२०८१ भदौ २४ गते | 9th of September 2024

दुगडका सञ्चालकविरुद्ध २३ करोडको ठगी मुद्दा, श्रीमती र छोरीछोरीविरुद्ध पनि मुद्दा

खुल्लामन्च
 प्रकाशित: २०७४ असोज ३ गते १:२३

काठमाडौं ३ असोज । म्याद गुज्रिएको कच्चा पदार्थबाट फ्रुटी उत्पादन गरी बिक्री गरेको आरोपमा दुगड फुड एन्ड बेभरेज कम्पनीका सञ्चालक तथा कर्मचारीविरुद्ध प्रहरीले २३ करोड रुपैयाँ बिगो दाबीसहित मुद्दा अघि बढाएको छ । कम्पनीका ११ जनाविरुद्ध २३ करोड ठगी तथा कालोबजारी गरेको मुद्दामा प्रहरीले आइतबार जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा अनुसन्धान प्रतिवेदन बुझाएको छ ।

कम्पनीबाट २३ करोड रुपैयाँ बराबरको म्याद गुज्रिएको फ्रुटी तथा कच्चा पदार्थ बरामद भएकाले सोहीअनुसारको बिगो बनाई रायसहित सरकारी वकिल कार्यालयमा बुझाइएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी रामदत्त जोशीले बताए । कम्पनीका मुख्य सञ्चालक मालचन दुगडसहितलाई ठगी र कालोबजारी ऐनअनुसार मुद्दा चलाउन प्रहरीले रायसहित अनुसन्धान प्रतिवेदन बुझाएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंको नेतृत्वमा १२ भदौमा कम्पनीको सतंगुलस्थित कार्यालयमा ठूलो परिणाममा म्याद गुज्रिएका कच्चा पदार्थबाट बनाइएको फ्रुटी बरामद गरेको थियो । मानव स्वास्थ्यमा गम्भीर असर पुग्ने गरी कम्पनीले कुहिएका आ“पको गुदीबाट फ्रुटी बनाउँदै आएको भेटिएको आजको नयाँ पत्रिकामा खबर छ ।

श्रीमती र छोरीछोरीविरुद्ध पनि मुद्दा
प्रहरीले कम्पनीका सञ्चालक मालचनकी श्रीमती सुरेन्द्रा, छोरा विवेक र छोरी श्रद्धाविरुद्ध समेत अभियोग अगाडि बढाएको छ । उनीहरू चारैजना फरार छन् । मालचन र सुरेन्द्रा कम्पनी सञ्चालक छन् भने छोरा र छोरीको नाममा पनि कम्पनीको सेयर भएकाले उनीहरूलाई पनि प्रतिवादी बनाइएको काठमाडौं परिसरका डिएसपी बेलबहादुर पाण्डेले बताए ।

कम्पनीका चारजना कर्मचारी भने प्रहरी हिरासतमै छन् । फ्याक्ट्री मेनेजर प्रमोद मेहता, प्रबन्धक मदनबाबु पाण्डे, प्रोडक्ट मेनेजर ग्याप्रियल टिथापन र क्वालिटी मेनेजर शिवराज पोखरेल यसअघि नै पक्राउ परिसकेका छन् । टिथापन भारतीय नागरिक हुन् ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत ऋषि गाडिया फरार छन् । गाडियासहित फ्याक्ट्री मेनेजर रोहती भट्टराई र क्वालिटी अफिसर जगदीश पाण्डेलाई पनि प्रतिवादी बनाइएको छ । उनीहरू पनि फरार छन् । जिल्ला अनुगमन समितिका संयोजक रहेका काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेल नेतृत्वको टोलीले म्याद नाघेको कच्चा पदार्थबाट जुस बनाएको भेटेपछि उनीहरूलाई पक्राउ गरी कम्पनीमा सिल गरेको थियो ।

उनीहरूले एक वर्षअघि नै म्याद नाघेको आँपको गुदीमा चिनी, पानी र फ्लेभर मिसाएर जुस बनाउँदै आएको डएसपी पाण्डेले बताए । प्रहरीले चार सय १८ ड्रम आँपको गुदी सिलबन्दी गरेको छ । एक ड्रममा दुई सय ४० केजी गुदी थियो । भारतबाट ल्याएका कच्चा पदार्थबाट कम्पनीले फ्रुटी जुस बनाई बिक्री गर्दै आएको थियो ।

प्रहरीले अनुसन्धान गरेलगत्तै सञ्चालकहरू भारत भागिसकेको स्रोत बताउँछ । उनीहरूविरुद्ध अदालतमा ठगी मुद्दा तथा जिल्ला प्रशासन कार्यालय काठमाडौंमा कालोबजारी मुद्दा दायर हुनेछ । दुवै मुद्दामा ५ वर्षसम्म कैद र बिगोबराबर जरिवाना हुने प्रावधान छ । म्याद गूज्रिसकेका कच्चा पदार्थमा नयाँ मिति राखेर ठूलो मात्रामा जुस उत्पादन गरी बिक्री गरेकाले उनीविरुद्ध प्रहरीले अधिकतम सजायको माग गरेको छ ।

8 thoughts on “दुगडका सञ्चालकविरुद्ध २३ करोडको ठगी मुद्दा, श्रीमती र छोरीछोरीविरुद्ध पनि मुद्दा

Leave a Reply

Your email address will not be published. Required fields are marked *