काठमान्डौं – आज पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलनमा नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण लगायतका विषयमा पार्टीको धारणा प्रस्तुत गरेको छ । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले अर्थतन्त्रलाई नकारात्मक देखाउन सरकारले आफ्नो अनुकुल तथ्यहरुलाई समेटेर सरकारले श्वेतपत्र ल्याएको बताए ।प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले अबौद्धिक र अव्यवसायिक मुचुल्का रहेको ठहर गर्दै श्वेतपत्रबारे कांग्रेसले आज पत्रकार सम्मेलन गरी २४ बूँदे आलोचना सार्वजनिक गरेको हो ।
श्वेतपत्रका नाममा सरकारले इतिहास आजबाट सुरु हुन्छ भन्ने देखाउन खोजेको कांग्रेसको आरोप छ ।‘सबै खराबै खराब छ र कांग्रेस नेतृत्वको सरकारले खराब गरेको हो भनेर प्रस्तुत गर्न खोज्नु भएको छ’ कांग्रेस नेता प्रकाशशरण महतले भने, ‘उहाहरु आफ्नो चुनावी बाचाबाट भाग्न खोज्नु भएको छ ।’ अर्थतन्त्रको सकारात्मक पाटोहरु सबै नजर अन्दाज गरेर कतिपय कमजोरीको अतिरञ्जनापूर्ण प्रस्तुति गरिएको भन्दै श्वेतपत्रले सिर्जना गरेको भ्रम चिर्ने आफूहरुको कर्तव्य रहेको कांग्रेसको विज्ञप्तिमा उल्लेख छ।
बितेको २५ वर्षमा ६२ गुणाले राजस्व वृद्धि भएको तथ्यलाई श्वेतपत्रमा कतै उल्लेख नभएकोमा कांग्रेसले प्रश्न उठाएको छ। श्वेतपत्रलाई नेपाली कांग्रेसले सरकारको ‘लालपत्र’को संज्ञा दिएको छ ।