लालबाबु पण्डित इमान्दार र लोकपृय नेता हुन् । उनको सादा जीवन र नैतिक धरातल प्रशंसनीय छ । अघिल्लोपल्ट सामान्य प्रशासन मन्त्री भएको बेला उनले कर्मचारी प्रशासनलाई चुस्त तथा दुरूस्त राख्न गरेको प्रयत्नको सबैतिरबाट प्रशंसा भयो । अझ सुबिधाको रूपमा पाइने विदाको उपयोग गर्दै आफ्नो जागिरलाई थाती राखी बिदेशमा पिआर वा ग्रिन कार्ड लिएर बस्नेहरूलाई कानूनको दायरामा ल्याउन उनले गरेको प्रयत्न सर्वत्र चर्चाको बिषय बन्यो । त्यसै बेला पनि उनले जोशिएर गैर कर्मचारीहरू जो बिदेशमा छन् तिनीहरूलाई समेत एउटै डालोमा हालेर गरेको कटु शब्द प्रहारको पनि उत्तिकै आलोचना भएको थियो । त्यसबेला मलाई लागेको थियो पण्डितजीले ग्रिन कार्ड र पिआर बारे प्राविधिक ज्ञानको कमीले त्यसो भनेका होलान् ।
तर हालै सुमनसंग मनका कुरा कार्यक्रममा उनले फेरि पनि अझ घमण्डपूर्ण ढङ्गबाट बिदेशमा बस्ने नेपालीहरूलाई गरेको गाली सुन्दा उनी अति प्रशंसाबाट पुलपुलिएका झै देखिए । उनलाई सुमनले धेरै पटक पिआर र ग्रिन कार्ड कस्तो स्टाटस हो भन्ने बुझाउने प्रयत्न गर्दा पनि आफ्नो ढिपीमा अडिरहे । आफूनो भनाईमा अडिन सक्नु राम्रो कुरा हो तर नबुझेको कुरामा ढिपी गर्नु पनि आफ्नै मूर्खता हो । लालबाबु पण्डित उस्तो ठूलो मानिस होइनन् । उनले जे भने त्त्यसका लागि धेरै प्रतिकृया नगर्दा पनि हुने नै हो तर उनी सामान्य पार्टी कार्यकर्ता वा सांसद मात्र होइनन् । उनी नेपाल सरकारका क्याविनेट मन्त्री पनि हुन् । त्यसैले उनको भनाइ अब उनको मात्र हुदैन । त्यसले धेरै हदसम्म सरकारको ध्वनीको पनि अर्थ राख्छ ।
मैले यहाँ नबुझेको कुरा के हो भने नेपालको सम्बिधान २०७२ मा यदि उनले सही गरेका छैनन् भने बेग्लै कुरा हो । होइन भने सरकारको मन्त्रीलाई सम्बिधानको बिरूद्ध बोल्ने छुट पनि हुन्छ होला र ! उनले सम्बिधानको धारा 291 लाई टेकेर जिद्दी गरिरहदा सम्बिधान भाग दुईको नागरिकता सम्बन्धि महलको बुदा १४ मा उल्लेख भएको निम्न कुरा नपढेको बुझियो । कृपया कसैले उनलाई यो कुरा पढ्न सुझाइ दिए राम्रो हुन्थ्यो कि !
उक्त बुदामा यस्तो लेखेको देखिन्छ – गैर आवासीय नेपाली नागरिकता प्रदान गर्न सकिने:
विदेशी मुलुकको नागरिकता प्राप्त गरेको दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठनको सदस्य राष्ट्र बाहेकका देशमा बसोबास गरेको साविकमा वंशजको वा जन्म आधारमा निज वा निजको बाबु वा आमा, बाजे वा बज्यै नेपालको नागरिक रही पछि बिदेशी मुलुकको नागरिकता प्राप्त गरेको व्यक्तिलाई संघीय कानून बमोजिम आर्थिक, सामाजिक र साँस्कृतिक अधिकार उपयोग गर्न पाउने गरी नेपालको गैरआवासीय नागरिकता प्रदान गर्न सकिनेछ ।
यो बुदाको आधार लिंदा लालबाबुको भूपु नेपाली शब्दावली कहानेर मेल खाला ! मैले बुझ्न सकेको छैन । उनले उल्लेख गरेको धारा 291मा
यस्तो रैछ –
नियुक्तिका लागि योग्य नहुने-
यस सम्बिधानमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि विदेशको स्थायी आवासीय अनुमती पत्र लिएको नेपालको नागरिक यस सम्बिधान बमोजिम निर्वाचन, मनोनयन वा नियुक्ति हुने पदमा निर्वाचित, मनोनित वा नियुक्तिको लागि योग्य हुने छैन ।
तर त्यस्तो विदेशको स्थायी आवासीय अनुमति पत्र त्यागेको व्यक्तिलाई कम्तीमा तीन महिनाको अवधि व्यतित भएपछि त्यस्तो पदमा निर्वाचित, मनोनीत वा नियुक्ति गर्न बाधा पर्ने छैन ।
सम्बिधानमा यसरी स्पष्ट उल्लेख भएको कुरालाई बेवास्ता गर्दै आफ्नै नेपाली नागरिकलाई बिना कारण गाली गलौज गर्नु ठीक नभए जस्तो लाग्छ । आगे यहाँहरूको बिचार ।