२०८१ वैशाख १८ गते | 30th of April 2024

११ किलो– छेवेटार–बारपाक सडकमा ५ वटा र सौरपानी जोड्ने दरौंदीपुल निर्माण यसै वर्ष सकिने

खुल्लामन्च
 प्रकाशित: २०७४ पुष १३ गते ०:५६

गोरखा । ११ किलो छेवेटार हुदै बारपाक जोड्ने सडकमा बन्ने सम्पूर्ण पुलहरु निर्माण यसै वर्ष सकिने भएको छ | बेनीघाट, आरूघाट–लोर्के भञ्ज्याङ सडक, ११ किलो– छेवेटार–बारपाक सडकमा पनि आधा दर्जन पुलहरू निर्माणकै चरणमा छन् । पालुङटार र लम्जुङ जोडने गरी चेपे नदीमाथि ६ करोड ८३ लाखको लागतमा मोटरेबल पुल बनिरहेको छ । पुनर्निर्माणमा सघाउन आएको जापानी सहयोग नियोग जाइकाले ५ वटा पुल निर्माणको काम थालेको छ । सदरमुकामबाट बारपाक जोड्ने सडकको राङरुङ, घट्टे, खहेर, झ्याल्ला खोलामाथि पक्की पुल बनाउने काम सुरु भएको छ । दरौंदी नदीमाथि बन्ने मोटरेबल पुलले भने सौरपानी हुँदै सुलिकोट गाउँपालिकाको केन्द्र जोड्नेछ ।

पृथ्वी राजमार्गबाट गोरखा नगरपालिका देउराली जोड्ने गरी आँबुखैरनीमा मोटरेबल पुल निर्माणाधीन छ । पृथ्वीराजमार्गबाटै नयाँपुल र विमलनगरबाट पालुङटार नगरपालिका र तुरतुरेबाट पनि पालुङटार जोड्ने गरी पनि पक्की पुल निर्माण भइरहेको छ । गोरखा आँबुखैरेनी खण्डको अँबुवाबाट मनकामना जोड्ने पुलको निर्माण कार्य सकिएको छ । आँबुखैरेनीमा मनकामना पुग्ने पुल बनेपछि भक्तजनहरू गाडी चढेर मन्दिरको दर्शन गर्न जान थालेका छन् । आँबुवामा समेत पुल बनेपछि मनकामना पुग्न दुईवटा सडक प्रयोग गर्न सकिने भएको छ ।

लोकसेवा आयोगमा एउटा प्रश्न सोधिन्छ, नेपालकै पहिलो क्यान्टिलिभर पुल कुन जिल्लामा पर्छ ? उत्तर हो, गोरखा जिल्ला । पहिलो मात्र होइन दोस्रो क्यान्टिलिभर पुल पनि गोरखामै बनेको छ । मनासलु पदमार्गमा पर्ने बुढीगण्डकी नदीको केरौंजा र सिर्दिवास जोड्ने भीरमा पहिलो क्यान्टिलिभर पुल बनेको हो । भूकम्पले ६ महिनासम्म अवरुद्ध पदमार्गमा पुल बनेपछि मात्र सदरमुकामसँग जोडिएको थियो । यही पुलले चुमनुब्री गाउँपालिकाका बासिन्दा र मनासलु घुम्न आउने पर्यटकलाई सहज भएको छ ।

दोस्रो क्यान्टिलिभर पुल चुम्चेतको सर्दिखोलामा बनेको छ । खोलामाथिको भीरमा झोलुंगे पुल हाल्ने विकल्प पनि बाँकी नभएपछि पहरो छेडेर क्यान्टिलिभर पुल हालिएको हो । डन्डीले भित्तो छेडेर पुल झुन्डाएपछि स्थानीयदेखि पर्यटकलाई सहज भएको छ । डीएफआईडीले ती दुई पुल निर्माण गरेको हो । भूकम्पले सुनसान बनेको पदमार्गको स्तरवृद्धि भएपछि घुम्न आउने पर्यटकको संख्या दोब्बर बढेर गएको मनासलु क्षेत्र संरक्षण आयोजनाले जनाएको छ । भूकम्पकै कारण नेपालमै पहिलो पटक क्यान्टिलिभर पुल बनेको विश्लेषण गर्नेहरू छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *