२०८१ जेठ ४ गते | 17th of May 2024

भाईलाई आइजीपी बनाउन राष्ट्रपती भण्डारीद्दारा प्रधानमन्त्रीलाई दवाव

खुल्लामन्च
 प्रकाशित: २०७४ चैत २६ गते ११:३९

काठमाडौं – नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) नियुक्तिमा राष्ट्रपति विद्यादेवी भण्डारीले चासो देखाउन थालेकी छिन् । राष्ट्रपति भण्डारीले प्रधानमन्त्री केपी ओलीलाई आफ्नो भाईलाई आइजीपी बनाउन ठाडो दबाब दिएकी हुन्।

माओवादी नेतृत्व र अध्यक्ष ओलीसहित एमालेका अधिकांश नेता एक नम्बर वरियतामा रहेका सर्वेन्द्र खनाललाई आईजीपी बनाउन सकारात्मक रहेका बेला राष्ट्रपति भण्डारीले शीतल निवासबाट जसरीपनि आफ्नो भाई आईजीपी बन्नुपर्ने भन्दै प्रधानमन्त्री ओलीलाई दबाब दिएको स्रोतले बतायो। पछिल्लो समय एमालेमा भण्डारी हाबी हुँदै गएको र शीतल निवासबाटै गुट चलाइरहेको आरोप लागेका बेला भाईलाई आइजीपी बनाउन उनको चर्काे दबाब ओलीलाई आएको हो।

राष्ट्रपति भण्डारीले आईजीपीमा आफ्नै गृहजिल्ला भोजपुरका डिआईजी पुष्कर कार्कीलाई अगाडि बढाएकी छिन् । स्रोतका अनुसार भणडरीले प्रधानमन्त्री ओलीलाई कार्कीलाई नै आईजीपी बनाउन दबाब दिएकी छिन् । जसरी हुन्छ मेरा भाई कार्की आईजीपी हुनुपर्छ, जसरी मिलाउनुहुन्छ मिलाउनुस् भनेर भण्डारीले दबाब दिएपछि प्रधानमन्त्री ओली तनावमा परेका छन्। सर्वेन्द्र खनालका नाममा माओवादीले समेत सहमति जनाइसकेका बेला ३ नम्बर वरियतामा रहेका कार्कीको पक्षमा भण्डारीले दबाब दिएपछि अब ओलीले फेरि माओवादी नेतृत्वसँग कुरा गर्नुपर्ने भएको छ। आइजीपी नियुक्तिको सिफारिस गर्ने गृहमन्त्रालय पनि माओवादी केन्द्रले सम्हालिरहेको अवस्था प्रधानमन्त्री ओली झनै अप्ठेरोमा परेका हुन्।

चैत २९ गते नेपाल प्रहरी र सशस्त्र प्रहरीको महानिरीक्षक रिक्त हुँदैछ । उमेरहदका कारण नेपाली प्रहरीका आईजीपी प्रकाश अर्याल र सशस्त्रका आईजीपी सिंहबहादुर श्रेष्ठले अनिवार्य अवकाश पाउँदैछन् । सोही कारण दुवै प्रहरी संगठनमा कसलाई आईजीपी बनाउने भन्ने विषयमा प्रधानमन्त्री केपी ओली र प्रचण्डबीच छलफल हुने बताइएको छ ।

नेपाल प्रहरीको आईजीपीमा डीआईजी सर्वेन्द्र खनाल, रमेश खरेल र पुष्कर कार्कीबीच प्रतिस्पर्धा छ । आठ महिने कार्यसम्पादनको मूल्यांकनका आधारमा तीमध्ये एकजना आईजीपी बन्नेछन् । गृह मन्त्रालय माओवादी केन्द्रको भागमा परेकाले प्रचण्ड र गृहमन्त्री थापाले तीमध्ये जसलाई बनाउन चाहन्छन्, उनै आईजीपी बन्ने निश्चित छ ।

भण्डारी र कार्की नाताले दिदी भाइ हुन् । फुपूको छोरा भएकाले राष्ट्रपति भण्डारीले कार्कीलाई आईजीपी बनाउन चर्काे प्रेसर दिएको बताइन्छ । राष्ट्रपति भण्डारीले जसरी पनि आईजीपी बनाउने भनेर ‘ग्रिन सिग्नल’ दिएपछि आइतबारदेखि डीआईजी कार्कीको ‘बडी ल्यांग्वेज’ नै फरक देखिएको प्रहरी प्रधान कार्यालयका उच्च प्रहरी अधिकृतको भनाइ छ ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सशस्त्र प्रहरी महानिरीक्षकमा शैलेन्द्र खनाललाई बनाउन गृहमन्त्री थापालाई निर्देशन दिइसकेको बुझिएको छ । खनाल सिनियर प्रहरी अधिकृत हुन् ।-

Leave a Reply

Your email address will not be published. Required fields are marked *