काठमाडौं । गैरआवासीय नेपाली संघ(एनआरएन)का अध्यक्ष भवन भट्टले नेपाल वायु सेवा निगमको बोइङ ७५७–२०० जहाज किनेका छन् । भट्टले १४ करोड ६० लाख रुपैयाँमा बोइङ किनेका हुन् । उनले बुधवार निगमलाई बुझाउनुपर्ने रकम भूक्तानी गरेर जहाज किनेका हुन् । यो जहाज दुई वर्षदेखि ग्राउण्डेड छ । यो विमानले ८६ हजार चार सय १० घण्टा उडान गरिसकेको छ ।
भट्टले एनआरएन निर्वाचनको बेलामा जहाज किन्न डेढ करोड रुपैयाँ बैना गरेका थिए । जहाज बैना गरेपछि भट्टले थप पैसा बुझाएका थिएनन् । थप पैसा नबुझाएपछि निगम व्यवस्थापनले ४५ दिनभित्र जहाज नकिने बैना जफत गर्ने निर्णय गर्यो । यो निर्णयको म्याद सकिनु एक दिनअघि कम्पनीले बाँकी रकम बुझाएर जहाज किनेको हो ।

नेपालमा होटल, संचारमाध्यम, ब्रुअरीमा लगानी गरिरहेका भट्टको हवाई उड्ययन व्यवसायमा समेत संलग्नता छ । सन् २०१२ सेप्टेम्बरमा बिबि एयरवेजमार्फत काठमाडौं–मलेसिया उडान सुरु भएको थियो । लिज पर्चेचमा कम्बोडियाको टोन्ले साप कम्पनीबाट बिबिले जहाज ल्याएको थियो । टोन्लेले लिज पर्चेच सकिएपछि जहाज लग्यो र बिबिको उडान रोकियो ।
निगमबाट किनेको जहाजको रजिष्ट्रेशन बिबिमा नामसारी गरेपछि उडान प्रकृयामा लाग्ने एक कर्मचारीले बताए।दिल्ली, बैंकक, मलेसिया, दोहा लगायत देशमा उडान गर्ने कम्पनी स्रोतले बतायो। स्रोतका अनुसार छिटै अर्को जहाज पनि खरीद गरिनेछ। नयाँ जहाजबाट भने जापान, कोरिया लगायतका राष्ट्रमा उडान गर्ने स्रोतले बताएको छ।