२०८१ भदौ ३० गते | 15th of September 2024

राष्ट्रिय सभाको निर्वाचन भोली, नतिजा पर्सी

खुल्लामन्च
 प्रकाशित: २०७४ माघ २३ गते १७:१७

 काठमान्डौं – २४ माघमा हुने राष्ट्रियसभा सदस्य निर्वाचनको तयारी पूरा भएको जनाएको छ। राष्ट्रियसभा निर्वाचनका लागि सबै प्रदेशमा तयारी पूरा भएको र भोलि बिहान १० देखि दिउँसो ३ बजेसम्म मतदान हुने जानकारी पनि आयोगले दिएको छ।

नेपालको संविधानमा संघीय व्यवस्थापिका प्रतिनिधिसभा र राष्ट्रियसभा गरी दुई सदनात्मक हुने व्यवस्था बमोजिम प्रतिनिधिसभाको निर्वाचन गत मंसिर १० र २१ गते दुई चरणमा सम्पन्न भइसकेको छ।

संविधानको धारा ८६ अनुसार राष्ट्रियसभामा निर्वाचक मण्डलको मतको भार फरक हुने गरी प्रत्येक प्रदेशबाट कम्तीमा तीन महिला, एक दलित र एक अपांगता–अल्पसंख्यकसहित आठ गरीे निर्वाचित ५६ सदस्य रहन्छन् भने सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत कम्तीमा एक महिलासहित तीनजना गरी जम्मा ५९ सदस्यीय राष्ट्रियसभा गठन हुने संवैधानिक व्यवस्था छ ।

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि नगरपालिकाका प्रमुख र उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष गरी जम्मा १ हजार ५ सय ६ र सातै प्रदेशबाट निर्वाचित प्रदेशसभा सदस्य ५ सय ५० गरी कूल २ हजार ५६ जना मतदाता (निर्वाचक मण्डल) छन् ।

प्रदेश–२ मा भने सबै उम्मेदवार निर्विरोध निर्वाचित भइसकेका छन्। आयोगले सो निर्वाचनका लागि छवटै प्रदेशमा उच्च अदालत रहेका स्थानमा स्थापना गरेका मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट मतदानको तयारी भइरहेको जनाइएको छ।

प्रदेश–१ को विराटनगर, प्रदेश–३ को ललितपुरको पाटन, प्रदेश–४ को पोखरा, प्रदेश–५ को दाङ, प्रदेश–६ को सुर्खेत र प्रदेश–७ को डोटीमा रहेको आयोगका निर्वाचन अधिकृतको कार्यालय नजिकका सार्वजनिक स्थानमा मतदानस्थल तोकिएको छ।

निर्वाचनका लागि प्रत्येक मतदानस्थलमा दुई मतदान केन्द्रको व्यवस्था गरिएको आयोगका सूचना अधिकारी सूर्यप्रसाद अर्यालले जानकारी दिए। अर्यालले भने, ‘प्रत्येक मतदानस्थलमा प्रदेशसभा सदस्यका लागि छुट्टै र स्थानीय तहका पदाधिकारीका लागि छुट्टै मतदान केन्द्रको व्यवस्था गरिएको छ।’

हरियो र रातो रङका चार/चार प्रकारका मतपत्र रहने छन्। यस निर्वाचनमा प्रदेशसभाका सदस्यको मतभार ४८ हुनेछ भने स्थानीय तहका पदाधिकारीको मतभार १८ हुनेछ।

मतगणनाका लागि विज्ञ
निर्वाचन हुने प्रदेशमा एकल संक्रमणीय निर्वाचन प्रणालीको गणनाका लागि तथ्यांक विभागबाट तीनजनाका दरले विज्ञ खटाइएको छ। छ वटै प्रदेशमा तीनजना विज्ञ र दुईजना प्रशासनिक गरी पाँचजनाको गणना टोली पठाइसकेको आयोगका सूचना अधिकारी अर्यालले बताए।

आयोगले सोमबार मतगणनामा खटिने राजनीतिक दलका प्रतिनिधिलाई समेत प्रशिक्षण दिइसकेको छ। आयोगले सकेसम्म भोलि २४ माघ, नभए पर्सि २५ गतेसम्म सबै पदको मतपरिणाम सार्वजनिक गरिसक्ने तयारी गरेको उनले जानकारी दिए। निर्वाचनको अनुगमनका लागि सबै प्रदेशमा सहसचिव खटाइएको छ।

राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेशअनुसार बहुपदीय पदमा एकल संक्रमणीय निर्वाचन प्रणालीका आधारमा निर्वाचन हुनेछ। नेपालको संविधानको धारा ८६ अनुसार राष्ट्रियसभा स्थायी सदन हुनेछ।

राष्ट्रियसभाको पदावधि छ वर्षको हुनेछ। तर यो संविधान प्रारम्भ भएपछि पहिलो पटक सदस्यको पदावधि कायम गर्दा गोलाप्रथाको माध्यमबाट एक तिहाइको दुई वर्ष, अर्को एक तिहाइको चार वर्ष र बाँकी एक तिहाइको छ वर्ष पदावधि कायम रहनेछ।

प्रदेश नं २ मा सबै निर्विरोध
राष्ट्रियसभा सदस्य निर्वाचनका लागि प्रदेश–२ मा सबै उम्मेदवार निर्विरोध निर्वाचित भइसकेका छन्। निर्वाचन आयोगका अनुसार यस निर्वाचनमा निर्वाचित हुने कूल ५६ पदमध्ये २४ जना उम्मेदवार निर्विरोध निर्वाचित भएका हुन्।

प्रदेश–१ मा महिला तीन र अन्य तीन गरी छ उम्मेदवार निर्विरोध निर्वाचित भएका छन्। यस प्रदेशमा अब दलित एक र अपांगता/अल्पसङ्ख्यक एक गरी दुई पदका लागिमात्र निर्वाचन हुनेछ।

प्रदेश–३ मा आठै पदमा मतदान हुनेछ भने प्रदेश नं ४ मा अपांगता/अल्पसङ्ख्यक एक पदमा उम्मेदवार निर्विरोध निर्वाचित भएकाले बाँकी सात पदका लागि निर्वाचन हुने आयोगका प्रवक्ता नवराज ढकालले बताए।

प्रदेश–५ मा महिला तीन पदमा निर्विरोध निर्वाचित भएकाले बाँकी पाँच पदमा निर्वाचन हुनेछ । प्रदेश नं ६ मा सबै पदमा निर्वाचन हुँदैछ। त्यस्तै प्रदेश–७ मा महिला तीन र अन्य तीन गरी छ पदमा उम्मेदवार निर्विरोध भएकाले अब दलित एक र अपांगता÷अल्पसङ्ख्यक एक गरी दुई पदमा मात्र निर्वाचन हुने आयोगले जनाएको छ।

आयोगका अनुसार अब निर्वाचित हुन बाँकी ३२ पदका लागि ५२ जना उम्मेदवार प्रतिस्पर्धामा छन्।

10 thoughts on “राष्ट्रिय सभाको निर्वाचन भोली, नतिजा पर्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *