२०८१ वैशाख २६ गते | 8th of May 2024

मन्दिरलाई दिएको अनुदान नेपाली समाज टेक्सासको नयाँ कार्यसमिति द्वारा फिर्ता माग

खुल्लामन्च
 प्रकाशित: २०७४ पुष १२ गते २२:३१

टेक्सास । नेपाली समाज टेक्सस (एनएसटी)को नव निर्वाचित कार्य समितिले आफू औपचारिक रूपमा कार्यभार ग्रहण गर्न पूर्व नै एक बिबादास्पद निर्णय गरेको छ। स्थानीय नेपाली मन्दिर तथा सामुदायिक केन्द्रका लागी केही दिन अघि एनएसटीद्वारा गरिएको आर्थिक अनुदानलाई नव निर्वाचित कार्यसमितिका सभापति लगाएतका केही पदाधिकारीले फिर्ता माग्दा विवाद उत्पन्न भएको हो।

नेपाली सांस्कृतिक तथा आध्यत्मिक केन्द्र ( एनसीएससी) द्वारा प्रस्ताव गरिएको मन्दिर सहितको एक नयाँ र ठुलो सामुदायिक केन्द्र स्थापनाका लागी दीर्घकालीन योजना अन्तर्गत एनएसटीले सहयोग स्वरूप २५ हजार अमेरिकी डलर आर्थिक अनुदान गरेको थियो। एनएसटीका नव निर्वाचित सभापति सुमन थापा सहितको वर्तमान कार्यसमितिले औपचारिक रूपमा छलफल तथा निर्णय गरी सो रकम उपलब्ध गराइएको थियो। सुमन थापा वर्तमान कार्यसमितिका सह-कोषाध्यक्ष हुन्। थापाले सभापतिको जिम्मेवारी २०१८ को पहिलो साता बाट मात्र पाउनेछन्।

एनएसटीका सभापति कृष्ण लामिछानेका अनुसार एनसीएससीलाई आर्थिक सहयोग गर्ने निर्णय सुमन थापाको सहमतिमा भएको थियो। निर्णय पश्च्यात लामिछाने, थापा र अन्य पदाधिकारी सहितको टोली एनसीएससी पुगी एनसीएससीका कार्य समिति अध्यक्ष रमेश पोख्रेल र एनसीएससी बोर्ड अफ ट्रष्टीका प्रमुख बिनय अर्याललाई भेटि सो रकम हस्तान्तरण गरेको थियो।

तर अनुदान गरेको २४ घण्टा नबित्दै सुमन थापाले सो रकम संस्थाको विधान विपरीत दिइएको आरोप लगाउदै तुरुन्त ‘फ्रिज’ गर्न औपचारिक आग्रह गरेका छन्। वर्तमान कार्य समितिको पदावधि समाप्त हुनु पूर्व गरिएको यो निर्णय ‘अनुचित’ र संस्थाको विधान विरुद्ध भएको जिकिर सहित विधानका विभिन्न धारा-उपधारा उल्लेख गर्दै प्रेषित गरिएको एक पत्र आज मंगलाबार एनसीएससीमा दर्ता भएको छ। नव निर्वाचित सभापति सुमन थापा र महासचिव भक्त भण्डारीका नाममा जारी गरिएको उक्त पत्रले आफूहरू सदा एनसीएससीलाई सहयोग गर्न तयार रहेको समेत उल्लेख छ।

यो विषयमा सेतोपाटीसंग कुरा गर्दै नव निर्वाचित सभापति थापाले आफू साम्मिलित समूहले चेक हस्तान्तरण गरेको स्वीकार्दै पद्धति गलत भएको बताए। ” मैले सहयोग नगर्ने भनेको छैन, मैले त यो प्रक्रिया अनुसार हुनु पर्‍यो भनेको हुँ ” थापाले आफ्नो प्रस्टीकरण दिए।

एनसीएससीको बोर्ड अफ ट्रष्टि बिनय अर्यालले आफूले दिएको अनुदान समेत फिर्ता माग्नु वा रोक्न खोज्नु अत्यन्त लज्जास्पद भएको उल्लेख गर्दै नव निर्वाचित कार्य समितिका प्रमुख पधाधिकारीले अत्यन्त अपरिपक्क ब्याबहार देखाएको बताए। एनसीएससीले औपचारिक रूपमा नेपाली समाज टेक्सासलाई पत्र लेखी सहयोग गर्न आग्रह गरेको थियो।
नेपाली मन्दिरको स्थापनाका लागी विगत ८ वर्ष देखि क्रियाशील सामाजिक अगुवा डा. मुरली अधिकारीले पनि सुमन थापा समूहको यो निर्णय पार्टी अत्यन्त दुख व्यक्त गरे। ” समाज बनाउने यो महायज्ञमा होस्टेमा हैसे गर्नु त कता हो कता, दिएको अनुदान पनि रोक्न खोज्नु समुदायको नै दुर्भाग्य हो ” डा. अधिकारीले भने। ” नव निर्वाचित कार्यसमितिको यो कदमले उंहाहरु समाज बनाउन आएको हो या हैन भन्ने विषयमा समेत अब शङ्का भयो ” अधिकारीले थपे।

आफू सम्मिलित कार्यसमितिले गरेको निर्णय कार्यन्वयन गर्दै आफू नै एनसीएससी पुगी चेक हस्तान्तरण गरिसकेको व्यक्तिले अचानक सो निर्णय संस्था विरोधी हो भनेर सार्वजनिक रूपमा दाबी गरे पछि थापाको नेतृत्व क्षमतामा नै प्रश्न उत्पन्न भएको छ।

स्मरणीय रहोस्, एनसीएससीको स्थापना नेपाली समाज टेक्सस कै पहलमा भएको थियो र एनसीएससीले नेपाली समाज टेक्सासलाई ‘पिता तुल्य’ भन्दै मान्दै आएको छ। एनसीएससीको भवन भित्र रहेको नेपाली समाजको कार्यलयले निशुल्करुपमा सबै सुविधाहरू निर्बाधरुप प्रयोग गर्दै आएको छ।

स्रोत : सेतोपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *