अस्ट्रेलिया – प्रजातान्त्रिक समाजवादको अभियानलाई अझ शशक्त बनाउँदै अघि बढ्ने प्रतिबद्धता सहित इन्टरनेशनल पोलिटिकल फोरमको बैठक अष्ट्रेलियाको सिड्नीमा सम्पन्न भएको छ । नेपालको तर्फबाट सहभागी नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलका अनुसार आपसी भाईचारा अभिवृद्धि गर्दै कानुनी शासनमा आधारित समुन्नत समाज निर्माणका लागि प्रजातान्त्रिक समाजवादको विकल्प नरहेको निष्कर्ष समेत बैठकले निकालेको छ ।

अष्ट्रेलियन लेबर इन्टरनेशनलको आयोजनामा भएको बैठकले जुनसुकै आवरणमा हुने अतिवादको शशक्त प्रतिवाद गर्दै प्रजातान्त्रिक समाजवादको सिद्धान्तमा आस्थावानहरुको संजाललाई थप संगठित बनाउने निर्णय गरेको छ ।
बैठकमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले प्रजातान्त्रिक समाजवादको अभियानलाई कमजोर बनाउने गिरोह विरुद्ध विशेष रणनीति सहित अघि बढ्नु पर्ने धारणा राख्नु भएको थियो । ‘झुटो नबोल्ने, प्रोपोगाण्डा गर्न नसक्ने जस्ता समाजवादी कार्यकर्ताहरुको कमजोरीको फाइदा उठाउँदै समग्र प्रजातान्त्रिक समाजवादको अभियानमाथि धावा बोल्ने समुह हावी हुँदै जानु गम्भीर चिन्ताको विषय हो’ बैठकलाई सम्बोधन गर्दै नेता पौडेलले भने । पौडेलको भनाइप्रति बैठकमा सहभागीहरुले पूर्ण समर्थन जनाएका थिए ।
सहभागीहरुले नेपालमा प्रजातान्त्रिक समाजवादमा आस्था राख्नेहरुको बाक्लो समुह हुँदा हुँदै भर्खरै सम्पन्न निर्वाचनमा वामपन्थीहरु हावी भएको विषयमा नेता पौडेलको ध्यानाकर्षण गराएका थिए । जवाफमा नेता पौडेलले संविधान कार्यान्वयनलाई विशेष प्राथमिकतामा राख्दा नेपाली कांग्रेसले निर्वाचनका लागि ठोस रणनीति बनाउन नसकेको स्वीकारेका थिए ।
निर्वाचनको समयमा सत्तामा रहेको नेपाली कांग्रेसले विभिन्न असन्तुष्ट समुदायलाई सम्बोधन गर्दा चुनावी रणनीति शशक्त हुन नसकेको नेता पौडेलको भनाइ थियो । बैठकमा एशिया प्रशान्त क्षेत्रका विभिन्न २१ देशका ४० जना प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।