२०८१ वैशाख २३ गते | 5th of May 2024

सिटीको पर्मिट पाउने बित्तिक्कै शुरुवात हुने, लस एन्जलसको नेपाली मन्दिर

खुल्लामन्च
 प्रकाशित: २०७४ मंसिर ७ गते २२:०५

गोकुल ढकाल, लस एन्जलस ।
लस एन्जलसमा स्थापना हुंदै गरेको श्रीपशुपतिनाथ तथा बुद्ध मन्दिरको निर्माण कार्य सम्पन्नको अन्तिम चरणमा पुगेको छ । मन्दिर तथा सामुदायिक भवनभित्रका मर्मत, हिन्दू देवी-देवताका मुर्तीहरुको स्थापना, बुद्ध मुर्तीको स्थापना, मन्चको निर्माण लगायतका कार्यहरु सम्पन्न हुंदै सिटीको पर्मिट (सम्बन्धित नगरले भवन संचालनमा ल्याउन दिने अनुमती) मात्र कुरेर बसेको छ ।

कार्यसमितिको भर्खरै सम्पन्न बैठकमा संस्थाका अध्यक्ष भक्त थापाले निर्माण, मन्दिरको शुरुवातको प्रकृया र नगरले तोकेको मापदन्डहरुका बारेमा प्रकाश पार्नुभएको थियो । ‘नेपाली समुदायको अहोरात्रको बनेको मन्दिर र सामुदायिक भवन शुरुवातका लागि हामी नगरको अनुमती मात्र कुरेर बसेका छौं ‘ अध्यक्ष थापाले बताउनुभयो । ‘तालिकामा हाम्रो पालो पर्ने बित्तिक्कै नगरका इन्स्पेक्टर आएर आफ्नो काम सकी हामीलाई मन्दिर संचालनको अनुमती दिनेछन ।’ ‘लामो समयको ब्यग्रता र प्रतिक्षा चिर्दै हामी यथाशाक्य यो हाम्रो गौरव – हाम्रो मन्दिर र सामुदायिक केन्द्र संचालनका लागी आतुर छौं’ थापाले बताउनुभयो ।

‘कबुल गरिएका रकम आउने क्रम जारी छ, संसारभरका शुभचिन्तकहरुको अपार मायाको प्रश्रयले हामी लस एन्जलसमा दरिलो सामुदायिक विश्वाश र बल लिएर यो मन्दिर छिटो भन्दा छिटो संचालनमा ल्याउन चाहन्छौं, सम्भवत: छिट्टै हाम्रो यो सपना साकार हुनेछ ।’ श्रीपशुपतीनाथ फाउन्डेशनको अर्थ संकलन समितिको संयोजन समेत गरिरहनुभएका सामाजिक अभियान्ता तथा संस्थाका सदस्य राजेन्द्र सिवाकोटी बताउनुहुन्छ । ‘समय लाग्छ, यो मन्दिर हो, खन्डहर चर्चको भवनलाई नेपाली कला र संस्क्रितीको स्वरुप दिन समय लाग्छ, जसभित्र नगरका प्रावधानलाई हामीले अंगिकार गर्नपर्छ । मात्र त्यत्तिले रोकिएको हो, अरु कुनै दुविधा छैन’ सिवाकोटी बताउनुहुन्छ ।

‘एउटा सामुदायिक भवन निर्माण अभियानको थालनी लस एन्जलसबाटै भएको हो, प्रवासको यो मुलुकमा । हामीले गर्व गर्नैपर्छ । कुन राज्यमा कसले पहिला गरे भन्ने प्रतिस्पर्धा भन्दा पनि निर्माण र शुरुवात भैसकेपछि दिगो रुपमा टिक्न सक्नुलाई सफलता मानिन्छ । त्यो निरन्तरता र दिगोपनाको तयारीको हिसाबले हामी ढिला भएका हौं, यसमा कुनै राजनीति छैन’, फाउन्डेशनका सचिव रामेश्वर भन्डारीले बताउनुभयो ।

‘पैसा मात्र संस्थाको खातामा हुनुभन्दा पनि नगरको नियम र प्रावधानका बाध्यताहरुले हामी मन्दिर संचालनमा ढिला भएका हौं । तपाईं देख्नुहुन्छ, नेपालबाट आयत गरिएका यी सारा कलात्मक टुंडाल र भगवानका मुर्तीहरु यसै समुदायका स्वयंसेवक सदस्यहरुको बलले ठडिएका हुन । मेरो मतलब, निर्माण कम्पनीको मात्र भर परेका छैनौं, हामी । आफुले गर्न सक्ने काम फत्ते गरेर निर्माण कम्पनीलाई चाडैं काम सकाउन सहयोग गरिरहेका छौं, यी सब मन्दिर छिटो संचालनमा ल्याउनका लागी हो’, संस्थाका कोषाध्यक्ष तथा सबैभन्दा ठुला दानी एकराज ‘नारायण’ पाण्डे बताउनुहुन्छ ।

‘रातदिन सबै लागेका छौं, समाज लागेको छ’, संस्थाका सदस्य तथा एनआरएन अमेरिका क्यालिफोर्निया च्याप्टरका अध्यक्ष रामबाबु पाण्डेले बताउनुभयो । ‘जस अपजस लिने भन्दा पनि कसरी मन्दिर छिटो संचालनमा ल्याएर समुदायलाई अपनत्व महशुस गराउने भनेर सबै अहोरात्र लागेका छन । अब त्यो घडी सकियो । नगरका मान्छे आउंछन, अनुमती दिन्छन अनि हामी आफ्नै समुदायको भवनमा बाल-बालिका पढाउंछौ, आफ्नै मन्दिरका भगवानलाई अगरबत्ती बालेर आशिर्वाद माग्दछौं’ पाण्डे बताउनुहुन्छ ।

त्यसो त स्थापना गरेर घुम्टो ओडेर बसेका मुर्तीहरुको उद्घाटन मात्र गर्न बांकी छ, अब । अध्यक्ष थापाले यकिन मिती नदिए पनि फाउन्डेशनको स्थापना देखी हालसम्म गरी आएका कार्यहरुको विवरण सहितको स्मारिका प्रकाशनको तयारीमा रहेको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *