२०८१ वैशाख २४ गते | 6th of May 2024

गोरेले पैसा लुकाउन पत्नी र सालीको नाममा गर्थे धन्दा

खुल्लामन्च
 प्रकाशित: २०७५ जेठ १४ गते १८:४८

काठमाडौं – ३३ किलो सुन लुटपाट र सनम शाक्य हत्याकाण्डपछि ‘गोरे’ भनिने चुडामणि उप्रेतीका विषयमा विभिन्न रहस्य बाहिर आउने क्रम जारी छ ।

‘गोरे’ले तस्करीको सुनबाट आर्जेको रकमलाई कानूनी वैधता दिन बुटिक सञ्चालन गरेको खुलासा भएको हो । ‘गोरे’ले आफ्नी पत्नी र सालीको नाममा बुटिक खोलेर अवैध रकमलाई बैध बनाउन बुटिक खोलेको एकजना प्रहरीले बताएका छन् ।

कम्पनी रजिस्टारको कार्यालयमा दर्ता गरेर ‘गोरे’ले काठमाडौंको टोखामा बुटिक सञ्चालन गरेका थिए । बुटिकलाई पत्नी नर्बदा खरेल ‘निरु’ र साली दुर्गा खरेलले सञ्चालन गर्दै आएका थिए ।

‘गोरे’ले ‘गाजलु द बुटिक एन्ड पार्लर’ नामक कम्पनी दर्ता गरेको अनुसन्धानका क्रममा खुलेको थियो । यो बुटिक ‘गोरे’ले २०७३ जेठ १८ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता गराएका थिए ।

पत्नी नर्बदा र साली दुर्गाले न्युरोडमा रहेको ‘अस्मरा’ बुटिकबाट कपडा किनेर आफ्नो बुटिकमार्फत दुबई, अष्ट्रेलिया, अमेरिकामा रहेका नेपाली तथा भारतीयलाई आपूर्ति गर्ने गरेको अनुसन्धानबाट खुलेको प्रहरी स्रोतले जनाएको छ ।

झापा जिल्ला निवासी टेरसा थापाले ‘अस्मरा’ बुटिककी सञ्चालक गर्दै आएकी छिन् । सुनकाण्डपछि टेरसाको सम्पर्कमा नर्बदा र दुर्गा पुगेका छैनन् ।

सुन तस्कर गोरेले कालो धनलाई सेतो बनाउन तथा सम्पत्ति शुद्धीकरणको डरले बुटिक सञ्चालन गरेको हुन सक्ने बताइएको छ । गोरेले ३ हजार ८ सय किलो सुन तस्करी गरेको यसअघि समाचार आइसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *