२०८२ फागुन २८ गते | 12th of March 2026

डा. केसीलाई बाबुराम र गगनको समर्थन, पक्राउ गरिएकोमा सर्वत्र बिरोध

खुल्लामन्च
 प्रकाशित: २०७४ पुष २४ गते १७:३९

काठमाडौं । मेडिकल माफियाको विरुद्धमा आवाज उठाएका त्रिवि शिक्षण अस्पतालका हाडजोर्नी विशेषज्ञ डा‍. गोविन्द केसीको माग प्रति नयाँ शक्ति नेपालका संयोजक एवं पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले समर्थन जनाएका छन् । केसीलाई प्रहरीले पक्राउ गरेर लागिसकेपछि अबेर आफ्नो व्यक्तिगत फेसबुक पेज मार्फत् डा भट्टराईले गोविन्द केसीको मागमा आफ्नो ऐक्यबद्धता रहेको जनाएका छन् ।

डा भट्टराईले फेसबुकमा उनको गिरफ्तारीप्रति दुख व्यक्त गर्दै उनको शीघ्र रिहाइको माग पनि राखेका छन् । ‘मेडिकल शिक्षामा सुधार र स्वास्थ्य सेवामा सबै नेपालीको पहुँचको माग राखी संघर्षरत डा.गोविन्द केसी पक्राउ परेको खबरले दुस्खी छु।’ डा भट्टराईले भनेका छन् ‘डा. केसीको शीघ्र रिहाइकालागि सम्बन्धित पक्षसँग आग्रह गर्दछु। चिकित्सा शिक्षा क्षेत्रको सुधारकालागि डा. केसीको अभियानमा सदाझैं मेरो र नयाँ शक्तिको ऐक्यबद्धता छ।’

त्यस्तै, नेपाली काँग्रेसका नेता गगन थापाले पनि डा गोविन्द केसीको समर्थनमा आफ्नो धारणा राखेका छन् । उनले आफ्नो आधिकारिक ट्वीटर ह्याण्डलबाट आईओएमको डिन नियुक्ति प्रक्रियाबाट चिकित्सा शिक्षालाई थप विकृत बनाउने निर्णय भएको बताएका छन् । उनले आफ्नो ट्वीटमा लेखेका छन् ‘चिकित्सा शिक्षामा सुधार गर्दै सबै नेपालीका लागि सुलभ स्वास्थ्य सेवा उपलब्ध गराउन संघर्षरत डा। गोविन्द केसीको गिरफ्तारीको कडा शब्दमा निन्दा गर्दै उहाँलाई तुरन्त रिहा गर्न सरकारसँग माग गर्छु । हाम्रो लोकतन्त्रले अन्यायको अहिंसात्मक विरोधलाई न्यायसम्पादनमा अवरोध मानेर दण्डित गर्ने अधिकार दिएको छैन ।’

नेता थापाले विहान मात्रै चिकित्सा शिक्षामा जति विकृति भित्रिन्छ, स्वास्थ्य सेवा त्यति नै प्रभावित हुने भन्दै जुनसुकै निकायले गरेको होस् चिकित्सा शिक्षालाई थप विकृत बनाउने निर्णय जनविरोधी भएको बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *