२०८१ वैशाख २२ गते | 4th of May 2024

मिचिएको सीमामा देशको झण्डा गाड्दै नेविसंघले भन्यो ‘अब वैज्ञानिक सिमाङ्कन हुनुपर्छ’

खुल्लामन्च
 प्रकाशित: २०७४ माघ ११ गते १८:०८

पर्सा– नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) भारतले सिमा मिचेको भनिएको स्थल छपकैया पुगेको छ ।

सीमा अवलोकनका लागि नेविसंघ आज उच्च स्तरीय प्रतिनिधिमण्डलसहित पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका १ स्थित छपकैया पुगेको हो । यहाँस्थित नेपाल भारत सिमामा पुगेर नेविसंघले यस अघि दुई देश बीच भएका सिमा निर्धारण ब्यवहारिक नभएको भन्दै नयाँ बैज्ञानिक सिमाङ्कनको जोडदार माग गरेको छ ।

‘नदीलाई सिमाना मान्ने र नदिले धार फेरे पिच्छे सिमाना सारिहने हो भने पटक पटक सीमा मिचिरहन्छ’ नेविसंघका अध्यक्ष नैनसिँह महरले सीमामा उभिएर भने ‘सिमाको समस्या सधैँका लागि समाधान हुने गरी समाधान निकाल्नुपर्छ ।’

सीमाहरु मिचिने गतिबिधले नेपाल र भारत दुबै देशलाई फाईदा नगर्ने भन्दै महरले सिमाको वैज्ञानिक सिमाङ्कन गर्नुपर्ने माग गरेका छन् । ‘सिमानाका कारण नेपाल भारत सम्बन्ध र सौहार्दता बिगार्न हुन्न’ उनले भने ‘नेपाल भारत सीमाहरुमा अब वैज्ञानिक रुपमा नयाँ सिमाङ्कन हुनुपर्छ ।’

सीमा मिचिएको स्थलबाट फर्किए पछि नेविसंघले त्यहाँको स्थलगत रिपोर्ट सहित नेपाल सरकारलाई ज्ञापन पत्र बुझाउने भएको छ ।

यस्तै, नेविसंघले यो बिषयलाई भारत सरकार समक्ष समेत पूर्याउने जनाएको छ । नेपाल स्थित भारतीय दूतावास मार्फत ज्ञापन पत्र बुझाउँदै सिमामा नयाँ बैज्ञानिक सिमाङ्कनको बिषयलाई भारत सरकारसंग समेत जोडदार माग गर्ने बताईएको छ ।

नेविसंघले यस अघि पनि नेपाली सीमाको रक्षा गर्नभन्दै काठमाडौँमा र्याली निकालेको थियो ।

वीरगन्ज महानगरपालिका वडा नम्बर १ को छपकैयामा पर्ने जंगे पिलर ३९१ को ३८ र ३९ तथा ३९२ को ७, ८, ९ ,१० , २७ र २८ नम्बरको सहायक पिलर नेपाल तर्फ परेपछि बर्षौदेखि भोग चलन गर्दै आएको करिब ५० बिघा नेपाली भूमी भारततर्फ पर्न गएको स्थानीयवासीले दाबी गर्दै आएका छन् ।

सीमामा हराएका र जीर्ण भएका सीमा स्तम्भ (पिलर) मर्मत र निर्माणका क्रममा ५० विगाहा जमिन भारतले आफ्नोतर्फ लिएको भन्दै चौतर्फी विरोध भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *