काठमान्डौं – गत बुधबार पेस्तोल र गोलीसहित पक्राउ परेका गणेश लामालाई रिहाइको माग गर्दै मसाल जुलुस निकाल्ने क्रममा प्रहरी र नेपाली कांग्रेस कार्यकर्ताबीच झडप भएको छ।
आज बेलुका करिब ६ बजेतिर बनेपाको गोदामचोकस्थित नेपाली काँग्रेस पार्टी कार्यालयबाट निकाल्न लागिएको जुलुसमा दोहोरो झपड भएको हो।
मसाल जुलुस निकाल्ने क्रममा प्रहरीले मसाल खोसेपछि काँग्रेसका कार्यकर्ताले ढुंगा प्रहार गरेका थिए। जुलुस शुरु गर्नुअघि कांग्रेसका नेता कार्यकर्ताले गणेश लामालाई रिहाइ गर, प्रहरी दमन बन्द गरलगायतका नारा लगाएका थिए। झडपका क्रममा नेपाली काँग्रेसका करिब २० जना कार्यकर्ता घाइते भएको र उनीहरुको टाउको, हात, खुट्टा र ढाडमा चोट लागेको नेपाली काँग्रेस काभ्रे जिल्ला सभापति मधुप्रसाद आचार्यले बताए।
कांग्रेसका कार्यकर्ताले पार्टी कार्यालय गोदामचोकबाट चार दोबाटोसम्म आएर नाराबाजी गरेका थिए। सो क्रममा सडकमा करिब एक घण्टा सवारी आवागमनसमेत बन्द भएको थियो। जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकको प्रहरी प्रमुख प्रहरी उपरीक्षक सहकुलबहादुर थापाले राँके जुलुस निकाल्न खोजेपछि खोस्ने क्रममा प्रहरीमाथि ढुंगामुढा गरेको र भीडलाई हटाउने क्रममा अश्रुग्यास प्रहार गर्नुपरेको बताए । रासस