्दै आएका छन्।
व्यवसायीहरूले स्वदेशी उत्पादनसँगै भारतबाट पनि खसीबोका आयात गर्छन्। संघका अध्यक्ष थापाका अनुसार दसैंका लागि करिब ९० प्रतिशत खसीबोका भारतबाट आयात हुन्छन्। भारतबाट चौपाया व्यवसायी संघले आयात गर्दै आएको छ। भारतको लखनउ, महाराष्ट्र, कर्नाटकलगायत १० स्थानबाट आयात गरिन्छ। मुलुकभित्र सल्यान, कोहलपुर, कटारी, सुर्खेत, नुवाकोट, सिन्धुपाल्चोकबाट पनि खरिद हुन्छ। ‘स्वदेशी उत्पादनले माग धान्न मुस्किल पर्छ। तराई क्षेत्रको बाढीले थप समस्या भएको छ। अघिल्लो वर्ष भारतबाट ८० प्रतिशत आयात थियो,’ उनले भने, ‘यस वर्ष ९० प्रतिशत पुग्ने अनुमान गरेका छौं।’ बाढीका कारण खसीबोकाको अभाव भएकाले गत वर्षको तुलनामा मूल्य बढ्न सक्ने उनले बताए। ‘गत वर्षको दसैंमा प्रतिकिलो ४ सय ४० देखि ४ सय ५० रुपैयाँमा बिक्री भएको थियो।
हाल प्रतिकेजी ४ सय ८० देखि ९० रुपैयाँमा बिक्री भएको छ,’ उनले भने, ‘दसैंतिर थप बढ्न सक्छ।’ उनका अनुसार भारतबाट आयात हुने संख्या क्रमिक रूपमा बढदै गएको छ। संघले च्यांग्रा पनि आयात गर्ने तयारी गरेको छ। च्यांग्रा मागको आधारमा मुस्ताङ र चीनबाट ल्याइने जनाएको छ। व्यवसायीका अनुसार जिल्लाबाट ल्याउँदा ट्राफिकले दुख दिने गरेको आजको कान्तिपुरमा खबर छ । थोरै परिमाणमा भित्र्याउँदा ढुवानी, भटेनेरी डाक्टरको सिफारिस लगायतका कारण देखाउँदै दुस्ख दिने गरेका छन्। तर, भारतबाट आयात गर्दा भन्सार चेकजाँचबाहेक कुनै समस्या हुँदैन। जसले गर्दा व्यवसायीहरू स्वदेशीभन्दा भारतीय खसीबोकातर्फ आकर्षित भएको जनाइएको छ।