२०८१ वैशाख २० गते | 2nd of May 2024

प्रदेश सभामा पृथ्वीनारायण शाहको बखान

खुल्लामन्च
 प्रकाशित: २०७४ माघ २३ गते २:३९

पोखरा – प्रदेश–४ का मुख्यमन्त्रीका दावेदार पृथ्वीसुब्बा गुरुङ र किरण गुरुङ दुबैले प्रदेशसभाको पहिलो बैठकमा संबोधन गरेका छन्। किरण भन्दा पहिले संबोधन गरेका पृथ्वीसुब्बाले सुरुमै नेपाल एकिकरणमा पृथ्वीनारायण शाहले खेलको भूमिकाको स्मरण गरे।

भीमसेन थापाको देशभक्ति सम्झँदै उनले भने, ‘राष्ट्रिय स्वाधिनताको मुद्धामा यो प्रदेश सधैँ प्रतिवद्ध रहने छ भन्ने मैले सोचेको छु।’ उनले जनकविकेशरी धर्मराज थापा, लोककवि अलि मिया, भूपी शेरचन, लेखनाथ पौडेललाई सम्झँदै संस्कृतिमा पनि यो प्रदेशलाई धनी बनाउन लाग्ने बताए।

पृथ्वीसुब्बापछि सम्बोधन गरेका नेपाली काग्रेसका ईश्वरचन्द्र नेपालीले लिखित मन्तव्यको क्रममा कृष्णप्रसाद कोइराला, विपी कोइारालदेखि हलो क्रान्तिका नायकहरुको पनि स्मरण गरे। शहीदहरुप्रति श्रद्धाञ्जली दिन कुनै नेताले पनि छुटाएनन्। १ घण्टा ३२ मिनट चलेको सभामा बोल्दै एमालेका अर्का नेता किरण गुरुङले पनि पृथ्वीनारायण शाहलाई सम्झँदै भाषण सुरु गरे।

भाषिक एकिकरण गर्ने भानुभक्त आचार्य , शहीद लखन थापा, २००७ सालको क्रान्तिको क्रममा बन्दीपुरमा शहीद बनेका धर्मध्वज गुरुङ, चित्रबहादुर गुरुङलाई सम्झेपछि उनले विपी कोइराला र गणेशमानको नाम लिए। लमजुङमा जन्मेका कवि माधव घिमिरेलाई उनले शताब्दी पुरुषको संज्ञा दिए।

प्रतिपक्षीप्रति नम्र बनेका उनले गणितीय हिसाबले साना ठूलो भएपनि संसदको रुपमा सबै बराबर रहेको बताए। सत्तापक्ष र प्रतिपक्ष मिलेर अगाडि बढ्नुपर्नेमा उनको जोड रहेको थियो। औपचारिक समारोहपछि नेपालखबरसँगको संक्षित कुराकानीमा किरणले आफू नै मुख्यमन्त्रीको दावेदार रहेको दोहोर्‍याए।

मुख्यमन्त्रीमा दुबै गुरुङको दावी
प्रदेश–४ को सबैभन्दा ठूलो दल एमालेले माघ २८ गते संसदीय दलको नेता छान्ने जानकारी दिँदै उनले पार्टीको इन्चार्ज भएकोले आफ्नो दलको नेतामा आफ्नो दावी स्वभाविक भएको बताए। उनले एमाले संसदीय दलको गोप्य मतदानले यो विषयको टुंगो लगाउने जानकारी पनि दिए।

दलको नेताको अर्का आंकाक्षी पृथ्वीसुब्बा गुरुङले पनि दलको नेता आफै हुने ठोकुवा गरे। ‘‘यो विषय २८ गते टुंगो लाग्छ’ उनले भने, ‘सर्वसम्मत नभए चुनाव हुन्छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *