काठमान्डौं – त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रको आयोजनमा राजधानीमा वृन्दावनधाम विषयक विचार गोष्ठी, आजीवन सदस्यता विस्तार तथा भक्ति संगित कार्यक्रम गरिएको छ । कार्यक्रममा वक्ताहरुले आध्यात्मिक चेतबाट मात्र विकास सम्भव भएको भन्दै राज्यले आध्यात्मिक क्षेत्रलाई उच्च प्राथमिकता दिनु पर्ने धारणा राख्नु भएको थियो ।
शताब्दी पुरुष तथा वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विश्व हिन्दु महासंघ राष्ट्रिय समितिका अध्यक्ष डाक्टर रामचन्द्र अधिकारी, गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसे, अभिनव साहित्य समाजका संस्थापक अध्यक्ष गोविन्दप्रसाद घिमिरे लगायतका वक्ताहरुले आध्यात्मिक क्षेत्रको महत्वबारे चर्चा गर्नु भएको थियो । त्रिनेत्र अध्यात्म चिन्तन केन्द्र जोरपाटी इकाईका सभाध्यक्ष शोभा दाहालको सभापतित्वमा भएको कार्यक्रममा १ सय ३० जनाले संस्थाको आजीवन सदस्यता लिएका थिए ।
कार्यक्रममा त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रका अध्यक्ष रेखा अर्यालले वृन्दावनको परिकल्पना, अवधारणा, संरचना र जेष्ठ नागरिकको आश्रमको उद्देश्यका बारेमा प्रष्ट पार्नु भएको थियो । सूर्यविनायक नगरपालिका–४ स्थित अनन्तलिङगेश्वर महादेव मन्दिर परिसरमा वृन्दावन धाम निर्माणका लागि वडा अध्यक्ष उत्तम थापाको संयोजकत्वमा ९ सदस्यीय धाम निर्माण समिति गठन गरिएको कार्यक्रममा जानकारी गराइयो । केन्द्रका प्रमुख संरक्षक तथा गोकर्णेश्वर नगरपालिकाका धार्मिक संयोजक पण्डित दिवाकर भण्डारीका अनुसार हाल सम्म २५ सय जना केन्द्रको आजीवन सदस्य भइसकेका छन् । केन्द्रको २५ वटा इकाई कार्यालय तथा ३ वटा जिल्ला कार्यलय समेत रहेको छ ।