२०८१ वैशाख २३ गते | 5th of May 2024

एकहजार ६ सय ६६ ले लिए नेपाली समाज टेक्सास (NST)को सदस्यता

खुल्लामन्च
 प्रकाशित: २०७४ पुष २ गते ९:१४

टेक्सास – नेपाली समाज टेक्सस (एनएसटी) को सदस्य संख्या यसपटक विगतको भन्दा घटेको छ ।

दुइ वर्ष अघिको निर्वाचनमा दुइहजार चारसय रहेको सदस्य संख्या यसपटक केही घटेको छ । शनिबार मध्यरातसम्म एकहजार ६ सय ६६ जनाले नेपाली समाज टेक्ससको सदस्यताका लागि अावेदन दिएका छन् ।

‘यस पटक स्वफूर्त रूपमा सदस्यता लिनका लागि चासो देखिएको छ,’ सदस्यता वितरण समितिका संयोजक प्रेम पाठकले भने । अघिल्ला वर्षहरूमा सदस्यता लिनका लागि व्यापक दवाव दिनुपर्ने अवस्थामा रहेकोमा यसपटक वर्तमान कार्यसमितिले सामुदायिक गतिविधिमा देखाएको अग्रसरताले गर्दा सदस्यता लिनेतर्फ निकै चासो देखिएको समेत पाठकले बताए ।

विहीबारसम्म दुइसयको हाराहारीमा रहेको सदस्यता शुक्रबारबाट व्यापक रूपमा बढ्न सुरू भएको हो । शनिबार एकैदिन एकहजार तीनसय सदस्य थपिएका छन् ।

शुक्रबारसम्म सर्वसम्मत रूपमा नेतृत्व चयन हुने चर्चाका कारण सदस्यता बढ्न सकेको थिएन । तर एकाएक सर्वसम्मत नेतृत्व चयन हुने संभावना नरहेपछि शनिबार बिहानैदेखि सदस्यता व्यापक रूपमा बढेको हो ।

शनिबार साँझ ८ बजेदेखि प्रति मिनेट ५ जनाका दरले सदस्यता थपिएका थिए । अनलाइनबाटै सदस्यता लिन सकिने सुविधाका कारण सदस्य संख्या अन्तिम समयमा सदस्यताका लागि दवाव परेको थियो ।

‘नेपाली समाज टेक्सस अमेरिकाभरि रहेका नेपालीहरूको संस्थामध्य सबैभन्दा अग्रणी र नमूना संस्था हो । यसको सदस्यता लिनु गर्व गर्न लायक भएकाले सदस्यता प्रति यति धेरै चासो देखिएको हो,’ ड्यालसका समाजसेवी तथा जनसम्पर्क समिति अमेरिकाका केन्द्रीय सदस्य हरिबोल भण्डारीले भने । संस्थाले नेपाली समुदायलाइ जुनसुकै अवस्थामा पुर्याएको सहयोगले गर्दा नेतृत्व लिन धेरैले चासो देखाएकाले पनि सदस्यता बढेको भण्डारीको भनाइ छ ।

‘यस पटक नेतृत्व चयन सर्वसम्मत रूपमा गर्ने प्रयास अझै जारी छ । त्यसका लागि अाइतबार नेपाली मन्दिरमा छलफल कार्यक्रम समेत हामीले राखेका छैाँ,’ भण्डारीले भने ।

नेतृत्वका अाकांक्षी तथा वर्तमान कार्यसमितिका उपाध्यक्ष कमल सापकोटाले सदस्यताप्रति समुदायले देखाएको चासो प्रति अाभार व्यक्त गरे । ‘हामी नेतृत्व पनि यसैगरि मिलेर दिने प्रयासमा छैाँ,’ सापकोटाले भने । अाफूभन्दा समय दिनसक्ने कोही अाउँछ भने उम्मेदवारी छाड्न तयार रहेको पनि सापकोटाले बताए ।

अध्यक्ष पदका अर्का अाकांक्षी सुमन थापाले भने अाफू टीम सहित नेतृत्वका लागि अघि बढेको बताए । थापा वर्तमान कार्यसमितिमा सहकोषाध्यक्ष हुन् । उनले अाफूलाइ निष्कृय भनेर कार्यसमितिका पदाधिकारीले अारोप लगाएकोमा गुनासो गर्दै भने-‘मैले स्कूल चल्दा १५/२० पटक त पिज्जा लगेर बालबालिकालाइ ख्वाएको छु । अब भन्नुस् म कसरी निष्कृय भएँ ?’

थापाले सहमतिका लागि अाइतबार वार्ता गर्ने र अाफ्नो टीमले जे भन्छ सामुहिक निर्णयका अाधारमा अघि बढ्ने बताए ।

अाइतबार दिउँसो ६ बजेसम्म नेपाली समाज टेक्ससका लागि उम्मेदवारी दिनसक्नेगरि निर्वाचन तालिका प्रकाशित भैसकेको छ । अहिलेसम्म अध्यक्षका लागि कमल सापकोटाको मात्र उम्मेदवारी परेको छ। कार्यसमिति सदस्य पदमा केशवराज केसीको उम्मेदवारी दर्ता भैसकेको छ ।

निर्वाचन समितिका अनुसार बिभिन्न १७ पदमा उम्मेदवारी दिन सकिनेछ । मतदान भने अाउँदो शनिबार हुने कार्यक्रम रहेको छ ।
स्रोत : हिमालयखबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *