केही दिनदेखि प्रदेश ३ की उपसभामुख राधिका तामाङले गाईको बधका सम्बन्धमा केही बोल्नुभएको र त्यसमा मैले प्रतिक्रिया दिएको भन्ने समाचार सामाजिक सञ्जालमा यत्रतत्र घुमिरहेका छन्। माननीय राधिका तामाङले यस सम्बन्धमा के बोल्नुभएको हो भन्ने मलाई जानकारी छैन। थाहै नभएको विषयमा मैले प्रतिक्रिया दिने कुरै भएन। तर यसो हुँदाहुँदै थुप्रै अनलाइन पोर्टल र सामाजिक सञ्जालमा यसबारे समाचार बनेका छन्। र, चर्चा भइरहेका छन्। हुन त मेरो निम्ति यो नौलो कुरा होइन।
मेरो नाम राखेर फेक फेसबुक पेज चलाइएका छन्। फ्यान पेजको नाममा फेसबुकमा अत्यन्त गैरजिम्मेवार क्रियकलाप भएका छन्। त्यहाँबाट बेला बेलामा तातोपिरो खालको प्रायोजित समाचार दिनेकाम भइरहेको छ। संसदीय दलको निर्वाचनयता यो तेस्रो प्रायोजित अर्थात् ‘फेक’ समाचार हो। पहिलो नेपाली कांग्रेस हार्नुका तीन कारण, दोस्रो क्रिस्चियन धर्मको प्रचारमा गगन थापा, तेस्रो अहिले गाईप्रतिको अभिव्यक्ति।
यसअघि केही सन्दर्भमा मैले सामाजिक सञ्जालको दुरुपयोग गर्दा कानुनको सहारा लिन विवश हुनु परेको थियो। यस्तो अवस्था नआवस् भन्ने म चाहन्छु। तर सधैँ मान्छेहरु आफ्नो सीमाभित्र नबस्दा कानुनको शरणमा जानुको अर्को विकल्प रहँदैन। थुप्रै अनलाइनहरुले पनि यो समाचार बनाएका छन्। तपाइँहरुमध्ये धेरैलाई थाहा छ। जुन स्रोतबाट तपाइँहरुले गाई काट्नेबारेको सामग्री लिनु भएको छ त्यो मेरो पेज होइन। फेसबुकले मेरो आधिकारिक पेजलाई निलो टिक लगाइदिएको छ। यो जान्दाजान्दै पनि केहीबेर समाचार हेर्नेहरुको संख्या बढ्छ, साइट चल्छ भन्ने नाममा गैरजिम्मेवारपूर्ण ढंगले प्रस्तुत हुँदा त्यसले ठूलो जनमानसलाई ‘मिसलिड’ गर्ने काम गरेको छ।
यसले हामी कसैलाई पनि राम्रो गर्दैन। मलाई सबैभन्दा बढी अचम्म लागेको, दुःख लागेको चाहिँ सामाजिक सञ्जालमा यस्ता खुराक लिएर क्रियाशील थुप्रै साथीहरु देखेर हो। यस्तो ‘फेक’ समाचार तपाइँहरुजस्ता साथीहरुलाई सजिलैसँग मुर्ख बनाउन सकिन्छ भनेरै आउने हो। तपाइँहरु कुरै नबुझी त्यस्ता सामग्रीपछि लाग्नुहुन्छ। कतिपय साथीहरु मलाई भनिरहनु भएको हुन्छ तपाइँ किन यो बारेमा बोल्नुहुन्न? म तपाइँहरुले बनाएको जनप्रतिनिधि हुँ। मेरा आफ्ना जिम्मेवारी र सीमाहरु छन्। कसले कहाँ मेरोबारेमा प्रायोजित समाचार बनायो भनेर पछ्याउने र तिनमा प्रतिक्रिया दिइरहनेभन्दा अरु महत्वपूर्ण काम छन्। यस्ता कतिपय कुराहरु तपाइँहरुले पनि छुट्याउन सक्नुपर्छ।
मैले पटक पटक भनेको छु मेरो भेरिफाइड पेजबाट आएको सामग्री मात्र पत्याइिदनु होला। कागले कान लग्यो भनेर त्यसकै पछि लाग्नु मुर्ख बन्नु हो। तपाइँहरु मुर्ख नबन्नु होस् भन्ने मेरो आग्रह छ। आज मात्रै थाहा पाएँ माननीय राधिका तामाङले यो नियोजित सामग्रीबारे प्रेस विज्ञप्ति निकाल्नु भएको रहेछ। त्यसैले यो हुँदै नभएको एउटा घटनालाई सामाजिक सञ्जालबाट सिर्जनागरी अतिरञ्जित गरिएको छ। अत्यन्त सम्वेदनशील र धार्मिक आस्था जोडिएको यो घटना पूरै नियोजित हो।
हिन्दू र कांग्रेस दुवै उदार
