काठमान्डौं – हामी सबैको इच्छा, अनिवार्य निशुल्क आधरभूत शिक्षा भन्ने नारा सहित विद्यार्थी भर्ना अभियान २०७५ देशभरी संचालन भइरहेको सन्दर्भमा राजधानीको गोकर्णेश्वर नगरपालिका–६ मा रहेको चामुण्डा माविमा पनि यो अभियान भव्य रुपमा सम्पन्न भएको छ । प्रमुख अतिथि कानून न्याय तथा संसदीय व्यवस्था मन्त्री शेरबहादुर तामाङको उपस्थितिमा चामुण्डा माविमा भर्ना अभियान शुरु भएको हो । 
विद्यालयका प्रधानाध्यापक यादवप्रसाद पौडेलले दोसल्ला ओढाएर तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण गोपाल तामाङले सम्मान पत्र प्रदान गर्दै मन्त्री तामाङको स्वागत गर्नु भएको थियो । भर्ना अभियान अन्र्तगत मन्त्री तामाङले कक्षा १ मा अध्ययन गर्नका लागि प्रशान्त घलानलाई भर्ना गरी तथा कक्षा २ की अस्मिता दोङलाई पाठ्य पुस्तक वितरण गरी भर्ना अभियान प्रारम्भ गर्नु भएको थियो । यसैबीच विद्यालय व्यवस्थापन समितिका सदस्य तथा समाजसेवी दीपक सिंह भण्डारीले पनि हाल कक्षा २ मा अध्ययन गर्नका लागि भर्ना भएकी अस्मिता दोङलाई कक्षा १२ सम्म अध्ययन अवधिभर सबै खाले सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको छ । 
यसबाहेक पर्व विशेषमा पनि उहाँले लत्ता कपडा तथा अन्य सामाग्री उपलब्ध गराएकर दोङलाई सहयोग गर्ने जानकारी दिनु भएको छ । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक पौडेल, सहायक प्रधानाध्यापक गुणराम आचार्य, विद्यालय व्यवस्थापनि समितिका सदस्य दिवाकर भण्डारी लगायतले विद्याललयको शैक्षिक कार्यक्रमहरु बारे चर्चा गर्नु भएको थियो । चामुण्डा मावि देशभरीकै उत्कृष्ट सामुदायिक विद्यालयहरु मध्ये एक हो । 