२०८१ वैशाख १६ गते | 28th of April 2024

काँग्रेसको प्रवक्तामा विश्वप्रकाश शर्मा

खुल्लामन्च
 प्रकाशित: २०७४ पुष २५ गते १५:१३

काठमाडौँ — कांग्रेसका युवानेता विश्वप्रकाश शर्मा पार्टी प्रवक्तामा नियुक्त भएका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवाले मंगलबार शर्मालाई प्रवक्तामा नियुक्त गरेका उनको सचिवालयले जानकारी दिएको छ। संसदीय निर्वाचनमा कांग्रेसको पराजयपछि केही युवा नेताहरुले नेतृत्व परिवर्तनको माग राखेर महासमिति बैठक बोलाइरहेका बेला देउवाले शर्मालाई प्रवक्ता बनाएका हुन्। पार्टी प्रवक्ता नियुक्तिपछि शर्माले पार्टीलाई बदल्ने आफूले हरेक कोणबाट प्रयास गर्ने बताए।

हाईस्कुल पढ्दापढ्दै नेविसंघबाट शर्माले राजनीति सुरु गरेका थिए। उनी ८ कक्षा पढ्दापढ्दै झापास्थित धुलाबरी स्कुलको स्ववियू सभापति, ०४३ सालमा मेची बहुमुखी क्याम्पसका सभापति हुँदै नेपाल विद्यार्थी संघको महामन्त्री, अध्यक्ष हुँदै कांग्रेसको केन्द्रीय सदस्य बनेका थिए।

पार्टीको नेतृत्व युवा पुस्तामा आउनुपर्ने माग भइरहेका समयमा पार्टी सभापति देउवाले युवा नेता शर्मालाई पार्टी प्रवक्ता बनाएका हुन् । यसअघि दिलेन्द्रप्रसाद वडू प्रवक्ता रहेको कांग्रेस उनीपछि लामो समय प्रवक्ताविहीन थियो । २०७१ फागुनमा पार्टी महाधिवेशन भएयता कांग्रेस प्रवक्ताविहीन थियो ।

दुई बर्षअघि पार्टीको महाधिवेशन भएपनि कांग्रेसले प्रवक्ता चयन गरेको थिएन। प्रधानमन्त्री समेत रहेका शेरबहादुर देउवाका प्रेस संयोजक गोविन्द परियारले शर्मालाई प्रवक्ता चयन गरिएको जानकारी दिए। शर्मा कांग्रेसका केन्द्रीय सदस्य हुन्।

यसअघि कांग्रेस प्रवक्तामा गगन थापा चयन भएको चर्चा चलेको थियो। तर थापालाई देउवाले प्रवक्ताको कार्यभार सम्हाल्ने पत्र दिएका थिएनन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *