२०८१ जेठ ४ गते | 17th of May 2024

प्रहरीले खानाको मेस बन्द गरेपछि अवधि नसकिँदै घर फर्किए म्यादी प्रहरी

खुल्लामन्च
 प्रकाशित: २०७४ पुष ४ गते १३:५६

चरिकोट, ४ पुस । जागिर सकिनु तीन दिन अगावै खाना खान नपाएपछि जिल्ला प्रहरी कार्यालय दोलखामा खटिएका सबैजसो म्यादी प्रहरी घर फर्केका छन् ।

जिल्ला प्रहरी कार्यालय दोलखाभित्र म्यादी प्रहरीले महँगो रकम तिरेर खाना खानु परेको र ज्यामीको काममा लगाएको भन्दै आन्दोलनमा उत्रिएपछि सधै खाना खाएको स्थान प्रहरीको मेसबाट बन्द गरेका कारण आफूहरु घर फर्केको म्यादी प्रहरीले बताएका छन् । खाना खान नपाएपछि घर जिरी फर्कंदै गरेका म्यादी प्रहरी शिव खड्काले आफूहरुले आन्दोलन गरेपछि प्रहरीको मेसमा दुई छाक खाना नपाएका कारण घर फर्केको बताए ।

खड्काले भन्नुभयोे, ‘‘बाहिर गएर चाउचाउ त खाइयो तर सधँै खाएको स्थानमा खाना खान नपाउँदा बाहिर खाने ठाउँ भएन त्यसैले घर फर्कियौं ।’’ म्यादी प्रहरीको जागिरको अवधि तीन दिन मात्रै बाँकी रहँदा उनीहरु घर फर्केका हुन् ।

सोमबार खानाको रकम घोटला भएको भन्दै आन्दोलन गर्दा प्रहरीले लाठी प्रहार गर्दा १२ जना म्यादी प्रहरी घाइते भएको उनीहरुको भनाइ छ । केही म्यादी महिला प्रहरीले आफूहरुमाथि महिला हिंसासमेत भएको आरोप लगाएका छन् । सोमबार म्यादी प्रहरीहरुले नाराबाजी गर्दै बजार परिक्रममा समेत गरेका थिए ।

यता जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख रामेश्वर कार्कीले सोमबार बेलुका र मंगलबारको खाना केही म्यादीले बाहिर गएर खाएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *