काठमाडौँ । नायिका रेखा थापासँग छुट्टिएपछि एक्लै रहँदै आएका निर्माता छविराज ओझाले नायिका शिल्पा पोखरेलसँग विवाह गर्ने भएका छन्।
चलचित्र ‘मंगलम्’को प्रचार–प्रसारका लागि नेपालगन्ज आएका यी जोडीले आफूहरु छिट्टै विवाह बन्धनमा बाँधिन लागेका जानकारी दिएका हुन्।
सोमबार सञ्चारर्कीसँग कुरा गर्दै निर्माता ओझाले आफू र शिल्पा छिट्टै विवाह गर्ने जानकारी दिए। उनले शिल्पाको परिवारसँग पनि कुरा गरिसकेको जनाउँदै विवाहका लागि शिल्पाको परिवारको पनि स्वीकृति रहेको बताए।
नायिका शिल्पालाई छविले नै फिल्मी क्षेत्रमा प्रवेश गराएका हुन् । रेखासँग सम्बनध विच्छेद भएपछि छविका सबै फिल्ममा शिल्पाले नै प्रमुख भूमिका पाउँदै आएकी छन् भने ‘मंगलम्’मा आइपुग्दा छविले शिल्पालाई निर्मात्रीसमेत बनाएका छन् ।
शिल्पासँग छविको सुरुवातदेखि नै नाम जोडिँदै आएको छ। आफूहरु एउटै क्षेत्रमा काम गर्ने भएको हुँदा नाम जोडिनुलाई अनौठो मान्दैनन् छवि। ‘‘हामी एउटै क्षेत्रमा सँगै काम गरिराखेका छौं, यसमा नाम जोडेर चर्चा हुनु नौलो होइन’, उनले भने ।
आगामी वैशाखमा बिहे गर्नेगरी यो जोडी तयारीमा लागेको छ ।
छविसँग विवहाको कुरा पक्का भएको भन्दै नायिका शिल्पा पोखरेलले वैशाखमा विवाह गर्ने तयारीमा रहेको जानकारी दिइन्। उनले भनिन्, ‘हाम्रो फिल्म फागुन २५ मा रिलिज हुँदै छ। फिल्मको रिलिजसँग हामीहरु विवाहको तयारीमा लाग्छौँ ।’