काठमाडौं – नेपाल प्रहरीको नयाँ प्रमुख प्रहरी महानिरीक्षक (आईजीपी)मा डीआईजी सर्वेन्द्र खनाल नियुक्त भएका छन् भने शसस्त्र प्रहरीको महानिरीक्षकमा शैलेन्द्र खनाल नियुक्त भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली, सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री रामबहादुर थापा बादलबीच सहमति भएपछि दुबै जनालाई नियुक्त गरिएको हो ।
प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्ति गर्न मंगलबार विहान बसेको मन्त्रिपरिषद बैंकमा टुङगो नलागेपछि दोस्रो पटक मंगलबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकमा निर्णय गरेको छ ।
संगठनमा प्रहरी नायब महानिरीक्षकको वरियतामा दुवै जना शीर्षस्थानमा थिए । नेपाल प्रहरीका महानिरीक्षक प्रकाश अर्याल र सशस्त्रका महानिरीक्षक सिंहबहादुर श्रेष्ठ तीस वर्षे अवधिका कारण भोलि बुधबारदेखि अवकाशमा जाँदै छन् ।
नेपाल प्रहरीमा सर्वेन्द्र खनाल, रमेश खरेल र पुष्कर कार्की दाबेदार थिए भने सशस्त्रमा शैलेन्द्र खनाल र पुष्पराम केसी आइजीपीको दावेदार रहेका थिए ।