२०८१ साउन १२ गते | 27th of July 2024

निर्माण क्षेत्रको समस्या समाधान गर्न सरकार तयार – गृहमन्त्री थापा

खुल्लामन्च
 प्रकाशित: २०७५ जेठ ८ गते १५:३४

काठमान्डौं – गृहमन्त्री रामबहादुर थापाले निर्माण व्यवसायमा देखिएका समस्या दीर्घकालीन रुपमा समाधान गर्न सरकार तयार रहेको बताउनु भएको छ । नेपाल निर्माण व्यवसायी महासंघको प्रतिनिधिमण्डलसँग सोमबार सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा भेट्दै मन्त्री थापाले समस्या समाधानका लागि सरकारलाई सहयोग गर्न व्यवसायीलाई आग्रह गर्नुभयो । निर्माण क्षेत्रमा कुनै पनि किसिमका ऐन कानून बाधक छन् भने त्यसलाई संशोधन गर्न सरकार तयार रहेको मन्त्री थापाले बताउनुभयो ।

व्यवसायीहरुले उठाएको असुरक्षा र चन्दा आतंकका विषयमा मन्त्री थापाले भन्नुभयो, “तपाईहरुसँग कसैले चन्दा माग्छ भने चन्दा नदिई गृह प्रशासनमा खबर गर्नुहोस्, सरकारले सुरक्षाको पूर्ण ग्यारेण्टी दिनेछ” व्यवसायीहरुलाई अनावश्यक दुख दिने सरकारी कर्मचारीलाई समेत कार्वाही गर्न सरकार तयार रहेको मन्त्री थापाले बताउनुभयो । व्यवसायीहरुलाई इमान्दार भएर काम गर्न निर्देशन दिँदै मन्त्री थापाले अनियमितता गर्ने छुट कसैलाई नदिइने प्रष्ट पार्नुभयो । जनताले दिएको मतको कदर गर्दै विकास र समृद्धिको नारालाई वर्तमान सरकारले सार्थक रुप दिएरै छाड्ने प्रतिबद्धता व्यक्त गर्दे मन्त्री थापाले भन्नुभयो, “यो हुकुमी शासन होइन, तपाईहरु इमान्दार भएर ढुक्कसँग काम गर्नुहोस् । ” महासंघ अध्यक्ष विष्णुभाई श्रेष्ठ नेतृत्वको प्रतिनिधिमण्डलले व्यवसायीहरुले भोग्दै आएका अन्य समस्या र समाधानका उपायका विषयमा पनि गृहमन्त्री थापाको ध्यानाकर्षण गराएको छ ।

प्रतिनिधिमण्डलले विनाशकारी भूकम्प, मधेश आन्दोलन तथा नाकाबन्दीले गर्दा निर्माण कार्य रोकिएको कारण समयमै कार्य सम्पन्न नभएको अवस्थामा एक वर्ष म्याद थप भए देशभर संचालनमा रहेका अधिकांश निर्माण आयोजनाहरुको काम समयमा नै सम्पन्न हुने जानकारी मन्त्री थापालाई गराएको छ । निर्माण सामाग्रीको अभाव तथा निरन्तरको चर्को मूल्यवृद्धिका कारण व्यवसायीहरु चर्कोमारमा परेको भन्दै प्रतिनिधिमण्डलले समस्या समाधानका लागि ठोस पहल गरिदिन मन्त्री थापा समक्ष आग्रह गरेको छ । निर्माण परियोजना पूरा गरेपनि सरकारी निकायबाटै व्यवसायीहरुले अरबौं रकम भुक्तानी पाउन बाँकी रहेको विषयमा पनि प्रतिनिधिमण्डलले मन्त्री थापाको ध्यानाकर्षण गराएको छ । सरकारी निकायबीचको समन्वय अभाव, तथा बिना वजेट निर्माण आयोजनाहरुको वोलपत्र आह्वान गर्ने परिपाटीले पनि निर्माण क्षेत्रमा ठूलो समस्या सिर्जना प्रतिनिधिमण्डलले मन्त्री थापालाई जानकारी गराएको छ ।

प्रतिनिधिमण्डलमा महासंघका मानार्थ सदस्य तथा सांसद जीपछिरिङ लामा शेर्पा, सल्लाहकारहरु रमेश शर्मा, सुकुन्तलाल हिराचन, यक्षध्वज कार्की, निवर्तमान अध्यक्ष जयराम लामिछाने, उपाध्यक्ष निकोलास पाण्डे, नीतिगत उपमहासचिव तथा प्रवक्ता विष्णु बुढाथोकी, कोषाध्यक्ष रोशन दाहाल, सदस्य दीपक गौतम, व्यवसायीहरु खोपनिधि लोहनी, हुमनाथ कोइराला, महासंघका कार्यालय प्रमुख प्रेमसिंह ऐर, जनसम्पर्क अधिकृत रामचन्द्र गिरी लगायतको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *