२०८१ चैत १२ गते | 26th of March 2025

राजेन्द्र खनाल ‘क्षितिज’को प्रेमिल कविता कृति “कर्ड अफ रोमान्स”को लोकार्पण

खुल्लामन्च
 प्रकाशित: २०७४ फागुन ५ गते १७:१३

पुष्पा खनाल / काठमाडौ – स्रष्टा राजेन्द्र खनाल “क्षितिज“को प्रेमिल कविता कृति “कर्ड अफ रोमान्स“ आज लोकार्पण भएको छ । नेपाल स्रष्टा समाजको आयोजनामा कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ कवि शैलेन्द्र साकारले कृतिको लोकार्पण गर्नुभएको हो ।

प्रमुख अतिथिको मन्तव्य दिँदै वरिष्ठ कवि शैलेन्द्र साकारले भन्नुभयो : “कवि खनालको प्रेम र प्रणयको राम्रो उदाहरण पेश गरिएको कृति र त्यसको अङ्ग्रेजी अनुवादले विश्व बजारमा नेपाली साहित्यलाई चिनाउन राम्रो भूमिका खेल्ने छ ।” साहित्यिक पत्रकार सङ्घका अध्यक्ष, कार्यक्रमका विशिष्ट अतिथि नगेन्द्रराज शर्माले खनालका कविताले आफूलाई यौवनावस्थामा पुर्याएको बताउँदै खनालको कृतिले विश्व बजारमा स्थान लिन सफल होस् भन्ने कामना गर्नुभयो ।

कार्यक्रमका अध्यक्ष नेपाल स्रष्टा समानका अध्यक्ष पवन आलोकले नेपाल स्रष्टा समाजले यस्ता कृति प्रकाशन गर्न पाउनु समाजका लागि पनि महत्वपूर्ण भएको बताउँदै आगामी दिनमा नेपाली साहित्य भण्डारलाई धनी बनाउन कवि खनाललाई अनुरोध गर्नुभयो । मेघदूतमा प्रस्तुत प्रेमको उच्चतम विन्दुको उदाहरण प्रस्तुत गर्दै नेपाल स्रष्टा समाजका उपाध्यक्ष, प्राध्यापक, कवि विधान आचार्यले खनालका कविताहरूमा प्रणयलाई प्राथमिकतामा राखी प्रेमको एउटा पाटोलाई राम्ररी चित्रण गरिएको बताउनुभयो ।कर्ड अफ रोमान्स कवि खनालको वि.सं. २०५२ सालमा प्रकाशित कृति मृगनयनीको अङ्ग्रेजी रूपान्तरण हो । यस कृतिलाई प्राध्यापक तथा समालोचक महेश पौड्यालले अनुवाद गर्नुभएको हो ।

हरेक सिर्जनालाई कलाको दृष्टिकोणले हेर्नुपर्ने बताउँदै अनुवादक, समालोचक, उप–प्राध्यापक महेश पौड्यालले भन्नुभयो : कवि खनालका कविता विम्व विधानमा समाहित, लालित्यपूर्ण छन् र कविमा गीति चेतना अव्बल रहेको छ । यौन, आकर्षण, र जीवनलाई विम्व प्रयोगको माध्यमबाट कवि खनालले प्रस्तुत गर्नुभएको समालोचक, उप–प्राध्यापक जिवनाथ लम्सालले बताउनुभयो ।

प्रेम महासागर भएको र पौडिन जानेमात्र तर्न सकिने बताउँदै कवि खनालले आफूले देखेका कुरालाई शव्दको माध्यमबाट उतारेको बताउनुभयो । साहित्यको अन्तर्रा्ष्ट्रियकरणका लागि कृतिको अनुवाद गरेको पनि उहाँले बताउनुभयो । मिस अर्थ २०१३ रोजिसा शाही ठकुरीले अध्ययन र वृति विकासको कारण युवापुस्ताले कला र साहित्यलाई भुलिसकेको बताउँदै कवि खनालका कविताले आफ्नो पुस्तामा कलाचेतको विकास गर्न सक्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा साहित्य जगतका विशिष्ट व्यक्ति व्यक्तित्वहरूको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन नेपाल स्रष्टा समाजका महासचिव चेतनाथ कडेलले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *