गणेश खड्का
राम साइँली,
तिमी त कस्ती
बिदाइको बेला
नयनमा आँशु झार्ने….!
अहिले यस्ता गीत रेडियोमा बजे पो भन्नु…?
रामनवमी मेला
चिनो के साटूं
छुट्टिने बेला l
.
राम साइँली,
नयाँ वर्षकै छेक पारेर आउने
राम नवमी मेला
अब एकादेशको कथा भइसक्यो
आलु दमचाना, गुन्द्रुक अचार
भुटेको मकै, काँक्राको खल्पी सङ्ग
शिरीषको फेदमुनी
सल्लाहमा बसेको रामकहानी
एस.एम.एस. डेटिङ तर्फ
डाइभर्ट भइसकेको यो जमानामा
म तिम्रो चन्द्रमुखी मुहार कल्पिन मात्र सक्छु
मोबाइल फोनको स्क्रिनमा l
.
राम साइँली,
खेसाङ्गे साइँला ले साउदीबाट ल्याएको
रिलवाला क्यामेराले खिचेको तिम्रो फोटो
अझै मन्द मुस्कानमा धमिलो देख्छु
मेरो पुराssनो पर्सको चेपमा
आजकल त तिमी कुन डिजिटल क्यामेरा
र टचस्क्रिन आइफोन खेलाउँदै हौली
म पनि त एन्ड्रइड मोबाइलले आफ्नै फोटो खिच्दैछु
नयाँ सालमा
भुइँचालो ले दया गरी साँचेको
राजधानीको छातीमा ठिङ्ग उभिएको
लटरम्म प्याजी शिरीषको रुख अगाडी
एउटा रहरे सेल्फी
छेवैको सी.डी.दोकानमा
अचेलको एउटा हिट गीत बज्दैछ- सेल्फी हानूँला…!
.
राम साइँली,
हिजो सम्म बडो प्रेमपूर्वक
दिनमा दश पल्ट सुम्सुम्याको क्यालेन्डर
अब भित्ताबाट बिस्थापित भइसकेकोछ
जसरी शिरीषका पातहरुले वसन्तभरि हाँगालाई प्रेम गरे
र तत्पश्चात् एकाएक बुरुरु झरेर छोडी गए
पात र फूलको प्रेम डालीमा रहुन्जेल सम्म मात्रै रहेछ
पुरानो जानू र नयाँ आउनू त संसारको रितै हो
सिरसिरे डाँडाको फिरफिरे हावा खाँदै शिरीषको छहारीमा
तिम्रो आँखाको पलकले खिचेको मेरो मुहार तस्वीर
तिम्रो मुटुको भित्तामा सुरक्षित छ कि छैन…?
कि सिटी क्याफेको ए.सी.क्याबिनमा
सेल्फी हान्नमै अभ्यस्त छन् तिम्रा औंलाहरू…?
मलाई त मिनिस्कर्ट इरिटेड लाग्छ
नयाँ सालमा तिमीले छ्याङ् बेचेको पैसा राख्ने सुर्के थैली
र त्यसलाई झुन्ड्याई राख्ने फूलबुटे लुङ्गी सम्झाउँछ –
बजारमा सुपरहिट भएको अहिलेको अर्को गीत
पटुकीमा सिउरेको सुर्के थैली खोई ….ले ।
.
राम साइँली,
थुप्रै साइँला-माइला,जेठा-कान्छा हरुले परदेशमा
पसिना बेचेर पठाएको रेमिट्यान्सले
देश त चलेकै छ जसोतसो
बरु तिमी जस्ता अनेक साइँली-माइली,जेठी-कान्छी हरुले
नयाँ चौबन्दी फेर्न पो पाए कि पाएनन् – नयाँ सालमा
धित मारेर आत्मैदेखि रमाउने कुरा चाहिं
चालिस नकटी नसोच्नू…..
यतिबेला देश-बिदेशमा फेरी अर्को गीत मालामाल चल्दैछ-
सुन साइँली,…
परदेशबाट म आउँला
चालिस कटेसी रमाउँला …!
.
ऊ बेला चम्पे,च्याङ्ग्रे र प्याउली बजारमा
औंसी,अष्टमी र पन्चमी हाट भर्न आउँदा
चुल्ठोमा लर्किएको लालीगुराँस
चौबन्दीको तुनामा झुण्डिएको इन्द्रकमल
अनि कानमा सजिएको बुकी
साँचेर राख्नै सकिएन
न म लाहुरेको छोरो थिएँ, न त आफैं लाहुरे
त्यतिबेला न यी सब कैद गर्ने
न क्यामेरा थियो मसँग, न त क्यामेरावाला मोबाइल फोन नै
यो घडी झलझली याद आउँछ –
नयाँ सालको सगुन एक डबको डल्ली भैंसीको मही
छुट्ने बेलामा आँखाको डिलमा टिलपिल मोती दाना
जाली रुमाल त नसाट्नु र’छ राम साइँली,
त्यो नयाँ सालदेखी यो नयाँ सालसम्म
हाम्रो भेटै भएन ।
***
( संसारभरि छरिएर रहेका समस्त नेपाली जन-मनमा नव वर्ष २०७५ सालको हार्दिक मङ्गलमय शुभ~कामना सहित ।)