न्यूयोर्क – न्यूयोर्कमा हुने ‘नेपाल डे परेड’ को हिसाब फर्छौट नहुँदासम्म परेड स्थगनको लागि कानूनी उपचार खोज्ने निर्णय गर्दै फिप्नाका निवर्तमान अध्यक्ष लुइसांग वाईबा तामाङ र निवर्तमान उपाध्यक्ष मंगलदास श्रेष्ठलाई निलम्बन गरिएको संस्थाले जनाएको छ ।
‘नेपाल डे परेड’ २०१६ र २०१७ मा महासंघकै ट्याक्स आईडी प्रयोग गरी नेपाल डे परेडका नाममा अमेरिकी डलर $६७,३८१ डोनेसन उठाएको र त्यो उठेको रकमको हिसाब किताब महासंघको नयाँ कार्यसमितिलाई नबुझाएको भन्दै महासंघले निवर्तमान अध्यक्ष लुइसांग वाईबा तामाङ र निवर्तमान उपाध्यक्ष मंगलदास श्रेष्ठलाई आगामी दिनमा फिप्नाको लागि र फिप्नाको तर्फबाट प्रतिनिधि तथा पर्यबेक्षक हुन नपाउने गरि निलम्बन गरेको छ भने निवर्तमान अध्यक्ष वाईबालाई सल्लाहकार पदबाट समेत वर्खास्त गरिएको छ ।
स्मरण रहोस्, महासंघका अन्य कार्य समिती सदस्यहरु र सदस्य संस्थाहरुलाईलाई सुईंकोसम्म नदिई फिप्नाका निवर्तमान अध्यक्ष लुईसाङ वाईबा तामाङ र उपाध्यक्ष मंगला दाश श्रेष्ठले सन् २०१७ को नेपाल डे परेड (मे २१) सम्पन्न गरेको ५ दिन पछि मे २६ तारिख “नेपाल डे परेड ईङ्क” नाम गरेको संस्था रिजवूड नेपाली सोसाईटीका वर्तमान अध्यक्ष रवी किरण कोईरालासंग मिलेर तीन जनाको नाममा दर्ता गरेको खुलासा केही समय अघी मात्र भएको थियो । महासंघले न्यू योर्क राज्यको महान्याधिवक्ता (एटोर्नी जनरल) को मुनाफा रहित 501(c)3 संस्थाहरुको आर्थिक हिनामिना हेर्ने शाखामा महासंघ जस्तो साझा सामाजिक संस्थाको ट्याक्स आईडीको दुरुपयोग गरेको र नेपाल डे परेडको नाममा उठाईएको अनुदान रकम महासंघकै नाममा छुट्टै बैंक खाता खोली संचालन गरी हिसाब किताब नबुझाएको भनी निवदन पेश गरी सकेको जनाएको छ । 
महासंघले आफ्नो विज्ञप्तिमा “फिप्नाको निवर्तमान अध्यक्ष र निवर्तमान उपाध्यक्षको ब्याक्तिगत सक्रियतामा सम्पूर्ण संघ संस्था र समुदायलाई बेवास्ता गर्दै गर्न खोजिएको ब्याक्तिगत स्वार्थपूर्ण नेपाल डे परेड र सम्बन्धित व्याक्तिहरुको बिरुध्द न्युयोर्क सिटीको मेयर कार्यालयको क्रिमिनल ल अफिस, एटोर्नी जनरल अफिस, पार्क तथा रिक्रिएशन अफिस, ट्याक्स एण्ड फाईनान्स बिभाग र क्वीन्स काउन्टी कोर्टमा कम्प्लेन तथा ज्ञापन पत्र बुझाई सकिएको र थप कानुनि प्रकिया तुरुन्त अगाडी बढाउने निर्णय गरिएको छ’ भनि उल्लेख गरेको छ ।
Source : usnepalonline