वाशिंगटन डिसी – डिसी महानगर क्षेत्रमा रहेका नेपाली संचार माध्यमहरुको पहलमा पेशागत पत्रकारहरुको प्रतिष्ठित सञ्जाल सोसाइटी अफ प्रोफेशनल जर्नलिस्ट एसपीजेकी अध्यक्ष रिबेका बेकरको प्रमुख आतिथ्यमा वाशिंगटन डिसीमा २५ औं “विश्व प्रेस स्वतन्त्रता दिवस” मनाइएको छ ।
नेपाली अमेरिकी पत्रकारहरुको इतिहासमा यसरी कुनै अन्तरराष्ट्रिय स्तरको संस्था समेतको प्रतिनिधित्वमा प्रेस स्वतन्त्रता दिवस मनाइएको यो पहिलो पटक हो ।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै अध्यक्ष बेकरले यसरी कुनै पनि डायस्पोरा समाजले आफूलाई अतिथिको रुपमा बोलाएको यो पहिलो पटक भएको र आफू नेपाली अमेरिकी पत्रकाहरुसंग सहकार्य गर्न अत्यन्तै इच्छुक रहेको बताउनु भयो । आफ्नो पहिलो सहकार्यको रुपमा एसपीजेको बुकलेट नेपालीमा उल्था गर्न डिसी क्षेत्रका पत्रकारहरुलाई जिम्मा दिन आफू सहमत भएको र विस्तारै पत्रकारहरुलाई मुल प्रवाहमा लैजान तालीम र अन्य कार्यहरु गर्नको लागि काम गर्दै जाने बचनबद्धता पनि ब्यक्त गर्नु भयो ।
सन १९०९ मा स्थापना भएको सोसाइटी अफ प्रोफेशनल जर्नलिस्ट एसपीजे अमेरिकामा पेशागत पत्रकारहरुलाई प्रतिनिधित्व गर्ने धेरै पुरानो संस्थाको रुपमा चिनिन्छ । एसपीजेले दिंदै आएको सिग्मा डेल्टा ची पत्रकारिता पुरस्कार संसारकै प्रसिद्ध पुरस्कारको रुपमा मानिन्छ । स्थापनाकालमा सिग्मा डेल्टा ची भनिने यो संस्थाले अमेरिकाको वाक स्वतन्त्रता सम्बन्धी पहिलो संविधान संसोधनको खुलेर समर्थन गरेको थियो । पत्रकारिताको पढाइ हुने सवै जसो विश्व विद्यालय र पेशागत एवं स्वतन्त्र पत्रकारहरु समेतलाई आफ्नो छातामा समेटेको यो संस्थाका ३ सय बढी शाखाहरु छन् भने तिनमा आवद्ध करीव ९ हजार संचारकर्मीहरु यसका सदस्य रहेका छन् । यस्तो संस्थासंगको सम्बन्धको आधारमा संसारभरनै रहेका पत्रकारहरुलाई लावान्भित बनाउने प्रयास आफूहरुको रहेको विचार आयोजकहरुले व्यक्त गर्नु गरेकाछन् ।
अर्का अतिथि भर्जिनियाको जर्ज मेसन युनिभर्सिटीका प्रोफेसर क्रिष्टोफर जे फरेलले पनि अमेरिकी पत्रकारिताको वर्तमान अवस्थाका बारेमा विचार व्यक्त गर्दै पत्रकारको सवै भन्दा ठूलो कुरा आफूले विचार निर्माण गर्न सक्नु र अरुलाई सही चेतना दिनु भएकोले तथ्यको जड पत्ता लगाउन पत्रकारहरुले जहिले पनि लागिपर्नु पर्ने कुरा बताउनु भयो । उहांले आफ्नो विश्व विद्यालयले अन्तरराष्ट्रिय पत्रकारहरुलाई गर्न सक्ने सवै सहयोग गर्ने विचार ब्यक्त गर्नु भयो ।
उत्तरी भर्जिनियामा लोकप्रिय मानिएको इन्साइड नोभा पत्रिकाका प्रकाशक तथा सम्पादक ब्रुस पोर्टरले आफ्नो स्थानीय क्षेत्रमा रहेका नेपाली पत्रकारहरुलाई निशंकोच आफ्नो कार्यालयमा आउन र छलफल गर्न अनुरोध गर्नु भयो । उहाले चार पांच जनासम्म स्थानीय पत्रकारहरुलाई स्वयंसेवक वा तलवी पत्रकारको रुपमा प्रवेश गराउन समेत तयार रहेको बताउंदै तर प्रविधि र संचारको परिवर्तन भएकोले आफ्नो संस्थाले अरु संचारका प्रविधिसंग कडा प्रतिस्पर्धा गरिरहनु परेको जानकारी गराउनु भयो ।
सो कार्यक्रममा पत्रकारद्वय गुणराज लुइटेल र सच्ची मैनालीले संयुक्त रुपमा नेपाली अमेरिकी परिवेशमा प्रेस स्वतन्त्रता र व्यवसायिकता विषयक कार्यपत्र प्रस्तुत गर्दै नेपालको पत्रकारिताको इतिहास, प्रेस स्वतन्त्रता उल्लंघनको परिदृष्य, अमेरिकी नेपाली पत्रकारिताको अवस्था र चुनौतिका विषयमा प्रष्ट पार्ने काम गर्नु भएको थियो । कार्यपत्रमा उहांहरुले नेपाली अमेरिकी पत्रकारहरुले अमेरिकी संचारको मूल प्रवाहमा जान प्रयास गर्नु पर्ने र यसको लागि अन्तरराष्ट्रिय संस्थाहरुसंग सहकार्य गर्नु पर्ने कुरा उल्लेख गर्नु भएको छ ।
अमेरिकामा सन १९९६ मा पहिलो पटक सगरमाथा नामक टिभी कार्यक्रम संचालन गर्नु भएका पत्रकार राम खरेल, पहिलो नेपाली अनलाइन पत्रिका नेपालीपोष्ट दर्ता गर्नु भएका पत्रकार गिरिश पोखरेलले समेत विचार व्यक्त गर्नु भएको सो विचार गोष्ठीमा नेजाका अध्यक्ष भोला आचार्यले यस्तो सफल कार्यक्रम गरेकोमा डिसी क्षेत्रका पत्रकारहरुको प्रशंसा गर्नु भएको थियो । स्थानीय संचार माध्यमको संयोजन पत्रकार गुणराज लुइटेलले गर्नु भएको थियो भने कार्यक्रम संचालन न्युयोर्क स्थित पत्रकार कीरण मरहट्ठाले गर्नु भएको थियो ।
त्यस्तै, वाशिङटन डिसी महानगर क्षेत्रमा नेपाली समुदायहरुलाई सेवा प्रदान गर्दै आएको सबै भन्दा पुरानो सस्था – नेपाल अमेरिका सोसाईटीका तर्फ बाट सोसाईटिका अध्यक्ष प्रभा भट्टराई देउजाले एसपिजेसंग नेपाली पत्रकारहरुको सहकार्यले समुदाय लाभान्वित हुने र पत्रकारीता अध्यन गर्दै आएका समूदायका सदस्यहरुलाई तालिम तथा ईन्टर्नशिपको ब्यबस्था गर्न आग्रह गर्नु भयो । कार्यक्रमको प्रचार प्रसार र स्थानिय सघ सस्थाहरुसँगको समन्वय सन्चारकर्मी सुनिल मणी दाहालले गर्नु भएको थियो ।
विचार गोष्ठीको प्रश्न उत्तर सेग्मेण्टको मोडरेट कार्यक्रक्रमका सभापति वरिष्ठ पत्रकार योगेश उपाध्यायले गर्नुभएको थियो भने प्रचार प्रसारको संयोजन पत्रकार विजय थापाले गर्नु भएको थियो । अन्तरक्रियाको माध्यममा भएको सो विचार गोष्ठीमा उपस्थित धेरै पत्रकारहरुले अतिथिहरुसंग एसपीजेको सदस्यता, सहकार्य र अमेरिकी प्रेस सम्बन्धी जिज्ञासाहरु राख्नु भएको थियो भने एसपीजे अध्यक्ष बेकरले पेशागत पत्रकारहरुलाई सदस्यताको लागि आह्वान पनि गर्नु भयो । आयोजकहरुले यस विचार गोष्ठीमा एसपिजे लगायत अन्तरराट्रिय संस्थाहरुसंग भएको अन्तरक्रिया, छलफल र परामर्शको निचोड निकाल्दै चांडैने डिसी घोषणापत्र जारी गर्ने कुरा बताएका छन् ।
हालै भर्जिनियाको रिचमण्डमा भएको एसपीजे र भर्जिनिया प्रेस एसोसिएसनको सम्मेलनमा नेपाली पत्रकारहरु योगेश उपाध्याय, गुणराज लुइटेल, कीरण मरहट्ठा र विश्व थापाले सहभागिता जनाएर आए पछि नेपाली पत्रकारहरुको संस्थागत रुपले नै अमेरिकी पत्रकारिता क्षेत्रमा प्रवेशको श्रृंखला शुरु भएको थियो ।
सो विचार गोष्ठीका आयोजक संस्थाहरुमा सगरमाथा टेलिभिजन, नेपाली पोष्ट डट कम, इनेप्लिज डट कम, डिसी नेपाल डट कम, नेपाल मदर डट कम, ग्लोबल नेपाल टेलिभिजन, ग्लोब नेपाल डट कम, रेडियो जीन्दगी, डाउन टु अर्थ कार्यक्रम, द नेपाल टुडे डट कम, बाल्टिमोर खबर डट कम, नमस्ते म्यागेजिन, विश्व परिक्रमा पत्रिका, प्रश्न एक उत्तर अनेक कार्यक्रम, खुल्ला मञ्च डट कम—डिसी, युएस खबर डट कम —डिसी, राजीव श्रेष्ठ फोटो बैंकका साथै इन्साइड नोभा अमेरिकी पत्रिका, फेयरफाक्स कनेक्सन अमेरिकन पत्रिका समेत रहेका छन् ।