२०८१ वैशाख १५ गते | 27th of April 2024

५२ बर्ष पुगे सलमान : आँप चोर्दै हिँड्ने केटो यसरी बने सुपरस्टार

खुल्लामन्च
 प्रकाशित: २०७४ पुष १२ गते २०:२६

 मुम्बई । ‘टाइगर जिन्दा है’ ले बक्स अफिसमा धुम मच्याइरहेको बेला टाइगर अर्थात सलमान खानले ५२ औं जन्मदिन मनाउँदैछन् । उनको जन्मदिन भोलि हो । उमेरले ५० उकालो लागेपनि उनको जवानी खुम्चिएको छैन । यी अविवाहित अभिनेताको फूर्ति १६ बर्षे ठिटाको जस्तै छ । यसपाली फोब्र्सले सार्वजनिक गरेको सूचीमा उनी बलिउडका सर्वाधिक कमाई गर्ने सेलिब्रेटीमा दरिएका छन् । यस दौडमा उनले आफ्ना समकक्षी खानहरुदेखि विराट कोहलीसम्मलाई तल पारेका छन् ।

अतः सलमानले भोलि आफ्नो जन्मदिनको केक काट्नेछन् । यसै मेसोमा उनको जीवनसँग जोडिएका केही रोचक कुरा पेश गरिएको छ ।

-सलमानको जन्म इन्दौरको कल्याणमल नर्सिङ २७ डिसेम्बर १९६५ मा बिहान १० बजेर ४५ मिनेटमा भएको थियो ।

-उनको वर्थ रजिस्टरमा यस्तो लेखिएको थियो, ‘सलमा सलीम, निवासी ओल्ड पलासियाले २७ डिसेम्बरमा भएको डेलिभरीमा एक स्वस्थ्य बच्चालाई जन्म दिइन् ।

-जन्मको बेला सलमानको तौल करिव ३ किलो थियो ।

-सलमानलाई सानो छँदा पानीमा डुब्न डर लाग्थ्यो । यस्तो अवस्थामा एक दिन उनलाई डोरीले बाँधेर छिमेकीको कुवामो फ्याकिएको थियो । यो सलमानको लागि स्विमिङको पहिलो पाठ थियो ।

-त्यसपछि नै हो, सलमान निरन्तर उक्त कुवामा पौडन जान थालेको । बाल्यकालमा उनले यही स्विमिङ सिके ।

-सानो छाँदा उनी इन्दौरको सडकमा साइकल कुदाउँथे, खासगरी स्कुल विदामा ।

-त्यसबेला उनी साथीहरुसँग मिलेर काँचो आँप र जामुन चोरी गर्थे । त्यसलाई नुनमा चोपेर खान्थे ।

स्कुटर चलाउथे सलमान

सलमानले वाल्यकालमा भिन्न भिन्नै शहरमा पढे । यद्यपी छुटी मनाउन भने उनी इन्दौर नै पुग्थे । उनलाई मध्यन्हमा साइकल वा स्कुटर कुदाउन खुब रहर लाग्थ्यो । त्यसबेला उनी खानेकुराको एकदमै सौखिन थिए । नजिकैको पसलमा गएर खाइरहन्थे । उनको घरको आँगनमा फलफूलको रुख थियो, जहाँ चढेर उनी फलफूल खान्थे ।

धुलाम्मे बाटोमा बाइक स्टन्ट

सलमान खान जिप चढेर गाउँ जान्थे । त्यहाँको बाटो धुलाम्मे हुन्थ्यो । त्यही बाटोमा उनी बाइक स्टन्ट गर्थे । यसरी रेसिङ स्टन्ट गर्ने क्रममा एक पटक सलमानको हात भाँचियो । त्यहीताकाको कुरा । एकपटक सलमान लगायत चढेको जिप खाल्डोमा फस्यो । त्यहाँ पानी भरिएको थियो । उनीहरु सबै मिलेर जिपलाई खाल्डोबाट बाहिर निकाले । त्यसबेलासम्म सबैको कपडा हिलैहिलो भइसकेको थियो । आखिरमा उनीहरुले त्यही खाल्डोमा पौडी खेले ।

जिद्दी थिए सलमान

वाल्यकालमा सलमान निकै जिद्दी थिए । उनका आफन्तले बताए अनुसार उनले एक पटक गर्छु भनेको कुरा गरेरै छाड्थे । उनी स्टन्टका सौखिन थिए । १२ बर्षको उमेरमा उनी तीन मिटरको छलाङ मार्थे । कहिले उनी चट्टाने बाटोमा त कहिल सिंढीमा साइकल सन्तुलन गर्थे ।

पढाईमा होइन, खेलकुदमा ध्यान

सलमान वाल्यकालमा पढाई लेखाइप्रति उस्तो ध्यान दिदैनथे । पिता सलीमले उनलाई पढ्नका लागि देशकै राम्रो स्कुल सिन्धिया बोर्डिङ स्कुलमा पठाए । तर, सलमान पढाईमा नभई खेलकुदमा बढी ध्यान दिन्थे ।

सलमानको वाल्यकालको साथी अहिले मजदुर

सलमानको वाल्यकालको साथी हुन्, दल्ला । उनी अहिले गाउँमै मजदुरी गर्छन् । दल्लाका अनुसार उनी निसाना लगाउनका माहिर थिए । एउटा ढुंगाले ऊ उडिरहेको चरा पनि खसाल्न सक्थे । उनको यहि खुबीको कारण सलमानले अहिलेपनि उनलाई सम्झने गरेका छन् । सलमानले वाल्यकालको साथीलाई अझै भुलेका छैनन् ।

केटी गिज्याउने सलमान

सलमान केटी गिज्याउने सवालमा पनि निकै माहिर थिए । उनी केटीहरुसँग निकै हाँसो ठट्टा गर्थे । स्कुलमा उनी यस्तै हर्कत गर्नेमा बढी चर्चित थिए । त्यसबेला उनी बच्चाहरुलाई खुब चलाउथे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *