२०८१ जेठ ६ गते | 19th of May 2024

तालमेल बखेडामा वाम गठबन्धन, सिटमा कुरा नमिल्दा नयाँ शक्ति बाहिरिने

खुल्लामन्च
 प्रकाशित: २०७४ असोज २७ गते ३:३०

काठमाडौं २७ असोज । नयाँ शक्ति पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री डा।बाबुराम भट्टराईको चुनावी क्षेत्र टुंगो लगाउन वाम गठबन्धनलाई सकस परेको छ । भट्टराईलाई गोरखा–२ बाट उम्मेदवार हुन नदिन माओवादी केन्द्रको दबाबले अन्य क्षेत्रको बाँडफाँटलाई समेत प्रभावित बनाएको छ । भट्टराईले एमाले र माओवादी केन्द्रका शीर्ष नेतृत्वलाई भेटी उक्त क्षेत्र नमिले आफू गठबन्धनबाट बाहिरिने धम्की दिएका छन् । बाँडफाँटको मुख्य मापदण्ड कार्यान्वयनमा समेत माओवादी केन्द्रले प्रश्न उठाएको छ । विगतमा सम्पन्न २ चुनावमा प्राप्त मतलाई मुख्य आधार बनाउने मापदण्ड बनाइएको छ । एमालेलाई ६० र माओवादी केन्द्रलाई ४० प्रतिशतका दरले उम्मेदवार तय गर्ने सहमति कार्यान्वयनको आधार पनि त्यसैलाई मानिएको छ ।

त्यसो गर्दा आफूलाई पर्याप्त सिट नपुग्ने तर्क माओवादी नेताहरूले गरेका छन् । नयाँ शक्ति, माले, राष्ट्रिय जनमोर्चा, मधेस केन्द्रित स्वतन्त्र समूहलाई छुट्याई बाँकी रहेको क्षेत्रमा एमाले र माओवादी केन्द्रबीच ६०र४० का दरले बाँडफाँट गर्ने सहमति बनेको थियो । तर, माओवादी केन्द्रका नेताहरूले सूर्य चिह्न लिएर उठ्ने अन्य उम्मेदवारलाई एमालेले आफ्नै भागमा राख्नुपर्ने तर्क गर्दै आएका छन् ।

भट्टराईले रोजेको गोरखा–२ बाट उम्मेदवार हुन एमालेले सहमति दिए पनि माओवादी केन्द्रले मानेको छैन । केन्द्रले उक्त क्षेत्रमा पार्टीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठलाई उठाउने प्रस्ताव गरेको छ ।

‘माओवादी केन्द्र र नयाँ शक्तिबीच जुँगाको लडाइँले बाँडफाँटकै काममा समस्या आएको छ,’ निर्वाचन क्षेत्र बाँडफाँट कार्यदलका एक सदस्यले भने । माओवादी केन्द्रका नेताहरूले भट्टराईलाई हँसिया–हथौडा चुनाव चिह्न लिई गोरखा–१ बाट उठ्न भनेका छन् । तर, भट्टराईले सूर्य चिह्न लिई क्षेत्र नम्बर २ बाटै उठ्ने र आफ्नो पार्टीका लागि १५ क्षेत्र छुट्याइनुपर्ने अडान राखेका छन् । भट्टराईलाई काठमाडौंबाट चुनाव लड्न सुझाव पनि माओवादी केन्द्रका नेताहरूले दिएको आजको कान्तिपुरमा खब छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *