नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेपाली कांग्रेस अब रुपान्तरण भई सांगठनिकरुपमा मजबुत बनिरहेको बताएका छन्।
नेपाल प्रेस युनियन मोरङद्वारा आज विराटनगरमा आयोजित पत्रकार भेटघाटमा उनले कांग्रेसले निर्वाचनका बेला आफूले गरेका राम्रा कामबारे जनतालाई अवगत गराउन नसक्दा पराजय बेहोर्नुपरेको उल्लेख गरेका हुन्।
पार्टीभित्र देखिएका कमीकमजोरी हटाउनुपर्ने र प्रत्येक प्रदेश, जिल्ला र गाउँ-गाउँसम्म पार्टीलाई सांगठनिकरुपमा मजबुत बनाउनुपर्ने आवश्यकतालाई उनले औँल्याए। उनका अनुसार नयाँ सरकार गठनलगत्तै पार्टी केन्द्रीय समितिको बैठक बस्नेछ र पार्टीको विधान संशोधनलगायतका विषयमा आवश्यक निर्णय लिन महासमितिको बैठक डाकिनेछ।
वर्तमान सरकारले स्थानीय तहका साथै प्रतिनिधि र प्रदेशसभाको निर्वाचन सफलतापूर्वक सम्पन्न गरेको उल्लेख गर्दै उनले पछिल्लो समयमा वृद्धभत्ताका लागि उमेर घटाउन जस्ता निर्णय जनहितमा रहेको दावी समेत गरे।रासस