२०८१ जेठ ५ गते | 18th of May 2024

छिटो भन्दा छिटो पार्टी एकता गर्न ओलीलाई वाइसिएलको आग्रह

खुल्लामन्च
 प्रकाशित: २०७४ पुष ३ गते १३:१५

भक्तपुर, ३ पुस नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई नेकपा (माओवादी केन्द्र) को भातृ संगठन वाइसिएलको नेतृत्व टोलीले छिटोभन्दा छिटो पार्टी एकीकरण गर्न आग्रह गरेको छ ।

आज बालकोटस्थित ओली निवासमा बधाई तथा शुभकामना दिन पुगेको वाइसिएलका अध्यक्ष रामप्रसाद सापकोटासहितका पदाधिकारीको टोलीले यस्तो आग्रह गरेको हो ।

वाइसिएलका उपाध्यक्ष वीरु तामाङले ओलीलाई भने, –“प्रचण्डको नेतृत्वमा हामीले रगत बगायौं, अब तपाइँको नेतृत्वमा पसिना बगाउन तयार छौँ, छिटो पार्टी एकीकरण गर्नुहोस् ।”

पार्टी एकीकरणपछि देशको विकास र समृद्धिका लागि आफूहरू जस्तोसुकै भूमिका निर्वाह गर्न पनि तयार रहेको प्रतिबद्धता पदाधिकारीले व्यक्त गरेका छन् ।

त्यस अवसरमा अध्यक्ष ओलीले भने, –“पार्टी एकता हुँदा कोही नेतालाई म समितिमा पर्दिन कि भन्ने चिन्ता होला तर त्यस्तो चिन्ता नगरी देश बन्छ कि बन्दैन भन्नेमा चिन्तित हुन म आग्रह गर्छु ।”

आफू प्रधानमन्त्री भएका बेला शैक्षिक योग्यताको प्रमाणपत्र राखेर ऋण दिने व्यवस्था गरेको भन्दै ओलीले आगामी सरकारले युवा स्वरोजगार कार्यक्रम ल्याउने प्रतिबद्धतासमेत व्यक्त गरे ।

युवालाई उद्यमी, अध्ययनशील, समाजका रोल मोडल र सीपयुक्त हुन पनि ओलीले सुझाव दिए ।

चौध वर्ष जेल बसेर निस्कँदा पनि कुनै पूर्जीमा हस्ताक्षर नगरेको स्मरण गर्दै अध्यक्ष ओलीले भने–“जेलबाट छुट्दा एउटा कागज ल्याएर हस्ताक्षर गर्न ठीक परेको त राजाको मन्त्री हुन तयार छु भनेर पो लेखेको रहेछ, त्यही राजतन्त्र र निरंकुशताको अन्त्यका लागि विद्रोह गरेर हिँडेको मान्छे, फेरि राजाको मन्त्री खाने कुरा हुन्छ ?”

उनले थपे, “संविधान मान्दिन भनेर हिडेको मान्छेले त्यही संविधानअन्तर्गत मन्त्री हुने कुरा हुन्छ ?, २०४४ सालमा जेलबाट छुट्दा पनि सही नगरी छुटेको हुँ, शक्तिसँग नझुक्ने, सत्यको पक्षमा लड्ने र अडानबाट कहिले विचलित नहुने स्वभाव भएकाले निर्णय लिने बेलामा नै सोचविचार गर्ने मेरो बानी छ ।”

द्वन्द्वको बेला माओावादीका धेरै नेता कार्यकर्तालाई आफ्नो पहलले ज्यान बचाएको सुनाउँदै ओलीले भन्नुभयो, “कहिले सेनापतिलाई आग्रह गरेर, कहिले आइजीलाई त कहिले गृहमन्त्रीलाई आग्रह गरेर थुप्रै माअ‍ोवादी कार्यकर्ताको ज्यानको सुरक्षा गरेको छु ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *