२०८१ वैशाख २१ गते | 3rd of May 2024

सलमान खानको कार्यक्रम हुन नदिने विप्लब माओवादीको घोषणा

खुल्लामन्च
 प्रकाशित: २०७४ फागुन १४ गते १९:२१

काठमान्डौं – नेत्रविक्रम चन्द विल्पब नेतृत्वको नेकपा माओवादीले भारतीय नायक सलमान खान नेपाल बिरोधि भएको भन्दै नेपालमा हुन लागेको कार्यक्रम असफल बनाउने घोषणा गरेको छ। विप्लव माओवादीले मदिराको प्रोमोशनका लागि दशौं हजारको टिकट बेचेर नेपालमा सलमानको कार्यक्रम गर्ने कुरा आफूहरुलाई मान्य नहुने बताएको छ।

विप्लव माओवादीसम्वद्ध अखिल नेपाल जनसाँस्कृतिक महासंघले सोमबार सलमानको कार्यक्रमविरुद्ध औपचारिकरुपमा वक्तव्य जारी गर्ने र त्यो गर्दा पनि कार्यक्रम स्थगित नगरिए आन्दोलनको घोषणा गर्ने जनाएको छ। महासंघका महासचिव खेम थपलियाले नेपाल र नेपालीहरुलाई दुःख पर्दा सहयोग गर्नुको सट्टा सहानुभूतिसमेत प्रकट नगर्नेहरुलाई ल्याएर नेपालमा कार्यक्रम गर्नुको कुनै औचित्य नरहेको भन्दै नेपाली कलाकारहरुलाई उपेक्षा गरेर नेपालविरोधीहरुलाई नचाउने कुरा आफूहरुलाई अमान्य रहेको बताए ।

‘सलमान नेपाल र नेपालीको मायाका लागि आउन लागेका होइनन् । नेपाली कलाकारहरुलाई उपेक्षा गरेर विदेशीलाई करोडौं तिरेर राजधानीको मुटुमा नचाउने कुरा कुनै पनि नेपालीलाई मान्य हुँदैन । भूकम्पमा हजारौं नेपाली छटपटाएको बेला सहयोग गर्न इन्कार गर्नेलाई ल्याएर कार्यक्रम गर्ने कुराप्रति हाम्रो घोर आपत्ति छ ’ उनले भने। बहुराष्ट्रिय कम्पनी कार्सबर्गको लगानी रहेको गोर्खा ब्रुअरीले आफ्ना वियरहरुको प्रवद्र्धनका लागि सलमानसहित आधा जर्दन भारतीय कलाकारलाई ल्याएर सैनिक मंच टुँडिखेलमा कार्यक्रम आयोजना गर्न लागेको हो । त्यसका लागि उसले सलमानलाई मात्रै ११ करोड रुपियाँ भन्दा बढि खर्च गर्न लागेको छ।

नेपालका विवादास्पद व्यवसायी राजेन्द्र खेतानको समेत केही लगानी रहेको गोर्खा ब्रुअरीले कर नतिरेको विषयमा उक्त कम्पनी र कर कार्यालयलाई यही फागुन १५ गते सर्वोच्च अदालतले बोलाएको छ । यसअघि पनि उक्त कम्पनीले कर नतिरेपछि गोर्खा ब्रुअरीले खेतान ग्रुपको ३० प्रतिशत सेयर आफूले लिएर व्यवस्थापन समेत आफैले लिएको थियो । त्यसपछि चुडामणि शर्माको कर फर्छौयौट आयोगबाट ८७ करोड रुपैयाँ भन्दा बढि कर छुट लिएको थियो । विप्लव माओवादीले नेपालमा कर तिर्न नसक्नेले भारतीय कलाकारलाई करोडौं रुपैयाँ तिरेर कसरी कार्यक्रम गर्न सक्छ भन्दै गोर्खा ब्रुअरीको नियतमाथि प्रश्न उठाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *