२०८१ साउन ११ गते | 26th of July 2024

प्रदेश न २ को स्थानीय तहको निर्वाचनका लागि १८,२०० को उम्मेदवारी दर्ता

खुल्लामन्च
 प्रकाशित: २०७४ भदौ २१ गते १५:०९

 

काठमाडौं , २१ भदौ । तेस्रो चरणको स्थानीय तह निर्वाचनअन्तर्गत प्रदेश नं २ का १३६ स्थानीय तहमा आगामी असोज २ गते हुने निर्वाचनका लागि मनोनयन दर्ता कार्य आज उत्साहजनक र शान्तिपूर्णरुपमा भएको छ ।

मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा पुगेर महिला, दलितलगायत उम्मेदवारले उत्साहपूर्वक मनोनयन दर्ता गराएको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले बताए ।

साँझ ६ः३० बजेम्म तेस्रो चरणमा निर्वाचन हुने स्थानीय तहका विभिन्न पदमा १८ हजार २०० को उम्मेदवारी परेको विवरण आयोगमा प्राप्त भएको प्रवक्ता ढकालले जानकारी दिनुभयो । मनोनयन दर्ताको विवरण आउने क्रम जारी नै रहेकाले यकिन संख्या आउन बाँकी छ ।

बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारी दर्ताका लागि समय निर्धारण गरिए पनि उम्मेदवारको अत्यधिक सहभागिताका कारण अपराह्न ४ बजेसम्म सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गराउनेको बाक्लो उपस्थित रहेको निर्वाचन आयोगले जनाएको छ ।

कतिपय मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा साँझ अबेरसम्म पनि उम्मेदवारी दर्ता गर्नेहरुको लाम रहेको आयोगको संयुक्त निर्वाचन सञ्चालन केन्द्र (जेइओसी) बाट जानकारी प्राप्त भएको थियो ।

मुख्य निर्वाचन अधिकृत÷निर्वाचन अधिकृतको कार्यालयमा निर्धारित समय ५ बजेभित्र प्रवेश गरिसकेका उम्मेदवारको उम्मेदवारी दर्ता कार्य साँझ अबेरसम्म पनि सञ्चालन हुने आयोगले जानकारी दिएको छ ।

यकिन विवरण आइनसकेकाले पहिलो र दोस्रो चरणको स्थानीय तह निर्वाचनमा जस्तै यो निर्वाचनमा पनि व्यापक उम्मेदवारी परेको प्रारम्भिक अनुमान गरिएको छ । तेस्रो चरणको स्थानीय तह निर्वाचन एक महानगरपालिका, तीन उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिकामा हुँदैछ । यो निर्वाचनबाट छ हजार ६२७ प्रतिनिधिहरु निर्वाचित हुनेछन् ।

निर्वाचन कार्यक्रमअनुसार उम्मेदवारको अन्तिम नामावली प्रकाशनपछि उम्मेदवारलाई यही भदौ २४ गते निर्वाचन चिह्न प्रदान गरिनेछ ।

मुलुकका सात प्रदेशका ७७ जिल्लाका ७५३ मध्ये पहिलो चरणमा गत वैशाख ३१ गते २८३ तथा दोस्रो चरणमा ३३४ स्थानीय तहको निर्वाचन भइसकेको छ । स्थानीय सरकार गठनका लागि भइरहेको स्थानीय तहको निर्वाचन पूरा भएपछि संविधान कार्यान्वयनको एउटा खुड्किलो पार हुन्छ ।

सिरहा जिल्लाका स्थानीय तहहरूमा उत्साहजनक रुपमा विभिन्न दलका र स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गराएका छन् ।

कतिपय उम्मेदवार बाजागाजा र समर्थकको नाचगानसहित मनोनयन दर्ता गर्न निर्वाचन कार्यालय पुगेका थिए । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार विभिन्न राजनीतिक दलका साथै स्वतन्त्रबाट समेत उम्मेदवारी परेको छ ।

मुख्य निर्वाचन अधिकृत अमृतबहादुर बस्नेतका अनुसार सिरहा नगरपालिकासहित जिल्लाका आठ नगरपालिका र नौ गाउँपालिकामा शान्तिपूर्णरुपमा उम्मेदवारी मनोनयन दत्र्ता सम्पन्न भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *