-उदय भट्ट
हामीले गोरखाली समाजको स्थापना हुँदै गर्दा र अहिलेसम्म पनि अनेकौं पेचिला प्रश्नहरूको सामना गर्यौं । धेरै प्रवासी नेपालीहरूका सयौं संघसंस्थाहरू हुँदाहुँदै फेरि अर्को संस्थाको मकसद् के हुन सक्छ ? आफ्ना व्यक्तिगत महत्वाकाक्षा पूरा गर्न, समाजसेवा वा समुदायको नाउँमा आर्थिक चलखेल र मोजमस्ती गर्न त बनाएको होइन यो अर्को संस्था ? अन्य संस्थाका अस्तव्यस्तता र विसंगतिको सिकार यो संस्था नहोला ? आफ्ना घोषित लक्ष्य र उद्देश्य यस्ले पूरा गर्ला ? यस्तै यस्तै प्रश्न, आशंका, जिज्ञासा र अनुमानहरूलाई चिर्दै गोरखाली समाज अघि बढिरहेको छ ।
अमेरिकामा रहेका गोरखालीहरूलाई एउटै सुत्रमा आवद्ध गर्ने समाजका केही आधारहरू बनेका छन् । तीनै आधारहरूमध्येको एउटा कामको रुपमा स्थापना भएको एकवर्ष भित्र गोरखाली समाजलाई गैरसरकारी संस्थाकोरुपमा ५०१ (सी) अन्तर्गत दर्ता गरिएको छ । हालसम्म अमेरिकाको न्यूयोर्कलाई केन्द्र बनाएर यो संस्थाले आफ्नो नियमित कार्य गर्दै आएको छ । अमेरिकी कानून अनूसार गैर नाफामूलक सामाजिक संस्थाको रुपमा भविष्यमा आफ्ना लक्ष्य र नियमित कार्यहरूलाई निरन्तरता दिन हामी प्रतिवद्ध छौं ।
अमेरिकामा प्रवासी नेपालीहरूले दर्ता गरेका प्रायः संस्थाहरू कुनै न कुनै विचारधारा वा राजनीतिक दलसंग नजिक छन् । सबै विचार र समुदायलाई समेटनु पर्ने प्रवासी नेपाली समुदायको साझा संस्थाहरूसमेत त्यसको छायाँबाट मुक्त छैनन् । कुनै खास विचार समूहको चलखेल र प्रभावले गर्दा प्रवासी नेपाली समुदाय विभाजित रहेको पीडा हामीले नजिकबाट महसुस गर्यौं । आम गोरखालीहरूको आपसी एकतामा पनि त्यसले असर पारेको थियो । यस्तो अवस्थामा गोरखाली समाजले आफूलाई जुनसुकै विचार वा दर्शनमा आस्था राख्ने, जुनसुकै जाति वा भाषा बोल्ने, जुनसुकै उमेर समूहका व्यक्तिहरूको साझा संस्थाको रुपमा आफूलाई उभ्याउने प्रयत्न गरिरहेको छ । अमेरिकामा रहेका सम्पूर्ण गोरखालीहरूलाई एउटै परिवारको रुपमा, आपसी प्रेम, सद्भाव, सम्मान र सहकार्य गर्ने समुदायकोरुपमा परिचित गराउनु यो संस्थाको पहिलो उद्देश्य हो । त्यो उद्देश्य हासिल गर्नका लागि सबै विचारमा आस्था राख्ने गोरखालीहरू अटाउने साझा चौतारीको रूपमा संस्थालाई स्थापित गर्ने प्रयास भइरहेको छ ।
अमेरिका जस्तो अति उपभोक्तामुखी र व्यक्तिगत सुविधालाई प्रश्रय दिने मुलुकमा बसेपछि त्यस्को प्रभाव गोरखालीहरूमा पर्नु स्वभाविक हुन्छ । प्रवासी गोरखालीहरूमा क्रमशः विकाश हुँदै गएको यस्तो मनोभावनालाई परिवर्तन गर्दै आफ्नो धर्म, संस्कृति, परम्परा, भेषभूषा, जन्मभूमिप्रतिको लगावमा कमी हुन नदिनु चुनौतिपूर्ण हुँदाहुँदै पनि हामीले क्रमशः त्यसमा सफलता पाउँदै गएका छौं । हामी गोरखालीहरू र हाम्रो संस्था गोरखाली समाजले अहिलेसम्म खेलेको भूमिकाले त्यसको सङ्केत गर्छ । संस्थाले आफ्नो स्थापनाकालदेखि लगातार नेपाली संस्कृति र परम्पराहरूलाई निरन्तरता दिने विभिन्न कार्यक्रमहरू गर्दै आएको छ । तीज, दशै, तिहार लगायतका साँस्कृतिक पर्वका अवसरमा भएका विभिन्न सामूहिक कार्यक्रमहरूले त्यस उद्देश्यसंग जोडिएका हनु ।
जन्मभूमिलाई छाडेर विदेशिन बाध्य व्यक्तिलाई जति आफ्नो देश र समाजप्रतिको लगाव र माया सायद अन्यलाई नहोला । विदेशमा बसेका नेपाली समुदायले आफ्नो देश र समाजको हरेक सुख दुःखप्रति चासो राख्नु र माया देखाउनुले मात्रै आफ्नो कर्तव्य पूरा हुँदैन । त्यसको साझेदारी गर्न अग्रसर पनि हुनुपर्छ भन्ने संस्थाको उद्देश्यमा हामी दृढ छौं र अन्तिमसम्म रहने छौं । जन्मभूमिप्रतिको दावित्ववोध गराउने र क्रमशः गोरखा र नेपालका अन्य ठाउँहरूमा नियमित तथा आकस्मिक सहयोगका कार्यहरूलाई सम्पूर्ण गोरखालीहरूको एकीकृत प्रयासको रुपमा भघि बढाउने हाम्रो प्रयास अन्य समुदाय र संस्थाहरूको लागि पनि अनुकरणीय बन्दै गएको छ । प्राकृतिक विपत्तिदेखि गोरखाली दाजुभाई, दिदीबहिनी तथा बाआमाहरूका पीडादायी पलहरूमा यस संस्थाले आफ्नो उपस्थिति देखाउँदै आएको छ । यसका साथै संस्थाले शिक्षा, बालवालिका र वुद्ध नेपाली समुदायका लागि आफ्नो सक्रियता बढाउने प्रयास गरिरहेको छ ।
गोरखाली हुनुको एउटा विशेषता के रहेको छ भने उ जहाँ उपस्थित हुन्छ त्यहाँ उस्ले कुनै न कुनै सकारात्मक सन्देश छाडेर जान्छ । अहिले हामी प्रवासमा छौं, अमेरिकामा छौं । यहाँका समुदाय र सरकारी, गेह्रसरकारी संस्थाहरूका अगाडि गोरखालीहरूको इतिहास र पहिचान स्थापित गर्नु चुनौतिपूर्ण छ । तर हामी यो मुलुकमा पैसा कमाउन मात्रै आएका हैनौं, हामी गोरखाली व्यक्तिगत स्वार्थभन्दा माथि उठेका र आफ्ना नीजि चाहना र आवश्यकतालाई कम महत्व दिने र सामूहिक र राष्ट्रको स्वार्थलाई केन्द्रमा राख्ने पूर्खाहरूका सन्तति हौं, हाम्रो समुदायको ऐतिहासिक पहिचान र विषेशताको बारेमा विश्व समुदायले जानकारी राखोस् र हामी स्वयंले पनि यो विशिष्ठतालाई कायम राख्न प्रयत्न गर्ने आत्मविस्वासकासाथ लागेका छौं । यो उद्देश्यलाई साकार पार्न कतिपय सन्दर्भमा यस संस्थाको आफ्नै अग्रसरतामा कहिले अन्य संस्थाहरूसँंगको सहकार्यमा विभिन्न सामाजिक कार्यहरू गर्दै आएका छौं । रक्तदान, पार्क सरसफाई, विभिन्न कार्यक्रमहरूमा स्वयंसेवक आदि भूमिकामा कहिले आयोजक संस्थाको रुपमा त कहिले अन्य सामाजिक संस्था र समुदायहरूसंग हातेमालो गर्दै आएका छौं । गोरखाली समाज र समुदायको यो अग्रसरताले हाम्रो इतिहास, पहिचान र विशिष्ठतालाई विश्व समुदायमा क्रमशः पुनःस्मरण गराउँदै छ ।
आपसी सम्बन्धलाई घनिभूत बनाउन हरेक सुखदुखमा सहकार्यको संस्कारलाई जीवन्त बनाउने सचेत प्रयत्नको अभ्यास प्रवासी गोरखालीहरूकाबिचमा भइरहेको छ । हाम्रा हरेक रितिरिवाज, चाड पर्व, जन्मदिन, विवाह वा विवाह वर्षगाठ, कुनै खास खुशीका क्षण आदिमा गोरखालीहरू उत्साहका साथ एक ठाउँमा भेला हुने, नेपालमा होस् वा अमेरिकामा कुनै दुखद् घटना वा समस्यामा एकाकार भई आपसी सहयोग र सहानुभूति प्रकट गर्ने, नेपालबाट वा आन्तरिकरुपमा एउटा राज्यबाट अर्कोमा स्थानान्तरण भएका गोरखालीहरूलाई वसोवास, जागीर र कानूनी सहायता वा परामर्श दिएर सहयोग गर्ने गोरखालीहरूको सक्रियताले समुदायको एकताको महत्व र संस्थाको गरिमालाई बढाएको छ ।
यस संस्थाले अमेरिकाभर रहेका गोरखालीहरूको रेकर्ड सङ्कलन गरी संस्थाको वेभसाइडमा राख्ने, अमेरिकाभर रहेका संघर्षबाट सफलतातर्फ लम्किरहेका गोरखालीहरूको प्रोफाइल संस्थाको वेभसाइटमा राख्ने र विभिन्न सामाजिक सञ्लाज र विशेष स्मारिका मार्फत् प्रचारप्रसार गर्ने, अमेरिकाभर रहेका गोरखालीलाई संस्थाको सदस्यता वितरण गर्ने लगायतका कार्यहरूलाई तत्काल अगाडि बढाउँदै छ । त्यसका लागि सदस्यता वितरण शुरु भइसकेको छ । संस्थाको नामबाट www.gorkhalisamaj.org वेभसाइटको निर्माण कार्यका लागि तयारी भइरहेको छ ।
आर्थिक मितव्ययीता र पारदर्र्शीता यो संस्थाको मूलभूत प्रतिवद्धता हो । आर्थिक अपारदर्शीताप्रति शुन्यसहनशीलताको नीति अवलम्बन गर्दै आर्थिक अनुशासनलाई कठाईकासाथ लागू गर्ने र सबै आम्दानी खर्चहरू खुलारुपमा सार्वजनिक गर्ने नीति संस्थाले अंगालेको छ । स्थापना कालदेखि हालसम्म कसरी न्यूनतम् स्रोतसाधनको परिचालन गरेर उपलव्धीमूलक अधिकतम् कार्य गर्न सकिन्छ त्यसको अभ्यास हामीले गरिहेका छौं । अहिलेसम्म यो संस्थाका सदस्य र सुभेच्छुहरूबाट बाहेक अन्य कुनै पनि निकायबाट आर्थिक सहयोग प्राप्त भएको छैन । नेपालमा गरिएका विभिन्न आर्थिक सहयोग, सामाजिक कार्य र कार्यक्रमहरूका खर्चहरू अमेरिकामा रहेका प्रवासी गोरखालीहरू र उनीहरूका हितैषी मित्रहरूको सहयोगबाट जुटदैै आएको छ । संस्थाले जुटाएको सहयोग र गरेका खर्चहरू तथा परिचालनलाई तत्काल व्यवस्थितरुपमा सार्वजनिक गर्दै आएको छ । पारदर्शीता र मितव्ययीताको अभ्यास कति महत्वपूर्ण हुनेरहेछ भन्ने अनुभव सामान्य आर्थिक हैसियतका समुदायप्रति समर्पित विशाल हृदय भएका गोरखाली समुदायबाट जुटेको आर्थिक तथा भौतिक लगानीबाट भएका प्रेरणादायी र सन्देशमुलक कामहरूले प्रष्ट पारिरहेका छन् । आर्थिक पारदर्शीताको यो प्रयासले सिंगो गोरखाली समुदायको शीर उँचो बनाएको, अन्य समुदायको सामु एउटा वेग्लै र सम्मानित संस्थाको रुपमा गोरखाली समाजलाई स्थापित गरेको महसुस गरेका छौं । अवका दिनमा संस्थाका सबै आम्दानी खर्चहरू बैंक खाताबाट मात्रै संचालन हुनेछ । त्यसको विवरण संस्थाको वेभसाइट र अन्य विभिन्न माध्यमहरूबाट नियमित सार्वजनिक गरिने छ ।
स्थापना भएको छोटो समयमा गोरखाली समाज, न्यूयोर्कले सामाजिक संस्थाको गरिमा र मूल्यमान्यताहरूलाई आत्मसात गर्दै आफ्नो विशेष पहिचान स्थापित गरेको यहाँहरूलाई पुनःस्मरण गराउँदै आगामी दिनमा कतिपय मानवीय तथा परिस्थितिजन्य कमजोरीहरू दृढताकासाथ सुधार गरिने छ । अहिलेसम्म हामीले प्राप्त गरेको यो उपलव्धीको रक्षा र सम्पूर्ण गोरखाली समुदायको स्वाभिमानलाई आगामी दिनमा अर्को उचाईमा पुर्याउने कार्यमा हातेमालो गरौं । हाम्रो भूगोल र भावनाको सम्बन्धलाई अनुपम सामाजिक सङ्गठनमा रुपान्तरण गरौं । हामी जहाँ भए पनि एक्लाएक्लै छैनौं एकअर्कासंगै छौं, विदेशमा रहे पनि देशमै छौं, गोरखाको सुख र दुखमा संगै छौं भन्ने बोध गरौं । हामी सामान्य हैनौं इमानदारीता, वीरता र निष्ठाका पर्याय हौं, हामी विशाल नेपालको निर्माताका सन्तति हौं, हामी विश्वका ठूला ठूला साम्राज्यहरूका रक्षा कवच हौं र त हामी गोरखाली हौं ।
र अन्त्यमा,
वितेको वर्षभरी तपाई हामी गोरखालीहरूले हातमा हात र काँधमा काँध मिलाएर, हाम्रो क्षमताले भ्याएसम्म अमेरिकादेखि नेपालको हिमाल, पहाड तराईसम्म हाम्रा सामाजिक र मानवीय कर्तव्यहरू पूरा गर्यौं । त्यसको लागि अमेरिकामा रहेका हाम्रा गोरखाली अग्रजहरू, बाआमाहरू, दाजुभाई तथा दिदीबहिनीहरू र सहयोगी संघसंस्थाहरूलाई संस्थाको तर्फबाट हार्दिक कृतज्ञतासहित धन्यवाद ज्ञापन गर्दछु । आगामी दिनमा हाम्रो यो सहयात्रा अरु गाढा र प्रगाढ बन्दै जानेछ । हामीले तय गरेको क्यालेण्डर अनुसार वर्षमा एकपटक अमेरिकाभर रहेका गोरखालीहरूको भेटघाट, परिचय र मनोरन्जनको लागि यो वर्षको समर पिकनिक यही जुन महिनाको २४ तारिखका दिन न्यूयोर्कमा सम्पन्न हुँदैछ । उक्त दिनमा आफ्ना व्यस्तता र दैनिकीहरूलाई व्यवस्थापन गरेर अमेरिकाभर रहनुभएका गोरखाली समुदायको गौरवान्वित उपस्थिति हुनेछ भन्ने विस्वास हामीले लिएका छौं । आगामी जुन २४ को दिन एउटा अविष्मरणीय दिनको रुपमा रहोस् । यहाँहरूलाई न्यूयोर्कमा स्वागत गर्दै एकआपसमा थप परिचित हुन पाउने अवसरको प्रतिक्षा गर्दै–
अध्यक्ष,
गोरखाली समाज
न्यूयोर्क, अमेरिका ।