२०८१ वैशाख २१ गते | 3rd of May 2024

४ वटा हेलिकप्टरबाट ओलीले गरे रेलमार्गको अवलोकन

खुल्लामन्च
 प्रकाशित: २०७४ पुष ४ गते १४:४८

रसुवा, ४ पुस । एमाले अध्यक्ष केपी शर्मा ओलीले रेल मार्गको अवलोकन गरेका छन । मंगलबार अध्यक्ष ओली सहित १८ सदस्यीय टोलीले रसुवागढीमा पुगेर रेलमार्गको अवलोकन गरेका छन ।

अन्तराष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने सडकमार्ग र रेलमार्गको विकास तथा विस्तार गरिने ओलीले बताएका छन । चीनको केरूङबाट रसुवागढी नाका हुँदै लुम्बिनी जोड्ने रेलमार्ग र गल्छी बेत्रावती मैलुङ स्याफ्रुवेशी हुँदै रसुवागढी जोड्ने सडकको विकास र विस्तार गर्ने बताएका छन ।
अवलोकन टोलीमा महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल, स्थायी समिति सदस्य सुवास नेम्वाङ र शंकर पोखरेल लगायत १८ जना नेता सहभागी भएका थिए ।
चीनबाट रसुवागढी हुँदै रेलमार्ग आउने बाटोको अवलोकन गर्न मंगलबार उक्त टोली रसुवा पुगेको हो ।
गल्छी–बेत्रावती–मैलुङ–स्याफ्रुवेशी हुँदै रसुवागढी नाका जोड्ने दुई लेनको सडक आगामी वैशाखसम्ममा निर्माण सम्पन्न हुने छ । २ लेनको सडक निर्माण सकिए लगत्तै चार लेनको सडक निर्माण गरिने ओलीको भनाई थियो ।

टोलीमा नेकपा एमाले रसुवाका अध्यक्ष कर्णेल लामा, पूर्वसांसद जनार्दन ढकाल र गोसाइँकुण्ड गाउँपालिकाका उपप्रमुख कारग्याल्मो श्रेष्ठ लगायतका नेता सहभागी भएका थिए ।

टोलीलाई जिल्लाको टिमुरे, बृद्धिम र लाङटाङ स्थानीयबासीले ज्ञापनपत्र बुझाएका थिए । अन्तराष्ट्रिय नाकाको व्यवस्थापन गर्नुपर्ने, अन्तराष्ट्रिय नाका जोड्ने सडकको स्तरोन्नती गर्नुपर्ने, पर्यटकीय क्षेत्रको रुपमा परिचित रहेको रसुवामा पर्यटन प्रवद्धनका कार्यक्रम सञ्चालन गर्नुपर्ने र भूकम्पले क्षति पुगेको निजी संरचनाको निर्माणमा सहयोग गर्नुपर्ने मागसहित स्थानीयबासीले ज्ञापनपत्र बुझाएका हुन् ।

मनाङ एयर, फिष्टेल एयर र अल्टिच्युड एयरको चार वटा हेलिकप्टरमा आएको टोलीले रसुवाको पर्यटकीय क्षेत्र लाङटाङ र चीनसँगको अन्तराष्ट्रिय नाका रसुवागढीको अवलोकन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *