टेक्सास । एनआरएन मिडिया संयोजक, गैर आवासिय नेपालीहरुको संगठन एनआरएन अमेरिकाको वर्तमान कार्यसमितीको एक टोलीले समुन्द्री आंधी हार्भीका कारण टेक्सासराज्य स्थित ह्युस्टन क्षेत्रमा रहेका नेपालीहरु संग भेटघाट गर्नुका साथै आर्थिक सहयोग समेत उपलव्ध गराएको छ ।
दुई महिना अघि हार्भीका कारण ह्युस्टन क्षेत्रका स सुगरल्याण्ड, रिचमण्ड लगायतका शहरमा आठ नेपाली परिवार विस्थापीत भएका थिए । एनआरएन टेक्सास राज्य शाखाद्धारा संकलित करिब ९ हजार डलर रकम एनआरएन अमेरिकाका केन्द्रिय अध्यक्ष डा. केशब पौडेलले पीडित ४ परिवारलाई हस्ताणतरण गरेका थिए ।
पीडित परिवारको संख्या ८ भएपनि ४ परिवारले आफु सक्षम भएको र अति आवश्यक परिवारलाई आर्थिक सहयोग गर्न आग्रह गरेपछि सहयोग लिनेको संख्या जम्मा चार परिवार भएको हो ।
पिडित परिवारहरुसंग उनीहरुको बर्तमान अवस्थाका बारेमा जानकारी लिंदै अध्यक्ष पौडेलले समस्यामा रहेका नेपालीहरुको सहयोगमा लाग्न एनआरएन अमेरिका सदा तत्पर रहेको बताए । टेक्सास शाखाका अध्यक्ष भानु खरेलले समुन्द्र आंधी आर्भीका कारण नेपालीहरुले भोग्नुपरेको दुखमा आफुले सानो सहयोग गर्न पाउंदा अत्यन्त खुसी लागेको बताए ।
सहयोग पाएका चार परिबार मध्येका एक निरञ्जन शर्माले बिदेशमा नेपाली समुदायबाट प्राप्त सहयोगले सात समुन्द्र पारी भएपनि नेपालमै रहेको अनुभुती भएको बताए । “आपतविपत परेका बेला एनआरएन लगायत नेपाली समुदायले सहयोग गर्दा म बिदेशमा छु जस्तो नै लाग्दैन “ शर्माले भने । पांच जनाको परिवार भएका शर्माले नौ महिना अघि मात्र किनेको घर बाढीका कारण क्षती भएको थियो ।
आफु बसेको अपार्टमेन्टमा पानी पसेर क्षतीग्रस्थत भएपछि बिस्थापीत भएका शालिन शर्माले एनआरएन अमेरिकाको यो सहयोगले कृतज्ञ भएको बताए ।” हामी समस्यामा रहेको बेला प्रत्येक सहयोगले ठुलो अर्थ राख्छ “ शालिनले भने । हाल सम्म पनि आफु ससुराको घरमा अस्थाई रुपमा बसिरहेको शालिनले बताए ।
तस्बिर : सौगात पण्डित