मैले दुनियाँलाई हेर्ने एउटा दृष्टिकोण छ, एउटा नजरिया छ। मेरो एउटा आँखा मेरो धार्मिक आस्था, विश्वास हो। अर्को मैले मानेका ऐन, कानुन र संविधान हो। म एक हिन्दू हुँ। हिन्दू परिवारमा जन्मेको कारणले मात्र होइन यसका केही कारण छन्। त्योमध्येको एउटा कारण सांस्कृतिक पक्ष हो। हिन्दू संस्कृतिले मलाई एउटा दृष्टिकोण दिएको छ। मान्छेलाई धर्म, आस्था र संस्कृति छनोट गर्न दिनुपर्छ। खाली उसले अरु कसैको आस्थामा चोट पुर्याउनु हुँदैन। मेरा निम्ति हिन्दू कुनै एउटा दैवी शक्तिमाथि विश्वास वा सम्प्रदाय होइन। हिन्दू मेरो जीवनशैली हो, जीवनको मार्ग हो। हजारौं वर्षदेखि यो भूभागमा हाम्रा पुर्खाहरुले यो संस्कृति मान्दै आएका छन्। यसलाई समृद्ध बनाउँदै ल्याएका छन्। त्यसको एउटा अंग हुन पाउँदा मलाई गौरव लाग्छ।
मलाई नेपाली कांग्रेस पार्टीले राजनीतिमा उदार लोकतान्त्रिक सोच दिएजस्तै हिन्दू धर्म संस्कृतिले जीवनलाई हेर्ने एउटा उदार सोच दिएको छ। सहिष्णुताका साथ अरुको धार्मिक आस्थालाई सम्मान गर्ने दृष्टिकोण दिएको छ।
हाम्रो संविधानले सबै धर्म, जात वर्णलाई समानताको हक दिएको छ। आफ्नो धर्ममा आस्था राख्ने र धर्म अभ्यास गर्न पाउने स्वतन्त्रता दिएको छ। तर धार्मिक अभ्यास र धर्म परिवर्तन गर्ने काम गर्दा अरुको धार्मिक आस्था खल्बल्याउन पाइँदैन। हाम्रो संविधानमा धर्म निरपेक्षता भन्ने उल्लेख छ। यसको अंग्रेजी अनुवाद ‘सेकुलरजिम’ हुन्छ। पश्चिमा देशहरुले भन्ने गरेको ‘सेकुलरजिम’ शब्द परे पनि हाम्रो संविधानले सनातन धर्मको रुपमा यसलाई व्याख्या गरेको छ।
पश्चिमा देशहरुमा ‘सेकुलरजिम’ को अभ्यास के कसरी भएको छ र हाम्रो संविधानको व्याख्या के छ भन्नेमा ठूलै सैद्धान्तिक बहस छ। पश्चिमा देशहरुले अभ्यास गरेजस्तो व्यवस्थालाई हाम्रो संविधानले इन्कार गर्छ। धर्म निरपेक्षता भनेको सनातनदेखि चल्दै आएको हिन्दू, बौद्ध, किराँत विभिन्न जनजातिहरुले मान्दै आएका धर्महरु हुन्। संविधानको व्यवस्था के पनि हो भने नेपालभित्र कसैलाई धार्मिक आस्थाको आधारमा भेदभाव गर्न पाइँदैन।
संविधानले जुन व्यवस्था गरेको छ यस आधारमा नेपालभित्र धार्मिक आस्थाको आधारमा कोहीसँग भेदभाव गर्न पाइँदैन। सनातनदेखि चल्दै आएको धर्म संस्कृति सम्वद्र्धन सरकार वा राज्यले मात्र गर्न सक्ने कुरा होइन। कतिपय सन्दर्भमा विवेकका आधारमा पनि हेर्नुपर्छ। त्यसैले मेरो विनम्र अनुरोध छ– हामीले एक अर्काका सांस्कृतिक मूल्यलाई सम्मान गरौं। यो जति सम्वेदनशील छ त्यति नै गाह्रो पनि छ। धर्मकै नाममा राजनीतिकरण हुँदै गर्दा कतिपय देशहरु सकिएका छन्। छिमेकी देश भारतमै यसले बितण्डा भइरहेको छ। हाम्रो देशमा एक किसिमको सुदृढ समाज सद्भावपूर्ण छ।
हिन्दू धर्म मान्नेले इस्लाम धर्म मान्नेको सन्दर्भमा, किराँत धर्म मान्नेले हिन्दू धर्म मान्नेका सन्दर्भमा, हिन्दू धर्म मान्नेले बौद्ध धर्म मान्नेका सन्दर्भमा एक अर्काका हाम्रा सांस्कृतिक क्रियाकलाप छन् तिनलाई स्वीकारौं। अरुलाई चोट नपु¥याई आ–आफ्ना सांस्कृतिक अभ्यास गरौं।
(प्रदेश ३ की उपसभामुख राधिका तामाङ र गगन थापाबीच छद्म सवाल–जवाफ सिर्जना गरी सामाजिक सञ्जाल र अनलाइनहरुमा समाचार आएपछि त्यसविरुद्ध कांग्रेस नेता गगन थापाले फेसबुक लाइभमार्फत् दिएको मन्तव्यको सम्पादित अंश)