२०८१ साउन ११ गते | 26th of July 2024

अढाइ वर्षपछि सिंहदरबार पुनर्निर्माण, पुरानै इँटा र सुर्की प्रयोग गरिने

खुल्लामन्च
 प्रकाशित: २०७४ असोज १ गते २:०५

काठमाडौं १ असोज / भूकम्पमा क्षतिग्रस्त मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको ुरेट्रोफिटिङु (प्रबलीकरण) प्रक्रिया अघि बढेको छ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार तीन चरणमा सिंहदरबारको प्रबलीकरण सम्पन्न हुनेछ। पहिलो चरणमा भूकम्पबाट क्षति पुगेको भवनको सूक्ष्म अध्ययन हुनेछ । अध्ययन प्रभावकारी बनाउन प्राधिकरणले सिंहदरबारवरिपरि खट बाँध्ने काम सुरु गरिसकेको छ। अबको एक साताभित्र प्राधिकरणले अध्ययन टोली परिचालन गर्नेछ सूक्ष्म अध्ययनका लागि डेढ महिनाको समय छुट्याइएको छ ।
अध्ययनपछि सिंहदरबारको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार हुनेछ। प्रबलीकरणको यो दोस्रो चरण हो। यसका लागि साढे दुई महिनाको समय निर्धारण गरिएको छ।
सूक्ष्म अध्ययन र डीपीआर तयार गर्न मात्रै दुई करोड रुपैयाँ खर्च हुने प्राधिकरणले जनाएको छ। यसका लागि थप नौ महिना लाग्नेछ। सिंहदरबार प्रबलीकरणको सम्पूर्ण काम १३ महिनाभित्र सकिनेछ। प्राधिकरणका सहसचिव राजुमान मानन्धरले सिंहदरबारको प्रबलीकरणको काम अब नरोकिने बताए।
‘सिंहदरबार प्रबलीकरणको काम तीन चरणमा सम्पन्न हुन्छ । अबको १३ महिनाभित्र पुरानै शैलीमा बलियो र सुन्दर बन्नेछ,’ उनले भने। पुरानै इँटा र सुर्की प्रयोग हुने प्राधिकरणका अनुसार सिंहदरबार प्रबलीकरणमा पुरानै इँटा प्रयोग गरिनेछ। इँटा जोड्न सिमेण्टको ठाउँमा सुर्कीको प्रयोग गरिनेछ।
सिंहदरबारको बाहिरी आवरण पुरानै शैलीको हुनेछ। पर्खालको केही भागमा भने फलामको रड प्रयोग गरिने मानन्धरले बताए। तर, रड नदेखिने गरी विशेष प्रविधि अपनाएर जडान गरिनेछ। सिंहदरबारको भित्री सजावट पुरानै राजसी शैलीमा तयार गरिनेछ। दरबारको वाल र कोठामा विशेष खालको रंगरोगन गरिने आजको नयाँ पत्रिकामा खबर छ।
‘सिंहदरबार प्रबलीकरण गर्दा इँटा र सुर्की पुरानै प्रयोग हुनेछन्। साजसज्जा पनि पुरानै शैलीमा हुनेछ। यी सबै कामका लागि लाग्ने खर्च अहिले भन्न सकिने अवस्था छैन। डीपीआर तयार भएपछि मात्रै थाहा हुन्छ,’ उनले भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *